काठमाडौं । चीनको विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीमा कार्यरत कर्मचारीको संख्या १० लाख २० हजार नाघेको छ । यो संख्या विश्वका प्रमुख अटोमोबाइल उत्पादक टोयोटा, जनरल मोटर्स (जीएम), फोर्ड र टेस्लामा कार्यरत कुल कर्मचारीभन्दा पनि बढी हो ।
बीवाइडीका अध्यक्ष वाङ चुआनफुले अक्टोबर २८ मा चाइना सोसाइटी अफ अटोमोटिभ इन्जिनियर्सको ३३ औँ वार्षिक सम्मेलनमा कम्पनीको कर्मचारी संख्या सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
सन् २०२५ को अन्त्यमा बीवाइडीमा करिब ८ लाख ६९ हजार ६०० कर्मचारी थिए । पछिल्लो १० महिनामा कम्पनीले करिब १ लाख ५० हजार नयाँ कर्मचारी थपेको उनले बताए ।
अहिले कार्यरतमध्ये करिब ९ लाख ६० हजार चीनमा र ६० हजार चीन बाहिर छन् । करिब १ लाख २० हजार कर्मचारी अनुसन्धान तथा विकास (आर एण्ड डी) क्षेत्रमा कार्यरत इन्जिनियर हुन् । उनीहरूले ब्याट्री सेल, मोटर, इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम र सेमिकन्डक्टर प्रविधिमा काम गर्छन् ।
कर्मचारी संख्याका हिसाबले बीवाइडीले धेरै स्थापित कम्पनीलाई पछाडि पारेको छ । टोयोटामा ३ लाख ९० हजार ९२७, जीएममा १ लाख ५६ हजार, फोर्डमा १ लाख ६९ हजार र टेस्लामा १ लाख ३४ हजार ७८५ कर्मचारी छन् । यी चार कम्पनीको कुल कर्मचारी संख्या करिब ८ लाख ५१ हजार मात्रै हुन्छ । यस आधारमा बीवाइडीमा उनीहरूको संयुक्त संख्याभन्दा करिब १ लाख ७० हजार बढी कर्मचारी छन् ।
त्यस्तै, फक्सवागन ग्रुपमा ६ लाख ६२ हजार ९४२ र स्टेलान्टिसमा २ लाख ५८ हजार ६६८ कर्मचारी छन् ।
टोयोटाभन्दा पाँच गुणा कम उत्पादकत्व
कर्मचारी संख्या ठूलो हुँदैमा सवारी उत्पादन क्षमता पनि बढी हुन्छ भन्ने छैन । सन् २०२५ को बिक्री र कर्मचारी संख्यालाई तुलना गर्दा बीवाइडीले प्रतिकर्मचारी औसत ५.३ युनिट गाडी बिक्री गरेको देखिन्छ ।
टेस्लाको यस्तो अनुपात करिब १२ र फक्सवागनको १३.५ युनिट छ । टोयोटाले भने प्रतिकर्मचारी करिब २९ युनिट गाडी बिक्री गरेको थियो । यो कम्पनीहरूको कुल बिक्री र वर्षको अन्तिममा कायम कर्मचारी संख्यालाई आधार मानेर निकालिएको हो ।
बीवाइडीको कर्मचारी संख्या बढी हुनुको मुख्य कारण कम्पनीको व्यवसायिक संरचना हो । उसले गाडी मात्रै उत्पादन गर्दैन । ब्याट्री, चिप्स, मोटर, इलेक्ट्रोनिक उपकरण, ऊर्जा भण्डारण प्रणाली र अन्य कम्पोनेन्टसमेत आफैँ उत्पादन गर्छ । त्यसैले उसको कर्मचारी धेरै देखिएको हो ।
बीवाइडीको बहुमत स्वामित्व रहेको बीवाइडी इलेक्ट्रोनिकले अन्य ब्रान्डका लागि इलेक्ट्रोनिक उपकरणसमेत उत्पादन गर्छ । उक्त कम्पनीमा मात्रै सन् २०२५ को अन्त्यमा करिब १ लाख ६५ हजार कर्मचारी थिए ।

