सन् २०२७ मा चीनमा विकास हुने १० अटोमोबाइल प्रविधि

काठमाडौं । विश्वकै ठूलो अटोमोबाइल बजारमा चीनमा एकपछि अर्को नयाँ प्रविधिको विकास भइरहेको छ । मुख्यगरी विद्युतीय सवारी र ब्याट्री, हाइब्रिइ कार, स्वःचालिकत कार लगायतमा तीव्र अनुसन्धान र काम भइरहेको हो ।

चीनले विश्व अटोमोबाइल जगतलाई नै चकित पार्ने प्रविधि विकास गरिरहेको छ । आगामी वर्षहरूमा यो क्रमले झनै तीव्रता पाउने छन् । यसैक्रममा चीनमा सन् २०२७ मा विकास तथा प्रयोगमा आउने सवारी साधन सम्बन्धी १० प्रमुख प्रविधिको सूची सार्वजनिक गरिएको छ ।

चीनको सुचोउमा आयोजित ३३औँ चाइना सोसाइटी अफ अटोमोटिभ इन्जिनियर्स (चाइना-एसएई) को वार्षिक सम्मेलनमा इन्जिनियरहरूले यी प्रविधिबारे जानकारी दिएका हुन् ।

सूचीमा ४०० वाट आवर/केजी ऊर्जा घनत्व भएको सोलिड स्टेट ब्याट्री, गाडीबाट विद्युत् ग्रिडमा ऊर्जा पठाउने प्रविधि, म्याग्नेसियम मिश्रधातुबाट एउटै ढलाइमा बनाइने ठूला संरचनात्मक भाग, स्वचालित ट्रक, एआइ, धातुको थ्रीडी प्रिन्टिङ लगायत प्रविधि समावेस छन् ।

यी प्रविधिले ब्याट्रीको सुरक्षा, उर्जा भण्डारण क्षमता वृद्धि, सवारीको तौल घटाउने, स्वचालित ढुवानी, कृत्रिम बुद्धिमत्ता र उत्पादन प्रक्रियाको आधुनिकीकरणतर्फ अघि बढ्ने संकेत गर्छन् ।

चाइना–एसएईका उपमहासचिव झेङ यालीले यी प्रवृत्तिले सवारी साधनको कार्यक्षमता र लागतमा सुधार, नयाँ प्रविधिको व्यावसायिक उत्पादन, तिनको प्रयोगलाई व्यापक बनाउने दिशामा भइरहेको प्रगतिलाई देखाउने बताएका छन् ।

यस्ता छन् सन् २०२७ मा विकास हुने अटो प्रविधि

१. ४०० वाट आवर/केजी घनत्व भएको सोलिड स्टेट ब्याट्री : सन् २०२७ मा चीनमा विकास हुने अटो प्रविधि हो ४०० वाट आवर÷केजी उर्जा घनत्व भएका सोलिड स्टेट ब्याट्री । यो वर्ष यी ब्याट्रीको नमूना उत्पादनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

यस्ता ब्याट्रीमा प्रतिकिलोग्राम ४०० वाट आवर ऊर्जा भण्डारण गर्न सकिन्छ । परम्परागत ब्याट्रीको तुलनामा यस्ता ब्याट्रीले उच्च सुरक्षा र फराकिलो तापक्रम दायरामा काम गर्ने क्षमता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

चाइना एसएईका अनुसार आगामी वर्ष यस प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीहरूले सवारी साधनमै जडान गरेर यसको कार्यक्षमता र व्यावहारिक उपयोगिताको परीक्षण गर्नेछन् । हाल सीएटीएल, जिली, चेरी, बीवाइडी लगायत ब्राण्डले सोलिड स्टेट ब्याट्रीमा काम गरिरहेका छन् ।

२. माइक्रोकन्ट्रोलर युनिट : सन् २०२७ मा चीनमा स्केलेबल डिजाइनको साथ ओपन सोर्स आरआइएससी भी प्रोसेसर आर्किटेक्चरमा निर्माण गरिएका माइक्रोकन्ट्रोलर युनिटहरू ठूलो परिमाणमा उत्पादन हुने चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

