काठमाडौं । नेपाली बजारमा नयाँ क्रुजर मोटरसाइकल भित्रिएको छ । चिनियाँ दुईपाँग्रे सवारी निर्माता क्यूजे मोटरको आधिकारिक बिक्रेता ह्याम्स मोटर्सले क्यूजे ब्राण्डको नयाँ क्रुजर मोटरसाइकल एसआरभी २५० नेपालमा बिक्री सुरू गरेको हो ।
क्लासिक क्रुजर डिजाइन र आधुनिक फिचरको समिश्रण रहेको एसआरभी २५० नेपाली प्रिमियम क्रुजर सेग्मेन्टमा नयाँ विकल्पको रूपमा आएको छ । कम्पनीले क्यूजे एसआरभी २५० को मूल्य ९ लाख ७९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । जुन मूल्य यो सेग्मेन्टमा आकर्षक र प्रतिस्पर्धी मानिन्छ ।
कम्पनीले चाँडै नै यसको अटोमेटिक भर्सन समेत नेपाल ल्याउने योजना रहेको बताएको छ ।
इन्जिन
क्यूजे मोटर एसआरभी २५० मा २४९ सीसी क्षमताको लिक्विड-कुल्ड, भी-ट्विन, ४-स्ट्रोक इन्जिन दिइएको छ । उक्त इन्जिनले ९,००० आरपीएममा अधिकतम २७.५ हर्सपावर तथा ७,००० आरपीएममा २३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा रहेको भी-ट्विन इन्जिन सेटअपले क्रुजर प्रेमीहरूलाई उत्कृष्ट थ्रोटल रेस्पोन्सका साथै बेसयुक्त एक्जस्ट नोट प्रदान गर्दछ ।
डिजाइन र कम्फर्ट
यो मोटरसाइकलमा नियो–रेट्रो बबर डिजाइन ल्यांग्वेज पाउन सकिन्छ । लामो दूरीको यात्रालाई सहज बनाउन कम्पनीले यसमा ७०० एमएमको लो–सिट हाइट दिएको छ । जसले गर्दा होचो कद भएका राइडरहरूले पनि ट्राफिक तथा हाइवेमा सहजै ब्यालेन्स गर्न सक्छन् ।

आरामदायी सिटिङ पोस्चर, फराकिलो ह्याण्डलबार र फर्वार्ड-सेट फुटपेगका कारण यसलाई सहरी यात्रासँगै लामो हाइवे टुरिङका लागि उपयुक्त मानिएको छ । लामो यात्रालाई ध्यानमा राख्दै यसमा १३.५ लिटरको मस्कुलर फ्युल ट्यांक दिइएको छ ।
सस्पेन्सन, ब्रेकिङ र फिचर्स
सुरक्षा र आधुनिक फिचर्सका हिसाबले एसआरभी २५० निकै मजबुत देखिन्छ । यसको अगाडि अपसाइड–डाउन टेलिस्कोपिक फोर्क र पछाडि ट्वीन सक एब्जर्भर सस्पेन्सन सेटअप पाउन सकिन्छ ।
ब्रेकिङतर्फ दुवै पाँग्रामा डिस्क ब्रेकका साथै डुअल–च्यानल एबीएस स्ट्यान्डर्ड रूपमा उपलब्ध छ । यसबाहेक मोटरसाइकलमा आकर्षक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फुल एलईडी लाइटिङ सेटअप र यात्राको क्रममा ग्याजेट चार्ज गर्नका लागि डेडिकेटेड यूएसबी चार्जिङ पोर्ट दिइएको छ ।
नेपाली बजारमा भी–ट्विन इन्जिनयुक्त क्रुजर सेग्मेन्टमा विकल्प न्यून रहेको अवस्थामा क्यूजे मोटरको आगमनले स्टाइल, कम्फर्ट र पावर खोज्ने युवा राइडरहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

