काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईको नयाँ एसयूभी भारतीय बजारमा भोलि सार्वजनिक हुँदैछ । विश्व बजारमा दुई साता अघि आएको बायोन भारतमा ठूलो इन्जिनमा आउने भएको हो ।
हुन्डाईले बायोनलाई आफ्नो लाइनअपमा भेन्यू र क्रेटाको बीचमा राखेर बजारमा ल्याएको हो । यसले कम्प्याक्ट र मिड साइज एसयूभी सेग्मेन्टमा अर्को नयाँ विकल्प थप्नेछ ।
बायोन एसयूभी बोल्ड डिजाइन, पेट्रोल इन्जिन र धेरै नयाँ प्रविधिसहित आउँदैछ । बायोनको बाहिरी बनावट, क्याबिन, इन्जिन, सेफ्टी फिचर सार्वजनिक भइसकेका छन् । यसमा १.५ लिटरको पेट्रोल इन्जिन, दुईवटा १२.३ इन्चका स्क्रीन, जेनेरेटिभ एआई भ्वाइस असिस्टेन्ट, ३५ बढी स्ट्याण्डर्ड सेफ्टी फिचर, लेभल २ प्रो एडास लगायत सुविधा छन् ।
भारतमा सार्वजनिक भए पछि बायोन चाँडै नेपाली बजारमा पनि उपलब्ध हुनेछ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाँडै ल्याउने सम्भावना छ । बायोन एसयूभीका मुख्य ७ पक्ष बारे हामीले यहाँ चर्चा गरेका छौं ।
१. बोल्ड एसयूभी डिजाइन
नयाँ हुन्डाई बायोनको डिजाइन आकर्षक र बोल्ड छ । यसमा आकर्षक बोनेट, स्प्लीट हेडल्याम्प र पातला एलईडी डीआरएल दिइएको छ । अगाडिको भागमा दिइएको अंग्रेजी अक्षर ‘एच’ आकारको लाइट डिजाइनले यसलाई फरक पहिचान दिएको छ ।

यसको साइड प्रोफाइलमा बाक्लो बडी क्ल्याडिङ, बाहिरतिर फैलिएका ह्वील आर्च र आकर्षक अलोय ह्वील छन् । पछाडिको भागमा पातला टेललाइट, रूफ स्पोइलर र टेलगेटमा बायोन लेखिएको छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध बायोनको डिजाइन ह्याचब्याक जस्तै भए पनि भारतका लागि बनाइएको संस्करण भने अझ बलियो र परम्परागत एसयूभी जस्तो देखिन्छ ।
२. १.५ लिटर पेट्रोल इन्जिन
बायोन भारतीय बजारमा ग्लोबल मोडलभन्दा ठूलो इन्जिनमा आउने छ । युरोपियन बजारमा उपलब्ध बायोनमा १.० लिटर टी–जीडीआई पेट्रोल इन्जिन उपलब्ध छ भने भारतमा १.५ लिटर क्षमताको फोर सिलिण्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिनमा आउने छ । यस इन्जिनले ११५ पीएस अधिकतम पावर र १४४ एनएम टर्क उत्पादन गर्नेछ ।
इन्जिनमा ६ स्पीड म्यानुअल वा आईभीटी अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध हुनेछ । अटोमेटिक गियरबक्सले विशेषगरी सहरको ट्राफिकमा सहज र आरामदायी ड्राइभिङ अनुभव दिने अपेक्षा गरिएको छ । यही इन्जिन हुन्डाईका अन्य मोडल जस्तै क्रेटामा पनि प्रयोग गरिएको छ ।
३. प्रिमियम क्याबिन र डुअल स्क्रीन सेटअप
हुन्डाई बायोनमा आराम र सुविधालाई ध्यानमा राखेर विभिन्न प्रिमियम फिचर उपलब्ध हुनेछन् । यसमा अगाडिका भेन्टिलेटेड सिट, पानोरामिक सनरुफ, विद्युतीय रूपमा मिलाउन सकिने चालकको सिट, वायरलेस फोन चार्जिङ र बोस प्रिमियम अडियो सिस्टम समावेश हुनेछन् ।

बायोनको क्याबिनको मुख्य आकर्षण यसको डुअल स्क्रीन सेटअप हो । यसमा १२.३ इन्चका दुईवटा डिस्प्ले छन् । एउटा स्क्रीनले डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अर्को स्क्रीनबाट इन्फोटेनमेन्ट प्रणाली संचालन गर्न सकिनेछ । यी स्क्रीनले ड्यासबोर्डलाई आधुनिक रूप दिनुका साथै ड्राइभिङ सम्बन्धी जानकारी, मनोरञ्जन र कनेक्टेड सुविधाहरूलाई एउटै स्थानमा उपलब्ध गराउनेछन् । क्याबिनमा केही मुख्य नियन्त्रणका लागि भौतिक बटनहरू पनि राखिएका छन् । जसले गर्दा दैनिक प्रयोगका कार्यहरू सहज हुन्छन् ।
