काठमाडौं । भारतीय दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पको विद्युतीय स्कुटर ब्राण्ड भिडाले सन् २०२६ मा पहिलोपटक २ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ ।
कम्पनीले जनवरी १ देखि अक्टोबर २९, २०२६ सम्म कुल २ लाख १४३ युनिट विद्युतीय स्कुटर बिक्री गरेको हो । सन् २०२५ को पूरै वर्षमा १ लाख १३ हजार २१ युनिट बिक्री गरेको भिडाले यस वर्ष बिक्रीमा करिब ७७ प्रतिशतको वृद्धि हासिल गरेको हो ।
भिडाका लागि सन् २०२६ को अक्टोबर महिना अहिलेसम्मकै उत्कृष्ट बनेको छ । कम्पनीले अक्टोबरमा मात्रै २७ हजार ४३५ युनिट स्कुटर बिक्री गरेको छ । यो गत वर्षको अक्टोबरमा बिक्री भएको १६ हजार ४९९ युनिटको तुलनामा ६६ प्रतिशत बढी हो ।
यसअघि भिडाले सन् २०२६ को सेप्टेम्बरमा २४ हजार ४३५ युनिट बिक्री गर्दै आफ्नो उच्चतम मासिक बिक्रीको रेकर्ड बनाएको थियो । यस वर्ष पाँचपटक कम्पनीको मासिक बिक्री २० हजार युनिटभन्दा माथि पुगेको छ ।
प्रत्येक त्रैमासमा बढ्यो बिक्री
भिडाको बिक्रीमा यस वर्ष प्रत्येक त्रैमासमा निरन्तर वृद्धि देखिएको छ । सन् २०२६ को पहिलो त्रैमास (जनवरी–मार्च) मा ४९ हजार ४३ युनिट बिक्री गरेको कम्पनीले दोस्रो त्रैमास (अप्रिल-जुन) मा ५७ हजार ५९ युनिट पुर्याएको थियो ।
त्यस्तै, तेस्रो त्रैमास (जुलाई-सेप्टेम्बर) मा बिक्री बढेर ६६ हजार ६०६ युनिट पुगेको छ । यही गतिलाई कायम राख्न सके सन् २०२६ को अन्त्यसम्म भिडाको बिक्री २ लाख ५० हजारदेखि २ लाख ६० हजार युनिटसम्म पुग्ने अनुमान गरिएको छ ।
भारतीय विद्युतीय दुईपाङ्ग्रे बजारमा पनि भिडाको उपस्थिति विस्तार हुँदै गएको छ । सन् २०२६ मा हालसम्म भारतमा बिक्री भएका कुल १७ लाख ७० हजार विद्युतीय दुईपाङ्ग्रे सवारीमध्ये भिडाको बजार हिस्सा ११ प्रतिशत पुगेको छ ।
उत्पादन क्षमता पनि बढाउँदै हिरो
बढ्दो मागलाई सम्बोधन गर्न हिरो मोटोकर्पले आन्ध्र प्रदेशको चित्तुरस्थित प्लान्टमा विद्युतीय दुईपाङ्ग्रे सवारी उत्पादन क्षमता दोब्बर बनाएको छ ।
सन् २०२६ को मार्च अर्थात् आर्थिक वर्ष २०२६ को अन्त्यसम्म मासिक १५ हजार युनिट रहेको उत्पादन क्षमता सेप्टेम्बर २०२६ मा बढाएर ३० हजार युनिट पुर्याइएको हो ।
हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत हर्षवर्धन चितालेले आर्थिक वर्ष २०२७ को चौथो त्रैमाससम्म मासिक उत्पादन क्षमता ४५ हजार युनिट पुर्याउने कम्पनीको लक्ष्य रहेको बताएका छन् ।

