तिहारमा ३५ लाखभन्दा कममै ईभी खोज्नेलाई ‘उत्कृष्ट’ ७ विकल्प

काठमाडौं । दशैं, तिहार जस्ता चाडवाडलाई अटोमोबाइल क्षेत्रमा मुख्य सिजन मानिन्छ । नयाँ सवारी किन्ने धेरै जना चाडवाडकै अवसर कुरेर बसेको देखिन्छ । यो बेला वार्षिक कारोबारको झण्डै एकतिहाई बढी कारोबार हुने गर्छ ।

यो वर्ष दशैंमा मुख्यगरी चारपाँग्रे सवारीको व्यापार अपेक्षा अनुसार हुन सकेन । भारत, थाइल्याण्ड लगायत मुलुकबाट ल्याउने सवारी माग अनुसार नै आए पनि नेपाली कार बजारमा वर्चश्व रहेको चिनियाँ ईभी आउन सकेनन् ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द हुँदा व्यवसायीले माग अनुसारको गाडी ल्याउन सकेनन् । विकल्पमा कोरला नाकाबाट गाडी आयात गरे पनि असोज ८-११ गतेको अविरल वर्षाले सडकमा क्षति पुर्याउँदा ल्याएका गाडी मुस्ताङमै रोकिए । जस कारण व्यवसायीले गत नाइमा र नाडा अटो शोमा गाडी बुकिङ गरेका सबैलाई डेलिभरी दिन सकेनन् ।

दशैंमा अपेक्षित रूपमा गाडी डेलिभरी दिन नसके पनि तिहार व्यापार राम्रो हुने व्यवसायीको आशा छ । कोरला हुँदै ल्याएका सबै गाडी आइपुग्ने भएकाले ग्राहकलाई सहजै उपलब्ध गराउन सक्छन् ।

तपाईं पनि तिहारमा ३५ लाख मुनिको इलेक्ट्रीक कार किन्ने योजनामा हुनुहुन्छ भने, बजारमा थुप्रै विकल्प पाउनु हुन्छ । अहिले ग्राहकले मूल्य मात्रै नभई ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, सुरक्षा प्रविधि र आधुनिक फिचरका आधारमा गाडी छनोटको विकल्प पाउँछन् । यहाँ हामीले ३५ लाखभन्दा कम मूल्यमै पाइने उत्कृष्ट ईभीको चर्चा गरेका छौं ।

टाटा टियागो ईभी : सबैभन्दा सस्तो मूल्यमा पाइने ह्याचब्याक ईभी हो टियागो । सिप्रदी ट्रेडिङले टियागोको प्योर भेरियन्टको मूल्य २८ लाख ९९ हजार र क्रियटिभ भेरियन्टको २९ लाख ९९ रुपैयाँ तोकेको छ । यसमा ५५ किलोवाटको मोटर र २४ किलोवाटको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा २०५ किमी बढी रेन्ज दिन्छ ।

पन्च ईभी : टाटाकै कम्प्याक्ट एसयूभी पन्च ईभी पनि ३५ लाखभन्दा कममै किन्न पाइन्छ । यसको बेस भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । यसमा ३० किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ३७५ किमी बढी रेन्ज दिन्छ ।

इमास फाइभ : ३५ लाख मुनि पाइने अर्को आकर्षक विकल्प हो मलेसियन ब्राण्ड प्रोटोनको इमास फाइभ ह्याचब्याक । दुई भेरियन्टमा उपलब्ध इमास फाइभको प्राइम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमै पाइन्छ । जगदम्बा मोटर्सले बिक्री गर्ने इमास फाइभमा ५८ किलोवाटको मोटर र ३०.१२ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसले एकपटको फुलचार्जमा २२५ किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यसको प्रिमियम भेरियन्टमा भने ४०.१६ किलोवाटको ब्याट्री छ । जसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ छ ।

नामी बक्स : एमएडब्लू वृद्धि अटोकर्पले उपलब्ध गराएको नामी बक्स दुई भेरियन्टमा उपलब्ध छ । यसको ३२० किमी रेन्ज दिने भेरियन्टको मूल्य ३० लाख ९९ हजार र ४३० किमी भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ छ । नामी बक्सका यी दुवै भेरियन्टमा ४९.५ किलोवाटको मोटर रहेको छ । नामी बक्स ई २ मा ३१.४ किलोवाट र ४२.३ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।

चेरी क्यू : गत नाइमा मोबिलिटी मार्फत नेपाल आएको चेरी क्यू इन्ट्री लेभल ईभी खोज्नेलाई आकर्षक विकल्प हो । एसपीजी अटोमोबाइल्सले चेरी क्यू प्राइम र कम्फर्ट दुई भेरियन्टमा उपलब्ध गराएको छ । यसको कम्फर्ट भेरियन्टको आधिकारिक मूल्य ३४ लाख ४९ हजार र प्रिमियमको ३५ लाख ९९ हजार रुपैयाँ छ । तर, कम्पनीले फेस्टिभ अफरमा विशेष छुट दिँदै प्रिमियम भेरियन्ट ३३ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराएको छ । यसमा ९० किलोवाटको मोटर र ४१.३ किलोवाट आवर क्षमताको ब्याट्री, छ । जसले सिंगल चार्जमा ३०० किलोमिटर बढी रेन्ज दिन्छ । यो रियर ह्वील ड्राइभ सिस्टम भएको ह्याचब्याक समेत हो ।

आर्कफक्स टी वान : आर्कफक्स पनि नेपाली बजारमा गत अटो शोमा नेपाल आएको हो । लक्ष्मी मोटरहबले आर्कफक्स टीवानको दुई भेरियन्ट उपलब्ध गराएको छ । जसमा एलभी २ भेरियन्टको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ र एलभी ३ भेरियन्टको ३५ लाख ९६ हजार रुपैयाँ छ । यसमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ । १८१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो गाडीमा ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ३१० किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यसमा हिटेड र भेन्टिलेटेड सिट समेत पाइन्छ ।

बीवाइडी एटो वान : दुई भेरियन्टमा उपलब्ध बीवाइडी एटो वान पनि ३५ लाख रुपैयाँ कममै किन्न पाइन्छ । साइमेक्स इंकले यसको डाइनामिक भेरियन्टको मूल्य ३० लाख ७५ हजार र प्रिमियम भेरियन्टको ३४ लाख ८० हजार रुपैयाँ तोकेको छ । एटो वानमा ४५ किलोवाटको मोटर ३०.०८ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटको फुलचार्जमा २३० किमी रेन्ज दिन्छ ।


Back_to_top