यसले पावरट्रेन, ब्रेकिङ, ब्रेक र अन्य सुरक्षा प्रणाली नियन्त्रण गर्न आवश्यकता अनुसार फरक–फरक प्रणाली विकास गर्न सहज बनाउने छ । यो प्रविधिले आर्किटेक्चर इजाजतपत्रसँग काम गर्न पनि सजिलो बनाउनुका साथै प्रोसेसरको संरचना तथा प्रविधिको प्रयोग सम्बन्धी अनुमति व्यवस्थापन पनि सहज हुने अपेक्षा गरिएको छ ।

३. एकीकृत नियन्त्रण प्रविधि : सन् २०२७ मा विकास हुने तेस्रो प्रविधि सवारीसाधनको गति र चालसम्बन्धी विभिन्न प्रणालीलाई एकीकृत रूपमा नियन्त्रण गर्ने प्रणाली हो ।

यसले चालकले चाहेको चाल र सवारीसाधनले हासिल गर्न सक्ने कार्यक्षमता बीच समन्वय गर्नेछ । ब्रेक, स्टेयरिङ र अन्य नियन्त्रण प्रणालीलाई एउटै प्रणालीमार्फत समन्वय गरी संचालन गर्न सकिनेछ । यसबाट सवारीको नियन्त्रण क्षमता, स्थिरता र चालकले प्राप्त गर्ने अनुभवमा सुधार आउने अपेक्षा गरिएको छ ।

४. भीटुजी प्रविधि : चौथो प्रविधि भेहिकल–टु–ग्रिड (भीटुजी) रहेको छ । यस प्रविधिबाट विद्युतीय सवारी साधनमा भण्डारण गरिएको विद्युत् आवश्यक पर्दा विद्युत् ग्रिडमा पठाउन सकिन्छ । यसले विद्युत् ग्रिडबाट गाडीमा ऊर्जा भर्ने मात्र नभई गाडीबाट ग्रिडमा ऊर्जा फर्काउने सुविधा पनि दिन्छ ।

सन् २०२७ मा यो प्रविधिमार्फत दैनिक लाखौँ किलोवाटको स्तरमा विद्युत् ग्रिडको माग र आपूर्तिलाई सन्तुलित बनाउन सकिने अपेक्षा गरिएको छ । यसले विद्युत् प्रणालीको स्थिरता कायम राख्न, माग व्यवस्थापन र ग्रिडको विश्वसनीयता बढाउन सहयोग गर्नेछ ।

५. गाडीको तौल घटाउने प्रविधि : सन् २०२७ मा गाडीको तौल घटाउन म्याग्नेसियम मिश्रधातुबाट ठूला संरचनात्मक भाग एउटै ढलाइ प्रक्रियाबाट निर्माण गर्ने प्रविधि विकास हुने अपेक्षा छ ।

यसअघि केही अटो निर्माता कम्पनीहरूले इन्जिन, प्रसारण प्रणाली र अन्य भागमा म्याग्नेसियम मिश्रधातुको प्रयोग गर्दै आएका छन् । अब भने यसलाई गाडीको रियर फ्लोर सेक्सन र टेलगेट जस्ता ठूला भाग बनाउन प्रयोग गर्ने तयारी छ । ठूला कास्ट म्याग्नेसियम एलोय तत्वहरूले गाडीको तौल लगभग २० प्रतिशतले घटाउन मद्दत गर्नेछ । तौल घट्दा ऊर्जा खपत कम गर्न र ईभीको रेन्ज बढाउन पनि सहयोग पुग्न सक्छ ।

६. स्वचालित ट्रक फ्लिट विस्तार : सन् २०२७ मा चीनमा हजारौँ स्वचालित ट्रक सडकमा संचालन हुने गरी प्रदर्शन तथा परीक्षणका काम अघि बढ्ने अपेक्षा गरिएको छ । यस्ता ट्रकले चालकको प्रत्यक्ष नियन्त्रणबिना विभिन्न अवस्थामा मालसामान ढुवानी गर्न सक्नेछन् ।

