टोयोटाको ईभी बन्दै ‘चालक बिहिन ट्याक्सी’

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटा र अमेरिकी सेल्फ ड्राइभिङ प्रविधि कम्पनी वेमोले रोबोट्याक्सी विकास गर्ने भएको छ । यी दुई कम्पनीबीचको सम्झौंता अनुसार टोयोटाको बीजेड इलेक्ट्रीक क्रसओभरलाई चालकविहीन रोबोट्याक्सीका रूपमा विकास गर्न लागिएको हो ।

टोयोटाको जापानस्थित ‘आइची प्रिफेक्चर’को टोयोटा सिटीमा रहेको ताकाओका प्लान्टमा यी गाडी उत्पादन हुनेछन् । नियमित बीजेड इलेक्ट्रीक कार उत्पादन हुने यही एसेम्ब्ली लाइनमा विशेष गाडीको रुपमा वेमोको सेल्फ ड्राइभिङ हार्डवेयर जडान हुनेछ ।

यी दुई कम्पनीको योजना अनुसार सन् २०२७ मा पहिलो चरणको सेल्फ ड्राइभिङ रोबोट्याक्सीको परीक्षण र प्रमाणीकरण सुरु गर्ने योजना छ ।

टोयोटाका अनुसार यी गाडीमा अटोमेटिक डोर, पावर लिफ्टगेट र एम्बियन्ट लाइटिङजस्ता सुविधा रहनेछन् । जापानमै उत्पादन भएका मुख्यधारका गाडी प्रयोग गरेर पूर्ण स्वचालित राइड हेलिङ सेवा विस्तार गर्ने दिशामा यो महत्वपूर्ण कदम हुने टोयोटाको भनाइ छ ।

जापानमा बीजेडफोरएक्स नामले बिक्री हुँदै आएको रोबोट्याक्सी सुरुमा जापान र बेलायतमा संचालन हुनेछ । वेमोका सहप्रमुख कार्यकारी अधिकृत दिमित्री डोल्गोभका अनुसार सुरुमा ‘राइट ह्यान्ड ड्राइभ’ बजार प्राथमिकतामा रहेको छ ।

अहिले वेमोले अमेरिकामा जगुआर आई पेस र चिनियाँ कम्पनी जीकरले उत्पादन गरेको ओजाइ मिनिभ्यानमा सेल्फ ड्राइभिङ प्रविधि प्रयोग गरिरहेको छ । टोयोटासँगको सहकार्यले कम्पनीलाई आफ्नै उत्पादन क्षमताभन्दा बाहिर गएर ठूलो संख्यामा रोबोट्याक्सी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

टोयोटा र वेमोले सन् २०२५ को अप्रिलमा स्वचालित सवारी प्रविधिको विकास र टोयोटाका आगामी पुस्ताका यात्रुवाहक गाडीमा वेमोको प्रविधि समायोजन गर्ने विषयमा साझेदारी गरेका थिए ।


Back_to_top