बाहिर आयो नयाँ बीवाइडी सिगलको मूल्य, पहिलेभन्दा सस्तियो

काठमाडौं । बीवाइडीले आफ्नो लोकप्रिय ह्याचब्याक सिगल (नेपालमा एटो १)को दोस्रो पुस्ता सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ बजारमा अपडेटेड एटो १ को बिक्री सुरू गरेको हो ।

कम्पनीले नयाँ सिगल विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको छ । जसको सुरूआती मूल्य ९ हजार ८०० अमेरिकी डलर रहेको छ । जुन मूल्य हाल बिक्री भइरहेको सिगलको तुलनामा ७०० डलर सस्तो हो । चीनमा २०२५ मोडलको सिगलको मूल्य १० हजार ५०० डलर रहेको छ ।

बीवाइडीले नयाँ एटो वान व्यापक अपडेट गरेर ल्याएको छ । नयाँ एटो वान ठूलो साइज, ठूलो मोटर, प्रिमियम क्याबिन, फ्ल्यास चार्जसहितको दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधि र वैकल्पिक लाइडार प्रणाली जस्ता धेरै फिचर थपिएका छन् ।

नयाँ एटो वानमा पुरानो ५५ किलोवाटको मोटरको सट्टा शक्तिशाली ९५ किलोवाटको ‘टीजेड १६४ एक्सवाईबी’ मोटर प्रयोग गरेकाे छ । जसले गर्दा गाडीको अधिकतम स्पीड १५० किमी प्रतिघण्टा पुगेको छ।

नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३०.१ किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्रीप्याक छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । ३९.२ किलोवाट ठूलो ब्याट्री भएको ३ भेरियन्टमा फ्ल्यास चार्जिङ सुविधा छ । जसबाट यो कारलाई ५ मिनेटमै १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

बीवाइडीले नयाँ एटो वानको बाहिरी वनावट मरिन एस्थेटिक्स डिजाइन ल्यांग्वेजलाई निरन्तरता दिएको छ । जसमा कम उचाइको स्पोर्टी लुक र ट्रिडेन्ट पोजिसन लाइट डिजाइन समावेश छ । ग्राहकले विभिन्न ६ कलर अप्सन पाउने छन् ।

नयाँ सिगल पहिलोपटक रियर ह्वील ड्राइभट्रेनमा ल्याएको छ । यसमा मल्टि लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र ४.९५ मिटरको टाइट टर्निङ रेडियस पनि रहेको छ ।

नयाँ सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । यसको लम्बाइ पहिलाकोभन्दा ४२५ एमएम र ह्वीलबेस १५० एमएम धेरै हो । यसको अगाडि बोनेट मुनि ९४ लिटरको अतिरिक्त फ्रंक उपलब्ध छ। पछाडिका सिटहरू फोल्ड गर्दा कारको स्टोरेज क्षमता १,३८० लिटरसम्म पुग्छ ।

यसको क्याबिन पनि प्रियिमम र आकर्षक छ । क्याबिनमा परिष्कृत सामग्रीहरू र तीन वटा नयाँ रङ संयोजनहरू (शेल ह्वाइट, क्लियर स्काई पिंक र पोलर स्टार ग्रे)सहितको होरिजेन्टल लेआउट रहेको छ । यसमा डिपसिक एआईद्वारा संचालित १५.६ इन्चको डिस्प्लेमा आधारित डिलिंक १५० इन्टेलिजेन्ट ककपिट प्रणाली छ ।

नयाँ एटो वानमा कम्फर्ट सुविधाहरूलाई पनि अपग्रेड गरिएको छ । जसमा चालकको लागि ६ तरिकाले एडजस्ट गर्न मिल्ने सिट र अगाडि बस्ने यात्रीको लागि ४ तर्फबाट पावर एडजस्टेबल सिट, अगाडिका दुवै सिटमा हिटेड र भेन्टिलेटेड सुविधा, चालकका लागि मसाज सिट, ५० वाटको वायरलेस फोन चार्जिङ, १२७ रङको एम्बियन्ट लाइटिङ र ८ स्पीकर अडियो सिस्टम छ ।

नयाँ सिगलमा वैकल्पिक रुपमा लाइडार सुविधा उपलब्ध छ । यो प्रणाली बीवाइडीको डीपाइलट ३०० (गड्स आई बी) लेभल २ ड्राइभिङ एसिस्टेन्स प्रणाली (एडास)सँग सम्बन्धित छ।


Back_to_top