चाइना एसएईका प्रतिनिधिहरूका अनुसार रेल संचालन क्षेत्र, खानी र बन्दरगाहजस्ता स्थानमा यस्ता ट्रकको प्रदर्शनात्मक संचालन सुरू गरिनेछ । यस प्रविधिले मालसामान ढुवानी क्षमता बढाइ प्रभावकारी बनाउन र यातायात क्षेत्रमा उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

७. इन–ह्वील डिजाइन : सन् २०२७ मा चीनमा गाडीको पाँग्रामै विद्युतीय मोटर जडान गर्ने ‘इन–ह्वील इलेक्ट्रिक ड्राइभ’ प्रविधि विकास हुने अपेक्षा छ। यो प्रविधिमा मोटरलाई गाडीको पाँग्रा भित्र वा पाँग्रासँग एकीकृत रूपमा जडान गरिन्छ ।

यसले परम्परागत प्रसारण प्रणालीका केही भागको आवश्यकता घटाएर गाडीको भित्रको ठाउँको प्रभावकारी उपयोग गर्न सहयोग पुर्याउँछ । जसबाट ऊर्जा प्रसारणको दक्षता बढाउन र पाँग्राको गति तथा बललाई छुट्टाछुट्टै नियन्त्रण गर्न सकिनेछ । साथै, यसले स्टेयरिङ र सवारीको दिशा नियन्त्रण क्षमतामा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

८. अन डिभाइस एआई : सन् २०२७ मा सवारी साधन भित्रै संचालन हुन सक्ने (अन डिभाइस) कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको विकास हुने अपेक्षा छ । ठूला परिमाणमा उत्पादन हुने गाडीमा १४ अर्ब प्यारामिटर भएका एआई मोडल प्रयोगमा आउने अपेक्षा गरिएको छ ।

यस्ता एआई मोडल गाडी भित्रै संचालन गर्न सकिने भएकाले सामान्य कामका लागि बाह्य क्लाउड सर्भर माथिको निर्भरता घटाउने छ । साथै, डेटा गोपनीयतालाई बढावा दिने, जटिल कार्यहरूको कार्यान्वयनमा पनि सुधार हुनेछ ।

९. कनेक्टेड एसिस्टेड ड्राइभिङ प्रणाली : अर्को वर्षसम्म चिनियाँ अटो निर्माताहरूले इन्टरनेट तथा क्लाउड प्रणालीसँग जोडिएका चालक सहायता प्रविधि लाई सीमित परिमाणमा उत्पादन हुने सवारीमै जडान गर्न सुरू गर्ने अपेक्षा छ । यस्ता प्रणालीले सवारी भित्रका सेन्सर, कम्प्युटर र क्लाउड प्रणालीबाट प्राप्त जानकारीको समन्वय गरेर चालकलाई सहयोग गर्नेछन् ।
यसबाट सडकको अवस्था पहिचान गर्न, सम्भावित जोखिमबारे जानकारी दिन र चालक सहायता प्रणालीको कार्यक्षमता सुधार गर्न सकिने छ।

१०. धातुको थ्रीडी प्रिन्टिङ प्रविधि : सन् २०२७ मा सवारी साधनमा धातुको थ्रीडी प्रिन्टिङ प्रविधि प्रयोग हुने अपेक्षा छ । यस प्रविधिबाट धातुका सामग्री प्रयोग गरी जटिल आकार र संरचनाका सवारीसाधनका भाग निर्माण गर्न सकिन्छ । यसले गाडीको संरचनात्मक डिजाइनलाई थप प्रभावकारी बनाउन, जटिल भाग उत्पादन गर्न र निर्माण प्रक्रियामा नयाँ सम्भावना सिर्जना गर्न सहयोग गर्नेछ ।


Back_to_top