काठमाडौं । ईभी बिक्रेता बीचको कडा प्रतिस्पर्धाको कारण उपभोक्ताले एकपछि अर्को उत्कृष्ट मोडल नेपालमा आइरहेका छन् । चिनियाँ सरकारी कम्पनी बीएआइसी ग्रुप अन्तर्गतको आर्कफक्स ब्राण्ड बजारको लागि नयाँ प्रतिस्पर्धी हो ।
आर्कफक्स ब्राण्डमा नेपाल आएको पहिलो मोडल ‘टी-१’ एक प्रिमियम सीयूभी (कम्प्याक्ट युटिलीटी भेहिकल) हो । यसको बिक्री लक्ष्मी मोटरहबले नाइमा मोबिलिटी एक्स्पोबाट थालेको थियो ।
खासगरी आकर्षक डिजाइन, प्रिमियम फिनिसिङ र टेक फिचरले भरिएको गाडी, त्योपनि फुल स्पेकमा चाहनेको लागि आर्कफक्स टी-१ को एलभी-३ भेरियन्ट उत्कृष्ट हुनसक्छ ।
मासिक ३२ हजारभन्दा केही बढी रकम तिर्न सक्ने मानिसको लागि उपयोगी यो विद्युतीय सीयूभी आकर्षक डिल हुन सक्छ । आकर्षक डिल हुनको लागि यो गाडीमा के के छन् ? भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
मूल्य
कम्पनीले आर्कफक्स टी-१ को टप भेरियन्ट एलभी-३ को मूल्य ३७ लाख ९६ हजार रुपैयाँ तोकेको छ । आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर, आधुनिक सुरक्षा प्रविधि र नेपाली सडकका लागि उपयोगी ग्राउण्ड क्लियरेन्स यसका मुख्य विशेषता हुन् ।
विशेषगरी ३६० डिग्री क्यामेरा, अन्डरबडी भ्यु, लेभल-२ एडास, सिट भेन्टिलेसन र १८ इन्चको ह्वील जस्ता फिचरले यसलाई आफ्नो मूल्य समूहमा प्रतिस्पर्धी बनाएको छ ।
प्रिमियम इन्टेरियर र भेन्टिलेटेड सिट
आर्कफक्स टी-१ एलभी-३ मा लेदररेट सिट प्रयोग गरिएको छ । यसले गाडीको इन्टेरियरलाई आकर्षक र प्रिमियम अनुभूति दिन्छ ।
यसमा उपलब्ध सिट भेन्टिलेसन फिचर अर्को महत्वपूर्ण आकर्षण हो । विशेषगरी गर्मी मौसममा लामो दूरीको यात्रा गर्दा सिटबाट आउने हावाले चालक तथा यात्रुलाई आरामदायी अनुभव प्रदान गर्छ । नेपाली मौसम र सहरी ट्राफिकमा लामो समय गाडी चलाउनुपर्ने अवस्थाका लागि यो उपयोगी सुविधा हो ।
१८ इन्चको ह्वील र १८१ एमएम ग्राउण्ड क्लियरेन्स
आर्कफक्स टी-१ एलभी-३ मा १८ इन्चका ह्वील दिइएको छ । ठूलो ह्वीलले गाडीको बाहिरी बनावटलाई स्पोर्टी र आकर्षक देखाउनुका साथै सडकमा यसको उपस्थिति पनि बलियो बनाउँछ ।
यसमा १८१ एमएमको ग्राउण्ड क्लियरेन्स उपलब्ध छ । नेपाली सडकमा भेटिने खाल्डाखुल्डी, अग्ला स्पिड ब्रेकर तथा असमान सडकमा यात्रा गर्दा यो उपयोगी हुन्छ ।

३६० डिग्री क्यामेरा र अन्डरबडी भ्यु
पार्किङ र साँघुरो स्थानमा गाडी चलाउँदा ३६० डिग्री क्यामेरा निकै उपयोगी हुन्छ । यसमा अन्डरबडी भ्यु क्यामेरा पनि उपलब्ध छ । गाडीको तल्लो भाग वरिपरिको दृश्य हेर्न सकिने यो प्रविधि साँघुरा बाटो तथा असमान सतहमा गाडी चलाउँदा उपयोगी हुन्छ ।
लेभल-२ एडास
यसको अर्को महत्वपूर्ण विशेषता लेभल-२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) हो । यसले ड्राइभिङलाई सहज बनाउनुका साथै सम्भावित जोखिमप्रति चालकलाई सचेत गराउँछ । यसले गाडीलाई प्रविधि र सुरक्षाका हिसाबले थप प्रतिस्पर्धी बनाएको छ ।

मासिक किस्ता ३२ हजार रुपैयाँ हाराहारी
आर्कफक्स टी-१ एलभी-३ को मूल्य ३७ लाख ९६ हजार रुपैयाँ छ । केही अगाडि अफर मूल्य ३५ लाख ९६ हजारमै पाइएको थियो ।
बैंकले गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा दिन्छ । ४० प्रतिशत डाउन पेमेन्ट वापतको १५ लाख १८ हजार ४०० रुपैयाँ उपभोक्ताले सुरुमै बुझाउनु पर्ने हुन्छ ।
बाँकी २२ लाख ७७ हजार ६०० रुपैयाँ बैंकबाट ५ प्रतिशत ब्याजदरमा कर्जा लिएर ८४ महिनामा भुक्तानी गर्दा मासिक किस्ता करिब ३२ हजार १९१ रुपैयाँ पर्नेछ ।

