कारमा लामो दूरीको यात्रामा निस्कनु अघि गर्नैपर्ने ५ काम

तस्बिर : एआइ ।

काठमाडौं । अहिले नेपालीहरूको महान चाड दशैं चलिरहेको छ । सहरमा बसोबास गर्नेहरू पनि वर्षभरीको व्यस्तता बिर्सेर दशैं मनाउन आफ्नो गाउँ जाने गर्छन् । जाँदा र फर्कदा सयौं किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।

मनसुन भर्खर सकिएकाले अधिकांश राजमार्गको अवस्था ठिक छैन । सडकमा खाल्डाखुड्डी, सुख्खा पहिरोको जोखिम र सवारीको उच्च चापले गर्दा लामो दूरीको यात्रा चुनौतीपूर्ण छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले सवारी साधनको ख्याल गर्नुपर्दैन । चालक र सवारीधनीले गाडीको चुस्तदुरुस्त राखेका हुन्छन् । तर, आफ्नै कारमा यात्रा गर्नेले आफैंले गाडीको विशेष ख्याल गर्नुपर्छ ।

यात्रालाई आरामदायी र सुरक्षित बनाउन यात्रामा निस्कनु अगावै गाडीको प्राविधिक अवस्था ठिक राख्नु अत्यन्तै आवश्यक हुन्छ । यात्राका क्रममा बीच बाटोमै गाडी बिग्रिएर आउने अनावश्यक सास्ती र जोखिमबाट बच्न पूर्वतयारी उत्तम उपाय हो । यात्रा सुरू गर्नुअघि सामान्य जाँच र आवश्यक तयारी गर्न सकेमा बाटोमा गाडी बिग्रिने, दुर्घटना हुने तथा अनावश्यक खर्च बढ्ने जोखिम कम गर्न सकिन्छ । त्यसैले तपाईंले पनि लामो दुरीको यात्रामा निस्कनु अघि यी मुख्य ५ काम गर्न नबिसर्नुहाेस् ।

१.गाडीको प्राविधिक अवस्था जाँच गर्नुहोस्

प्राविधिक रूपमा ठिक रहेको गाडी चढेर मात्रै गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले लामो यात्रा गर्नुअघि गाडीको प्राविधिक अवस्था ठीक छ भन्ने सुनिश्चित गर्नु जरुरी हुन्छ । यात्रा सुरू गर्नुअघि गाडीको इन्जिन, ब्रेक, हेडलाइट, ब्रेक लाइट, इन्डिकेटर, हर्न, वाइपर लगायतले ठीकसँग काम गर्छन् कि गर्दैनन् जाँच गर्नुहोस् ।

साथै, कम्बस्चन कारमा इन्जिन आयल, कुल्यान्ट र अन्य आवश्यक तरल पदार्थको स्तर जाँच गर्नुहोस् । इन्जिनबाट तेल चुहिएको वा कुल्यान्ट घट्ने समस्या देखिएमा त्यसको कारण पत्ता लगाई मर्मत गरेर मात्र सवारी चलाउनुपर्छ । ईभीको हकमा ब्याट्रीको अवस्था, चार्जररचार्जिङ पोर्ट चेक गर्नुपर्छ । गाडी स्टार्ट गरेपछि पनि गाडीमा कुनै चेतावनी दिएको छ छैन ख्याल गरेर मात्र अघि बढ्नुपर्छ ।

२. टायरको अवस्था र हावाको चाप जाँच गर्नुहोस्

यात्रामा निस्कनु अघि टायरको अवस्था र हावाको चाप चेकजाँच गर्नुहोस् । टायरमा हावा कम वा बढी हुँदा गाडीको नियन्त्रण, ब्रेकिङ क्षमता र इन्धनको खपतमा असर पर्न सक्छ । त्यसैले तोकिएको चाप अनुसार हावा राख्नुहोस् । बिहान यात्रा सुरू गर्नुअघि वा गाडी रोकिएको अवस्थामा हावा जाँच्नु सबैभन्दा सही हुन्छ । किनभने गाडी लामो समय गुडाएपछि टायर तातेर हावाको चाप बढी देखाउँछ ।

टायरमा चिरा परेको, कुनै वस्तु गाडिएको छ कि छैन पनि हेर्नुपर्छ । लामो दूरीमा जाँदा टायर तात्ने भएकाले पुरानो वा कमजोर टायरले थप जोखिम निम्त्याउन सक्छ । सकेसम्म ग्रिप राम्रै भएको टायर प्रयोग गर्नुउपयुक्त हुन्छ । धेरै पुरानो टायर भएको गाडी लामो यात्रामा नलैजानु नै उपयुक्त हुन्छ । सकेसम्म लामो यात्रामा निस्कँदा स्पेयर टायर बोक्नुपर्छ । यदि, बीचबाटोमा कुनै टायरमा समस्या आयो भने परिवर्तन गर्न सकिन्छ ।

