नेपाली र्‍यापरलाई राष्ट्रिय मञ्च दिँदै ‘हसल बाई नेपहप’, टाइटल स्पोन्सरमा टीभीएस एनटर्क

काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरमा नयाँ पहिचान दिलाउने उद्देश्यसहित चर्चित भारतीय र्‍याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको उक्त कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस एनटर्क आबद्ध भएको हो ।

‘टीभीएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप’ नाममा सञ्चालन हुने यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

आयोजकले यसलाई अन्तर्राष्ट्रिय स्तरको अवधारणामा आधारित प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय र्‍याप रियालिटी शोको ढाँचामा तयार हुने भए पनि कार्यक्रमको मुख्य प्राथमिकता नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति र सामाजिक परिवेशमा आधारित हिप–हप संगीत हुनुपर्ने आयोजकले जनाएको छ । यसले नेपाली हिप–हपको छुट्टै पहिचान स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई आफ्नो कला, सिर्जनशीलता र क्षमता राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजको भनाई छ ।

युवापुस्तामाझ लोकप्रिय बन्दै गएको हिप–हप संस्कृतिसँग जोडिन टीभीएस एनटर्कले कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको जगदम्बा मोटर्सले जानकारी दिएको छ । युवाको ऊर्जा, आत्मविश्वास, सिर्जनशीलता र नयाँ सोचसँग आफ्नो ब्रान्डको सम्बन्ध स्थापित गर्ने उद्देश्यले यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल नारासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ ले नेपाली हिप–हप प्रतिभालाई ठूलो मञ्च प्रदान गर्नुका साथै नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

 


Back_to_top