काठमाडौं । अमेरिकी अटोमोबाइल ब्राण्ड जीप र चिनियाँ ब्राण्ड डोङफेङले एक आपसमा सहकार्य गर्ने सहकार्य गर्ने भएका छन् । जीपले भारतीय बजारमा आफ्नो उपस्थिति बलियो बनाउन डोङफेङसँग सहकार्य गर्ने भएको हो ।
स्टेलान्टिसले सन् २०३० सम्म भारतीय बजारमा सिट्रोन र जीप ब्राण्ड अन्तर्गत १२ वटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । सोमध्ये जीपका पाँच वटा मोडल हुनेछन् ।
भारतीय संचारमाध्यम अटोकार इन्डियाका अनुसार जीपले सार्वजनिक गर्ने पाँच मोडलमध्ये चारवटा नयाँ र एउटा फेसलिफ्ट मोडल हुनेछ । नयाँ मोडलमा बी-एसयूभी, सी-एसयूभी, डी-एसयूभी र डी-सेग्मेन्ट पिकअप समावेश हुनेछन् । यीमध्ये सी-एसयूभी र डी-एसयूभी चीनमा विकास वा उत्पादन गरेर भारतीय बजारमा ल्याउने सम्भावना रहेको छ ।
यस योजनालाई बल पुग्ने गरी स्टेलान्टिस र डोङफेङबीच गत मे महिनामा सम्झौता भएको थियो । ८ अर्ब चिनियाँ युआनभन्दा बढी मूल्यको उक्त परियोजनामा स्टेलान्टिसले करिब १३ करोड युरो लगानी गर्नेछ ।
सम्झौता अनुसार सन् २०२७ देखि चीनको वुहानस्थित डोङफेङ प्युजो सिट्रोन अटोमोबाइल (डीपीसीए) को कारखानामा प्युजोका दुई र जीपका दुई नयाँ ऊर्जा सवारीसाधन उत्पादन गर्ने योजना छ । जीपका यी गाडी विश्व बजारमा बिक्री गर्ने लक्ष्य राखिएको छ ।
यद्यपि, परियोजनाका लागि आवश्यक सरकारी स्वीकृति र अन्तिम सम्झौताहरू पूरा हुन बाँकी छन्। कम्पनीहरूले यी गाडी कुन कुन देशमा निर्यात गर्ने भन्नेबारे आधिकारिक जानकारी दिएका छैनन्।
तर, भारत पनि सम्भावित बजारका रूपमा रहेको अनुमान गरिएको छ । चीनमा उत्पादन भएका गाडी सिधै भारत आयात गर्नेभन्दा भारतमै उत्पादन गर्ने सम्भावना पनि रहेको छ ।
भारतमा प्रतिस्पर्धी मूल्यमा एसयूभी बिक्री गर्न स्टेलान्टिसले चीनको उत्पादन क्षमता उपयोग गर्न खोजेको देखिन्छ । युरोपमा विकास तथा उत्पादन गरिएका गाडीको लागत बढी हुने भएकाले भारतीय बजारमा तिनलाई प्रतिस्पर्धी मूल्यमा बिक्री गर्न कठिन हुन सक्छ । विशेषगरी २० लाखदेखि ३० लाख भारतीय रुपैयाँसम्मको मूल्य समूहमा एसयूभीबीच कडा प्रतिस्पर्धा छ ।
चीनमा भने ठूलो परिमाणमा उत्पादन गर्ने क्षमता, ब्याट्री तथा विद्युतीय उपकरणका लागि बलियो आपूर्ति संजाल र तुलनात्मक रूपमा छोटो विकास प्रक्रिया उपलब्ध छ । यसले गाडीको उत्पादन लागत घटाउन सहयोग गर्छ। त्यसैले चीनमा विकास गरिएका गाडीलाई भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ ।
चीनमा पछिल्लो एक दशकमा डीपीसीएको बिक्री घटेकाले वुहानस्थित कारखानामा थप उत्पादन गर्न सकिने क्षमता रहेको बताइएको छ । यस्तो अवस्थामा डोङफेङले गाडी उत्पादन गर्ने र स्टेलान्टिसले जीप ब्राण्ड अन्तर्गत बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्ने मोडल अपनाउन सक्छन्।
जीपको बी-एसयूभी भने भारतमै विकास गरिएको टाटाको आर्गोस प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ । यही प्लेटफर्म टाटाको सिएरा एसयूभीमा प्रयोग गरिएको छ । यसले स्टेलान्टिस र टाटाबीच रञ्जनगाउँमा रहेको लामो समयदेखिको उत्पादन सहकार्यलाई थप विस्तार गर्न सक्छ ।

