युरोपको ‘कार अफ द इयर २०२७’ को सर्टलिस्टमा सातवटै ईभी

काठमाडौं । युरोपको प्रतिष्ठित ‘कार अफ द इयर २०२७’ अवार्डको अन्तिम सात प्रतिस्पर्धी सबै विद्युतीय कार (ईभी) परेका छन् । अवार्डको इतिहासमा पहिलोपटक सातवटै सर्टलिस्टमा पूर्ण विद्युतीय कार मात्रै छनोट भएका हुन् ।

यसअघि सन् २०११ मा निसान लिफ, २०१९ मा जगुआर आई-पेस र २०२६ मा मर्सिडिज बेन्ज सीएलएले यो अवार्ड जितेको थियो । तर, यसपटक अन्तिम सातै प्रतिस्पर्धी ईभी परेकाले कुनै एक बिद्युतीय कारले नै जित्ने पक्का भएको हो ।

सर्टलिस्टमा बीएमडब्ल्यू आईएक्स३, कपरा राभल, हुन्डाई आयोनिक ३, किया ईभी२, रेनो ट्विङ्गो, फक्सवागन आईडी पोलो र भोल्भो ईएक्स६० परेका छन् । यी मोडलले रेनो क्लियो, मर्सिडिज जीएलसी, पोलस्टार ५, होन्डा प्रिल्युड र टोयोटा र्याभफोर लगायतका प्रतिस्पर्धीलाई पछि पारेका हुन् ।

यसपटकको छनोटमा चिनियाँ ब्राण्डका कुनै पनि कार अन्तिम सातमा पर्न सकेनन् । प्रारम्भिक ३८ प्रतिस्पर्धीको सूचीमा बीवाइडी डल्फिन जी, डेनजा जेड९जीटी, एमजी आईएम५, एमजी४ अर्बन, एमजी एस६ तथा लीपमोटरका मोडलसहित आठ चिनियाँ कार थिए । तर, कुनै पनि चिनियाँ कार अन्तिम ७ भित्र परेनन् ।

यद्यपि, चिनियाँ कम्पनी जिलीको स्वामित्वमा रहेको भोल्भोको ईएक्स६० भने अन्तिम सातमा परेको छ । यसको उत्पादन भने स्वीडेनमा हुन्छ ।

२५ युरोपेली देशका ६५ जना निर्णायकले छनोट गरेका यी सात कारलाई नोभेम्बरमा इटालीस्थित स्टेलान्टिस बालोको टेस्ट ट्रयाकमा परीक्षण गरिनेछ । विजेताको घोषणा सन् २०२७ जनवरी ८ मा ब्रसेल्स मोटर शोमा हुनेछ ।

ऐतिहासिक रूपमा युरोपको कार अफ द इयर अवार्डमा किफायती कारले बढी सफलता पाउँदै आएका छन् । त्यसैले फक्सवागन आईडी पोलो, कपरा राभल र रेनो ट्विङ्गो उपाधिका बलिया दाबेदार मानिन्छन् ।


Back_to_top