काठमाडौं । कम मूल्यको कार खोज्ने उपभोक्ताको लागि सीजी मोटर्सले नयाँ ह्याचब्याक मोडल नेपाल ल्याएको छ । जेएमईभी-३ नामबाट अन्तर्राष्ट्रिय बजारमा उपलब्ध ह्याचब्याक कार नेपाल आएको हो ।
जेएमईभीको ट्याक्सी यसअघि नै नेपालमा उपलब्ध थियो । अब त्यही ब्राण्डको ह्याचब्याक कार जेएमईभी-३ नेपाल आएको हो । अहिल्यै मूल्य बाहिर नआए पनि करिब २५ लाख रुपैयाँ आसपासमै यो गाडी बिक्रीको लागि उपलब्ध हुने अनुमान छ ।
जेएमईभी-३ मा ३२.२ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । साथै कारमा ५० किलोवाटको मोटर र १२५ न्युटन मिटर टर्क पाउन सकिन्छ । एडास फिचरले सुसज्जित सानो ह्याचब्याक कार सहरी क्षेत्रका लागि उपयोगी हुने देखिन्छ । असोजमा ५५ युनिट यो कार नेपाल प्रवेश गरिसकेको छ ।
सानो आकार र फास्ट चार्जिङ सुविधासहित आएको यो विद्युतीय कार कम्प्याक्ट ईभी खोज्ने ग्राहकका लागि विकल्प बन्न सक्छ । चीनको जियाङलिङ मोटर्स समूह अन्तर्गतको जेएमईभीले उत्पादन गरेको हो ।

यसको डिजाइन, पावरट्रेन र फिचरलाई हेर्दा नेपाली बजारमा उपलब्ध केई इक्युट-०४ सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ ।
फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध कारको टप स्पीड क्षमता करिब १०२ किलोमिटर प्रतिघण्टा रहेको छ । चार्जिङका लागि डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट लाग्ने जनाइएको छ ।
जेएमईभी-३ को अर्को विशेषता यसमा उपलब्ध एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) हो । साथै, ब्लाइण्ड स्पट मनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र रियर पार्किङ सेन्सर पनि यसको बलियो पक्ष हो ।

कारको ड्यासबोर्डमा १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम र ५ इन्चको इन्फर्मेसन डिस्प्ले दिइएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको केही भेरियन्टमा ३६० डिग्री क्यामेरा, मोबाइल एपबाट गाडी सम्बन्धी जानकारी प्राप्त गर्ने सुविधा र ब्याट्री तापक्रम व्यवस्थापन सिस्टम दिइएको छ ।
जेएमईभी-३ को लम्बाइ ३७२० एमएम, चौडाइ १६४० एमएम र उचाइ १५३५ एमएम छ । यसको ह्वीलबेस २३९० एमएम लामो छ । पाँच सिट क्षमताको कारको अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र पछाडि टोर्सन बीम सस्पेन्सन प्रयोग गरिएको छ ।

