काठमाडौं । एउटा इलेक्ट्रीक ह्याचब्याक किन्ने मानिसले आफ्नो लागि सही मोडल कुन होला भनेर एकिन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । त्यसमा पनि बजारमा आएका धेरै ह्याचब्याक मोडलहरू एकपछि अर्को हराउँदै गएका छन् ।
तर, २५ देखि ३५ लाख रुपैयाँसम्म तिर्ने हो भने बजारमा राम्रा ब्राण्डले बिक्री गर्दै आएका ह्याचब्याक कार पाउन सकिन्छ । खासगरी डोङफेङ नामी बक्स, बीवाइडी एटो १, टाटा टियागो, प्रोटोन इमास-५, केई इक्युट-०४ जस्ता मोडल बजारमा उपलब्ध छन् ।
यी मध्ये धेरैले चासो व्यक्त गर्दै आएको डोङफेङ नामी बक्स ई २ र प्रोटोन इमास-५ मा कुन राम्रो छ भन्ने विषयमा हामीले यहाँ चर्चा गर्न खोजेका छौं ।
मूल्य र ब्याट्री बीच कस्तो प्रतिस्पर्धा ?
दुवै मोडलको डिजाइन, ब्याट्री क्षमता, मोटर पावर, इन्टेरियर र उपयोगितामा फरक विशेषता छन् । नामी बक्स ई२ र प्रोटोन इमास-५ दुवै दुई ब्याट्री विकल्पमा उपलब्ध छन् ।

यी दुई मध्ये कुन गाडी बढी उपयोगी र भ्यालू फर मनी छ भन्ने कुरा मूल्यले मात्रै निर्धारण गर्दैन । यसमा दिइएको ब्याट्री क्षमता, रेन्ज, मोटर पावर, यात्रु सुविधा, सामान राख्ने ठाउँ र ड्राइभिङ अनुभव जस्ता कुरा हेरेर निर्णय लिएमा पछि पछुताउनु पर्दैन ।
मूल्य र ब्याट्री बीचको प्रतिस्पर्धा निकै रोचकलाग्दो देखिन्छ । नामी बक्स ई२ ठूलो ब्याट्री र इमास-५ प्राइम (सानो ब्याट्री) को मूल्य एउटै छ । दुवै समान ३२ लाख ९९ हजार रुपैयाँमा किन्न पाइन्छ । तर, नामीमा ४२.३ किलोवाट आवरको ब्याट्री छ । इमास-५मा भने ३०.१२ किलोवाट आवरको ब्याट्री मात्रै छ ।
यहाँ हेर्नु पर्ने अर्को पक्ष केबल २ लाख रुपैयाँ बढी तिरेर नामी बक्सकै ठूलो ब्याट्री पाइन्छ । त्यसैले धेरै रेन्ज चाहिने मानिसको लागि नामी बक्स लङ रेन्ज आकर्षक हुन्छ ।
अर्कोतर्फ, इमास-५ प्रिमियमको मूल्य नामीको ठूलो ब्याट्री भेरियन्टभन्दा ४ लाख रुपैयाँ बढी छ । त्यसको बदलामा ग्राहकले बढी शक्तिशाली मोटर, ठूलो बुट स्पेस र थप प्रिमियम सुविधा पाउँछन् ।
रेन्ज र मोटर क्षमतामा कुन बलियो ?
नामी बक्स ई२ को दुवै भेरियन्टमा समान ४९.५ किलोवाट क्षमताको मोटर छ । सानो ब्याट्रीले डब्लूएलटीपी टेस्ट अनुसार २३७ किलोमिटर र ठूलो ब्याट्रीले ३१७ किलोमिटर रेन्ज प्रमाणित भएको छ ।
प्रोटोन इमास-५ मा भने भेरियन्टअनुसार मोटर क्षमता फरक छ । प्राइममा ५८ किलोवाट र प्रिमियममा ८५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । दुवैमा रियर ह्वील ड्राइभ (आरडब्लूडी) सिस्टम प्रयोग गरिएको छ ।
यस हिसाबले मोटर पावरमा इमास-५ अगाडि छ । विशेषगरी ८५ किलोवाट मोटर भएको प्रिमियम भेरियन्टले नामीको तुलनामा बढी पावर र राम्रो एक्सिलेरेसन दिने सहजै अनुमान लगाउन सकिन्छ ।
इमास-५ को सानो ब्याट्रीले २२५ र लङ रेन्जले ३२५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ । रेन्जको आधारमा लगभग दुवै मोडल समान जस्तै देखिन्छन् ।
साइजमा कुन अगाडि ?
दुवै गाडीको बाहिरी आकारमा १०५ एमएमको फरक छ । इमास-५ लामो र अग्लो छ । नामी बक्स ५ एमएम बढी फराकिलो र १० एमएम बढी ह्वीलबेसको साथ उपलब्ध छ ।