३. इन्धन वा ब्याट्री चार्ज पर्याप्त राख्नुहोस्

लामो दूरीको यात्रा गर्दा बीच बाटोमा पेट्रोल पम्प वा चार्जिङ स्टेसन उपलब्ध नहुन सक्छ । त्यसैले आइस कार हो भने यात्रामा निस्कनु अघि नै गन्तव्यसम्म पुग्ने गरी पेट्रोल वा डिजेल भर्नुपर्छ ।

अझ ईभी हो भने फुलचार्ज गरेर मात्र निस्कनुपर्छ । ईभीको ब्याट्री क्षमता, वास्तविक रेन्ज र गन्तव्यसम्मको दूरीलाई ध्यानमा राख्नुपर्छ । नेपालमा ईभीको पूर्ण इकोसिस्टम विकास भइनसकेकाले राजमार्गमा पर्याप्त चार्जिङ स्टेसन छैनन् । त्यसैले आफ्नो रुटमा पर्ने चार्जिङ स्टेसनको स्थान, चार्जरको प्रकार र उपलब्धता पहिले नै बुझ्नुहोस् । सम्भव भएसम्म ब्याट्रीमा केही चार्ज बाँकी रहने गरी वैकल्पिक चार्जिङ स्टेसनसहित यात्रा योजना बनाउनुहोस् ।

४. कागजात र आपत्कालीन सामग्री साथमा राख्नुहोस्

यात्रा सुरू गर्नुअघि चालक अनुमतिपत्र, ब्लुबुक लगायत आफ्ना महत्वपूर्ण कागजात साथमा राख्नुहोस् । त्यस्तै, बाटोमा आइपर्न सक्ने सम्भावित आकस्मिक समस्यालाई मध्येनजर गर्दै प्राथमिक उपचार बाकस, टर्चलाइट, स्पेयर टायर, ज्याक, ह्वील रेन्च, रिफ्लेक्टिभ वार्निङ ट्रयांगल जस्ता अत्यावश्यक सामग्री गाडीमा राख्नुपर्छ । साथै, मोबाइल चार्जर, पावर बैंक, पिउने पानी, आवश्यक औषधि र केही ड्राइफूड बोक्नुपर्छ ।

पहाडी तथा लामो राजमार्गको यात्रा गर्दा गाडी बिग्रिएको अवस्थामा सहयोग लिनुपर्ने हुन सक्छ । त्यसैले आवश्यक परे प्रयोग गर्न सकिने टोइङ सेवा वा सवारी मर्मत केन्द्रको सम्पर्क नम्बर पनि सुरक्षित राख्नु राम्रो हुन्छ ।

५. चालकको स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्

लामो दूरीको यात्रामा चालकको थकान दुर्घटनाको प्रमुख जोखिममध्ये एक हो । थकित, अस्वस्थ वा निद्रा लागेको अवस्थामा गाडी चलाउनु हुँदैन । त्यसैले यात्रा सुरू गर्नुअघि निद्रा पुग्ने गरी आरामा गर्नुहोस् । साथै, मानसिक र शारीरिक रूपमा पनि स्वस्थ्य हुनुपर्छ । हल्का असन्चो भए पनि ड्राइभ गर्नुहुँदैन ।

यात्राका क्रममा पर्याप्त पानी पिउनुहोस्, आफूलाई सहज हुने गरी खाना खानुहोस् । लागू पद्धार्थ, मदिरा सेवन गरेर वा निद्रा लाग्ने औषधि सेवन गरी गाडी चलाउनै हुँदैन । चालक स्वस्थ र सतर्क रहनु गाडीको प्राविधिक अवस्था जत्तिकै महत्त्वपूर्ण हुन्छ ।

लामो समयसम्म लगातार गाडी चलाउँदा ध्यान केन्द्रित गर्ने क्षमता घट्न सक्छ । त्यसैले करिब प्रत्येक २/३ घण्टामा सुरक्षित स्थानमा गाडी रोकेर आराम गर्नु उपयुक्त हुन्छ। आवश्यकता परे चालक परिवर्तन गर्नु पनि राम्रो विकल्प हो।

साथै, यात्रामा निस्कुन अघि सडकको अवस्था, ट्राफिक चाप, मौसमको जानकारी लिनुहोस् । साथै, गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्नुहोस् । तोकिएकोभन्दा बढी लोड नराख्नुहोस । यात्रा सुरू गरेपछि गाडी चलाइरहेको बेला मोबाइल फोन प्रयोग नगर्नुहोस् ।

माथि भनिएका काम पूरा गरी यात्रामा निस्कनु भयो भने तपाईंको यात्रा सुरक्षित र सहज हुन्छ । समयमै गरिएको सामान्य जाँच र उचित तयारीले बाटोमा हुन सक्ने धेरै समस्या तथा जोखिम कम गर्न मद्दत गर्छ । जसले यात्रालाई रमाइलो र अविष्मरणीय बनाउन सहयोग पुर्याउँछ ।


Back_to_top