काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता हुन्डाईले हाइड्रोजनबाट चल्ने सवारीसाधन विश्वभर ५० हजार २६२ युनिट बिक्री गरेको छ । कम्पनीको बिक्रीमा सबैभन्दा ठूलो भूमिका नेक्सो एसयूभीले खेलेको हो ।
हुन्डाईले नेक्सो एसयूभी सन् २०१८ मा लन्च गरेको थियो । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० सम्ममा १० हजार युनिट, सन् २०२२ सम्ममा २० हजार र सन् २०२३ को अन्तिममा ३० हजार युनिट बिक्री आँकडा पार गरेको थियो । पछिल्लो २० हजार युनिट बिक्री २ वर्षभन्दा कम समयमा भएको हो ।
हुन्डाईको नेक्सो एसयूभी हाइड्रोजन फ्युलसेलबाट चल्ने सर्वाधिक बिक्री हुने प्यासेन्जर कारको रूपमा स्थापित भएको छ । दक्षिण कोरियाली अनुसन्धान संस्था एसएनई रिसर्चका अनुसार सन् २०२६ को पहिलो ६ महिनामा हाइड्रोजनबाट चल्ने सवारीसाधन बिक्रीमा दक्षिण कोरिया विश्वकै अग्रस्थानमा रहेको छ ।
हाइड्रोजन फ्युल सेल कारको यात्रा हुन्डाईले सन् २०१३ मा टुसान मार्फत सुरू गरेको थियो । त्यसपछि आएको नेक्सो एसयूभीले सफलता पाएको हो । साथै, सन् २०२० मा एक्ससियन्ट हेभी ड्युटी हाइड्रोजन ट्रक पनि हुन्डाईले ल्याएको थियो ।
चर्चा, खोज र अनुसान्धान ईभीसँगै भए पनि ब्याट्री ईभीको तुलनामा हाइड्रोजन कारको बजार कमजोर रहेको छ । हुन्डाईले पनि ईभीसँगै यसको विकास अगाडि बढाएको थियो ।
हुन्डाईको सन् २०२५ को वार्षिक प्रतिवेदन अनुसार एक वर्षमै विश्वभर ९ लाख २५ हजारभन्दा बढी ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री गर्दा हाइड्रोजन फ्युलसेल कारको संख्या १० हजारभन्दा केही युनिट मात्रै बढी देखिन्छ ।
दक्षिण कोरियामा हाइड्रोजन सवारीसाधनको बजारले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरे पनि चीन र युरोपमा भने यसको माग कमजोर देखिएको छ । एसएनई रिसर्चका अनुसार सन् २०२६ को पहिलो ६ महिनामा चीनमा हाइड्रोजन फ्युल सेल सवारीसाधनको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.४ प्रतिशतले घटेको छ । उक्त अवधिमा चीनमा जम्मा ९१८ युनिट एफसीईभी बिक्री भएका थिए ।
युरोपमा भने सन् २०२६ को पहिलो ६ महिनामा जम्मा १४ युनिट हाइड्रोजन फ्युल सेल सवारीसाधन बिक्री भएका छन् । सन् २०२५ को सोही अवधिमा युरोपमा ३९ युनिट यस्ता सवारीसाधन बिक्री भएका थिए ।
हाइड्रोजन फ्युल सेल प्रविधिमा हाइड्रोजन र अक्सिजन बीचको रासायनिक प्रतिक्रियाबाट विद्युत् उत्पादन गरी मोटर चलाइन्छ । यस प्रविधिबाट चल्ने सवारीसाधनमा ब्याट्री ईभीमा जस्तै बाह्य विद्युत् स्रोतबाट ब्याट्री चार्ज गर्नुपर्ने हुँदैन । हाइड्रोजन भरेर संचालन गर्न सकिने भएकाले इन्धन भर्न कम समय लाग्नु यसको प्रमुख विशेषता हो ।
तर, हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसन निर्माणको उच्च लागत र सीमित पूर्वाधारले यसको बजार विस्तारमा चुनौती थपेको छ । त्यसैले हाइड्रोजन प्रविधिमा सम्भावना देखिए पनि विश्व बजारमा ब्याट्री ईभीको तुलनामा यसको व्यावसायिक विस्तार सुस्त देखिएको हो ।