सामान राख्ने क्षमतामा इमास-५ अगाडि छ । यसको पछाडिको सिट फोल्ड गर्दा १ हजार ३२० लिटरसम्म प्रयोग गर्न पाइन्छ । नामी बक्समा पछाडिको सिट फोल्ड गर्दा बुट स्पेस ९४५ लिटरसम्म विस्तार गर्न सकिन्छ ।
इमास-५ मा थप ७० लिटरको फ्रन्ट फ्रंक उपलब्ध हुनु अर्को फाइदा हो । परिवारसँग यात्रा गर्ने वा धेरै सामान बोक्नुपर्ने ग्राहकका लागि यसको व्यावहारिक उपयोगिता बढी हुन सक्छ ।
डिजाइन र इन्टेरियरमा फरक प्राथमिकता
नामी बक्स ई२ को डिजाइन क्युट र फरक देखिन्छ । यसको अगाडिको भागमा प्रोजेक्टर हेडल्याम्पसँगै जोडिएको एलईडी डे टाइम रनिङ लाइट, फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल र प्लम आकारको ह्वील हब प्रयोग गरिएको छ । यसले गाडीलाई परम्परागत ह्याचब्याकभन्दा फरक पहिचान दिन्छ ।
यसको इन्टेरियरमा ठूलो स्क्रिन, टु स्पोक स्टेयरिङ ह्वील, ड्युल टोन ड्यासबोर्ड, आकर्षक आमरेष्ट, लक्जरी सिट र वायरलेस फोन चार्जर उपलब्ध छन् ।
प्रोटोन इमास-५ को डिजाइन भने तुलनात्मक रूपमा स्पोर्टी र एरोडाइनामिक छ । यसमा सार्प हेडल्याम्प, एलईडी डीआरएल, सेमी हिडन डोर ह्याण्डल र एरोडाइनामिक ह्वील डिजाइन प्रयोग गरिएको छ ।
यसको इन्टेरियरमा पनि टु स्पोक स्टेयरिङ, प्रिमियम सिट र आकर्षक ड्यासबोर्ड उपलब्ध छन् । विशेषगरी सुरक्षा फिचर र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) यसको बलियो पक्षका रूपमा प्रस्तुत गरिएको छ ।
सस्पेन्सन र ड्राइभिङ अनुभव
प्रोटोन इमास-५ मा रियर ह्वील ड्राइभ सिस्टमसँगै पछाडि मल्टी लिंक सस्पेन्सन प्रयोग गरिएको छ । यसले सडकमा स्थिरता, कर्नरिङ र यात्रु आराममा सहयोग गर्न सक्छ ।
नामी बक्स ई२ फ्रन्ट ह्वील ड्राइभ सिस्टम भएको कार हो । यसमा ड्राइभिङ अनुभवभन्दा पनि ब्याट्री क्षमता र रेन्ज बलियो छ ।

नेपालका सडकमा प्रयोग गर्दा ग्राउण्ड क्लियरेन्स दुवैको लगभग समान १७५ एमएमभन्दा माथि छ । त्यसैले यस मामिलामा कुनै एउटा मोडलको स्पष्ट अग्रता देखिँदैन ।
निष्कर्ष : मूल्य र प्राविधिक विवरणका आधारमा हेर्दा नामी बक्स ई२ ठूलो ब्याट्री भेरियन्ट सबैभन्दा आकर्षक विकल्प देखिन्छ । ३२ लाख ९९ हजार रुपैयाँमै ४२.३ किलोवाट आवरको ब्याट्री र ३१७ किलोमिटरको रेन्ज उत्कृष्ट लाग्छ ।
बढी पावर, ठूलो बुट स्पेस, फ्रन्ट फ्रंक र रियर मल्टी लिंक सस्पेन्सन चाहने ग्राहकका लागि इमास-५ प्रिमियम उपयुक्त हुन सक्छ । यसको ८५ किलोवाट मोटरले पनि फरक ड्राइभिङ अनुभव प्रदान गर्छ ।