हुन्डाईले बायोनका लागि टाइटेनियम ब्ल्याक, क्लासी ब्लु, एटलस ह्वाइट, फियरी रेड, गोल्डेन ब्रन्ज र इकोट्रोनिक ग्रेजस्ता रङसहित १० वटा बाहिरी रङका विकल्प पनि घोषणा गरेको छ ।
४. जेनेरेटिभ एआई भ्वाइस असिस्टेन्ट
हुन्डाई बायोन भारतमा जेनेरेटिभ एआई भ्वाइस असिस्टेन्ट पाउने पहिलो हुन्डाई मोडल हुनेछ । यो प्रणालीले पप्र्लेक्सिटी र साउण्ड हाउण्ड एआईको प्रविधिलाई संयोजन गर्छ । यसलाई प्राकृतिक भ्वाइस कमाण्डहरू बुझ्न र जानकारीमूलक प्रश्नहरू तथा गाडीका सुविधाहरू संचालन गर्न सहयोग पुर्याउने गरी डिजाइन गरिएको छ ।
यो प्रणालीले अंग्रेजी, हिन्दी, हिङ्लिश, तमिल, तेलुगु र बंगाली भाषामा ५०० भन्दा बढी भ्वाइस कमाण्डहरू सपोर्ट गर्छ । केही कमाण्डहरू इन्टरनेट कनेक्सनबिना पनि चल्छन् । यो प्रविधि बायोनको सबैभन्दा विशेष सुविधाहरू मध्ये एक हो, जसले क्याबिनमा थप आधुनिक आवा नियन्त्रित अनुभव ल्याउँछ ।
५. कनेक्टेड फिचर्स र ओभर द एयर अपडेट
बायोनमा हुन्डाई ब्लुलिंक कनेक्टेड कार प्रविधि रहनेछ । जसले ७० भन्दा बढी कनेक्टेड सुविधाहरू प्रदान गर्छ । यसले १९ वटा इलेक्ट्रोनिक कन्ट्रोलरहरूका लागि ओभर द एयर सफ्टवेयर अपडेटहरू पनि सपोर्ट गर्छ । यसले गर्दा सफ्टवेयर अपडेटका लागि पटक पटक डिलरशिप गइरहनुपर्ने आवश्यकता कम हुन्छ ।
यसको इन्फोटेनमेन्ट सिस्टमले एनभिडिया हार्डवेयरद्वारा समर्थित ‘कनेक्टेड कार नेभिगेसन ककपिट’ प्रविधि प्रयोग गर्छ । यो सिस्टमले विभिन्न भारतीय भाषाहरू सपोर्ट गर्ने भएकाले धेरै प्रयोगकर्ताहरूका लागि यो सहज हुनेछ ।
६. लेभल २ प्रो एडास
हुन्डाई बायोनका सुविधायुक्त भेरियन्टमा लेभल २ प्रो एडासउपलब्ध हुनेछ । यस प्याकेजमा चालकलाई विभिन्न अवस्थामा सहयोग गर्ने २३ वटा ड्राइभर असिस्टेन्स सुविधा समावेश हुनेछन् ।
यसका प्रमुख सुविधामा स्टप एण्ड गोसहितको स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र ब्लाइण्ड स्पट कोलिजन अभोइडेन्स असिस्ट रहेका छन् । यस एसयूभीमा साउण्ड भ्यु मोनिटर र ब्लाइण्ड स्पट भ्यु मोनिटर पनि उपलब्ध हुनेछन् । यी प्रणालीले पार्किङ गर्न सजिलो बनाउनुका साथै वरिपरिका सवारीसाधनबारे जानकारी लिन सहयोग गर्नेछन् । यी प्रणालीहरूले पार्किङ गर्न र नजिकका गाडीहरूबारे सचेत रहन मद्दत गर्छन् ।
७. ३५ भन्दा बढी स्ट्याण्डर्ड सेफ्टी फिचर्स
हुन्डाईका अनुसार बायोनमा ३५ भन्दा बढी स्ट्याण्डर्ड सुरक्षा सुविधा उपलब्ध हुनेछन् । सबै सुरक्षा सुविधालाई समेट्दा यसको प्याकेजमा ८० भन्दा बढी सुरक्षा सुविधा रहनेछन् ।
यसका स्ट्याण्डर्ड सुविधामा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट र बालबालिकाको सिट जडान गर्न मिल्ने आइसोफिक्स माउन्ट समावेश छन् ।
यो एसयूभी हुन्डाईको ग्लोबल के इन्क्रिमेन्टेड प्लेटफर्ममा आधारित हुनेछ । यसको बडी संरचनामा विभिन्न प्रकारका उच्च मजबुती भएका स्टिल प्रयोग गरिएका छन् । महत्त्वपूर्ण भागमा तातो बनाएर आकार दिइएको विशेष स्टिल पनि प्रयोग गरिएको छ । हुन्डाईले दुर्घटनाका बेला यात्रुको सुरक्षा सुधार गर्न ध्यान दिएको छ । यद्यपि, भारत एनक्याप परीक्षणबाट आधिकारिक फाइभ स्टार सेफ्टी रेटिङ पुष्टि भइसकेको छैन ।

