काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चेरीले विद्युतीय सवारीसाधन (ईभी) का लागि १४४० किलोवाट क्षमताको अल्ट्रा फास्ट चार्जिङ सिस्टम सार्वजनिक गरेको छ । कम्पनीले ‘भोल्ट–ड्रागन’ नाम दिएर नयाँ चार्जिङ सिस्टम ल्याएको हो ।
नयाँ चार्जरमार्फत ५ मिनेट चार्ज गर्दा गाडीले ५०० किलोमिटर दूरी तय गर्न पुग्ने रेन्ज थप्न सकिने कम्पनीको दावी छ ।
चेरीले आफ्नै ग्लोबल इनोभेसन कन्फरेन्समा यो प्रविधि सार्वजनिक गरेको हो । कम्पनीका अनुसार भोल्ट–ड्रागन चार्जरले अधिकतम १.४४ मेगावाट अर्थात् १ हजार ४४० किलोवाटसम्मको चार्जिङ पावर प्रदान गर्न सक्छ ।
यसबाट गाडीको ब्याट्री १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन जम्मा ६ मिनेट ५० सेकेन्ड लाग्ने कम्पनीको दाबी छ ।
यो प्रणालीले ८०० भोल्ट र त्यसभन्दा उच्च भोल्टेजका विद्युतीय सवारीसाधनलाई लक्षित गरेको छ । चार्जिङका क्रममा उत्पन्न हुने ताप व्यवस्थापनका लागि यसमा इमर्सन लिक्विड कुलिङ प्रविधि प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
त्यस्तै, सिलिकन कार्बाइडमा आधारित पावर इलेक्ट्रोनिक्स प्रयोग गरिएकाले ग्रिडदेखि चार्जिङ प्लगसम्मको ऊर्जा दक्षता ९६.५ प्रतिशत रहने कम्पनीले जनाएको छ ।
चार्जिङ केबल र प्लगलाई हलुका बनाइएको छ । यसको प्लग र केबलको संयुक्त तौल २ किलोग्राम मात्रै रहेको छ । संचालनका क्रममा आवाज ५० डेसिबलभन्दा कम हुने कम्पनीको दाबी छ ।
भोल्ट–ड्रागन प्रणालीमा रोबोटिक आर्ममार्फत स्वचालित चार्जिङ सुविधा पनि उपलब्ध गराउने चेरीको योजना छ । यसले चालकलाई गाडीबाट बाहिर ननिस्किई ‘ड्राइभ–थ्रु’ शैलीमा चार्जिङ गर्न सहज बनाउनेछ ।
चेरीले चीनका १० सहरमा प्रारम्भिक चरणमा १०० वटा भोल्ट–ड्रागन चार्जिङ स्टेसन संचालनमा ल्याउने जनाएको छ । सन् २०२६ को अन्त्यसम्म थप विस्तार योजना सार्वजनिक गर्ने कम्पनीको भनाइ छ । सन् २०२९ सम्म विश्वभर २० हजारभन्दा बढी भीटुजी सुविधा सम्पन्न चार्जिङ स्टेसन निर्माण गर्ने चेरीको दीर्घकालीन लक्ष्य छ ।

