काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी निओको प्रिमियम कम्प्याक्ट ईभी ब्राण्ड फायरफ्लाईले ६० किलोवाट आवर क्षमताको नयाँ ब्याट्री सार्वजनिक गरेको छ । ठूलो क्षमताको ब्याट्री थपिएसँगै यसको रेन्ज पनि उल्लेख्य रूपमा बढेको छ ।
यसअघि पनि पटक पटक विभिन्न ब्यापारीक घरानाले नेपाल ल्याउने भनेर चर्चामा आएको निओ रेन्ज बढेसँगै फेरी एक पटक नेपाली बजारमा प्रवेश गर्ने सम्भावनाबारे चासो बढ्ने भएको छ ।
फायरफ्लाईले सार्वजनिक गरेको नयाँ ६० किलोवाट आवरको सीएटीएल टर्नरी लिथियम ब्याट्रीले एकपटकको चार्जमा सीएलटीसी परीक्षणअनुसार ५६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । यसअघि प्रयोग भएको ब्याट्रीले ४२० किलोमिटर रेन्ज दिने जनाइएको थियो । नयाँ ब्याट्रीको रेन्ज करिब ३३ प्रतिशतले बढेको हो ।
रोचक पक्ष के छ भने ब्याट्रीको क्षमता बढे पनि यसको साइज र गाडीको कुल तौल भने पुरानै अवस्थामा राखिएको छ । नयाँ ब्याट्रीको ऊर्जा घनत्व १८७.२ वाट आवर प्रतिकिलोग्राम रहेको छ ।
चीनमा नयाँ ब्याट्रीसहितको फायरफ्लाईको मूल्य १ लाख ३६ हजार ८०० युआनबाट सुरु हुन्छ । ब्याट्री भाडामा लिने बास योजनाअन्तर्गत मासिक ५९९ युआन तिर्नुपर्ने व्यवस्था गरिएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । बढेको ब्याट्री साइजको फाइदा पुरानो गाडी चढ्ने ग्राहकले समेत रकम थपेर नयाँ ब्याट्री जडान गर्न सक्नेछन् ।
नेपालमा पनि फायरफ्लाई भित्र्याउन केही ठूला व्यावसायिक घरानाले यसअघि प्रयास गरेका थिए । कम्पनीले नेपालका लागि व्यवसायी नियुक्त गर्न इच्छुकता देखाए पनि सीमित रेन्ज, ह्याचब्याक डिजाइन र तुलनात्मक रूपमा महँगो मूल्यका कारण व्यवसायीहरू लगानी गर्न हिचकिचाएका थिए ।
तर, अब ५६० किलोमिटरको घोषित रेन्ज र ठूलो ब्याट्री विकल्प उपलब्ध भएपछि नेपाली बजारमा यसको सम्भावना पुनः चर्चामा आउन सक्छ । यद्यपि, नेपालमा यसको आधिकारिक प्रवेशबारे अहिलेसम्म कुनै घोषणा भएको छैन ।

