३ लाखभन्दा कममै किन्न पाइने ५ मोटरसाइकल

काठमाडौं । नेपालमा ठूला मोटरसाइकलको माग बढ्दै जाँदा साना मोटरसाइकलको उपलब्धता पनि घट्दै गएको छ । उपभोक्तको रुचीमा आएको परिवर्तन, खरिद क्षमतामा वृद्धि, नयाँ प्रविधियुक्त मोटरसाइकल आउनु, विद्युतीय स्कुटरको आगमन लगायत कारणले इन्ट्री लेभल मोटरसाइकलको माग घट्दै गएको हो ।

यद्यपि, कम बजेट, दैनिक प्रयोगका लागि राम्रो माइलेज र कम संचलान खर्च भएकाले इन्ट्री लेभल मोटरसाइकल अझै किफायति मानिन्छ । सहरी र तराई क्षेत्रमा अझै पनि १०० देखि १२५ सीसीका मोटरसाइकलको बिक्री राम्रै छ ।

बजारमा ठूला मोटरसाइकलको माग बढ्दै जाँदा मूल्य पनि बढेको छ । केही वर्ष अघिसम्म डेढ दुई लाखमै मोटरसाइकल किन्न पाइन्थ्यो । अझ ३ लाख रुपैयाँ हाराहारीमै २०० सीसीसम्मका मोटरसाइकल किन्न पाइन्थ्यो । तर, अहिले ३ लाखभन्दा कममा १०० सीसीकै मोटरसाइकल पनि नआउने अवस्था रहेको छ ।

नेपाली बजारमा दर्जन बढी ब्राण्डका ५० बढी मोडलका मोटरसाइकल उपलब्ध छन् । तर, ३ लाखभन्दा कम मूल्यमा कमै मात्र विकल्प छ । यहाँ हामीले ३ लाखभन्दा कममै किन्न पाइने ५ मोटरसाइकलको चर्चा गरेका छौं ।

१. हिरो स्प्लेण्डर प्लस

सीजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको हिरो स्प्लेण्डर प्लस सम्भवतः नेपालमा पाइने सबैभन्दा सस्तो मोटरसाइकल हो । हिरो स्प्लेण्डर प्लसको मूल्य २ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ ।  यसमा ९७.२ सीसी सिंगल सिलिण्डर इन्जिन रहेको छ । जसले ८.३६ पीएस पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीड गियरबक्स, टेलिस्कोपिक सस्पेन्सन, ११ लिटरको फ्युल ट्यांक र सेल्फ स्र्टाट उपलब्ध छ ।

२. बजाज प्लाटिना १०० ईएस

नेपालमा पाइने अर्को सस्तो मोटरसाइकल हो बजाज प्लाटिना १०० ईएस । हाल बीएस ६ इन्जिनमा उपलब्ध प्लाटिना १०० ईएस हंसराज हुलाशचन्द एण्ड कम्पनीले २ लाख ६१ हजार ९०० रुपैयाँ तोकर बिक्री गर्दै आएको छ । यसमा ९९.५ सीसी इन्जिन रहेको छ । जसले ७.९ पीएस पावर र ८.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा इलेक्ट्रीक स्ट्राट, टेलिस्कोपिक फर्क, ड्रम ब्रेक, १७ इन्च ह्वील र १९० एमएम ग्राउण्ड क्लियरेन्स उपलब्ध छ ।

३. टीभीएस रेडिअन

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विक्री गर्ने टीभीएस रेडिअनमा १०९.७ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले ८.३० पीएस पावर र ८.७० एनएम टर्क जेनेरेट गर्छ । रेडिअनमा १० लिटर क्षमताको इन्धन ट्यांकी छ । यसले औसतमा ६० किलोमिटर हाराहारी माइलेज दिन्छ । यो मोटरसाइकलको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।

४ यामाहा सलुटो

यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लूले बिक्री गर्ने यामाहा सलुटो १२५ पनि ३ लाखभन्दा कम मूल्यमा आउने मोटरसाइकल हो । यसको मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ । सलुटोमा १२४ सीसी इन्जिन छ । यो इन्जिनले ८.३ पीएस पावर तथा १०.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा डिस्क ब्रेक पाउन सकिन्छ भने अगाडि टेलिस्कोपिक सस्पेन्सन रहेको छ ।

५ होण्डा साइन डीआरएस

होण्डा साइन १२५ डीआरएस १२४.७ सीसी क्षमताको इन्जिन छ । यसले १०.५६ बीएच पावर प्रदान गर्ने छ भने, १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्यांक दिइएको छ । यसको टेलिस्कोपिक र पछाडि स्पीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ । स्याकार ट्रेडिङले होण्डा सीबी साइन डीआरएसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।


Back_to_top