युरोपमा जापानीलाई उछिन्दै अघि लागे चिनियाँ कार, कुन ब्राण्ड बलियो ?

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्डहरूले युरोपेली बजारमा पहिलोपटक एक त्रैमासिक अवधिमा जापानी प्रतिस्पर्धीलाई उछिनेका छन् । चीनका बीवाइडी र चेरी जस्ता कम्पनीले आफ्नो बिक्री तीव्र गतिमा विस्तार गरेसँगै जापानी उत्पादनलाई उछिन्न सफल भएका हुन् ।

बजार अनुसन्धान संस्था डाटाफोर्सका अनुसार, गत सेप्टेम्बरमा युरोपमा चिनियाँ ब्राण्डका कारहरूको दर्ता अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब दोब्बर भएको हो ।

अहिले युरोपमा चिनियाँ ब्राण्डको बजार हिस्सा १२.७ प्रतिशत पुगेको छ । जबकी जापानी ब्राण्डको हिस्सा भने ११.९ प्रतिशत छ । चिनियाँ ब्राण्डको बिक्रीमा हाइब्रिड गाडीको योगदान महत्वपूर्ण देखिएको छ ।

५ वर्षअघि युरोपेली बजारमा चिनियाँ ब्राण्डको हिस्सा करिब १ प्रतिशत मात्रै थियो । टोयोटा र निसानजस्ता जापानी कम्पनीले दशकौँदेखि युरोपमा आफ्नो बजार विस्तार गर्दै आएका थिए । तर, कम मूल्यमा नयाँ मोडल उपलब्ध गराउने र तीव्र गतिमा उत्पादन विस्तार गर्ने चिनियाँ कम्पनीले छोटो अवधिमै जापानी उत्पादनलाई ‘ओभर टेक’ गर्न सफल भएका हुन् ।

बेलायतमा चेरीको जेको-७ एसयूभी मार्च र सेप्टेम्बरमा सर्वाधिक बिक्री हुने मोडल बनेको थियो । यस्तै, बीवाइडी, चेरी र जिलीको जिकरले पेरिस मोटर शोमा नयाँ मोडल सार्वजनिक गरेका थिए ।

चिनियाँ गाडीको बढ्दो आयात नियन्त्रण गर्न युरोपेली संघ (ईयू) ले चीनमा उत्पादित विद्युतीय कारमा अतिरिक्त भन्सार शुल्क लगाइसकेको छ । हाइब्रिड कारको आयात नियन्त्रण गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

यसबीच, चिनियाँ कम्पनीहरूले युरोपमै उत्पादन सुरू गर्ने तयारी तीव्र पारेका छन् । चेरीले स्पेनको बार्सिलोनामा उत्पादन विस्तार गर्दैछ भने बीवाइडीले हंगेरीमा कार उत्पादन केन्द्र निर्माण गरिरहेको छ । लिपमोटरले पनि स्टेलान्टिससँगको सहकार्यमा स्पेनमा बी१० एसयूभी उत्पादन सुरू गरेको छ ।


Back_to_top