कात्तिक १५ देखि नागढुंगा सुरुङ प्रयोग गर्दा पैसा तिर्नुपर्ने, कुन सवारीले कति ?

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा कात्तिक १५ गतेदेखि उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार एक सूचना प्रकाशित गर्दै १५ गतेदेखि टोल शुल्क उठाइने जानकारी गराएको हो ।

गत साउन ११ गतेदेखि औपचारिक रूपमा संचालनमा आएको सुरुङमार्गमा हाल सवारी साधनलाई निःशुल्क प्रवेश दिइँदै आइएको थियो । अब भने प्रस्थान बिन्दुमा सवारी रोकेर शुल्क उठाइने भएको हो ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीको वर्ग अनुसार फरक फरक टोल शुल्क तिर्नुपर्छ । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीले डिजिटल माध्यममार्फत दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । सडक बोर्ड नेपालका अनुसार सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित स्टिकरका रूपमा एन-ट्यागको व्यवस्था गरिएको छ ।

सुरुङ प्रयोग गर्ने गाडीले भुक्तानीका लागि बैंकबाट एन ट्याग कार्ड लिनुपर्छ । हाल ग्लोबल आईएमई, कुमारी, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र सानीमा बैंकबाट एट ट्याग कार्ग लिन पाइन्छ । हाललाई १ हजार, २ हजार र ५ हजार नगदको एन(ट्याग लिने व्यवस्था गरिएको छ ।

उक्त एनट्याग कार्डको स्टिकर गाडीको सिसामा टाँस्नुपर्छ । जसलाई मेसिनले अटोमेटिक रिड गर्छ । र, कार्डबाट अनलाइन भुक्तानी हुन्छ । यद्यपि, सुरूआती केही समय क्यूआर र नगदबाट पनि भुक्तानीको व्यवस्था मिलाइने छ । सुरुङमार्गबाट उठेको दस्तुर दैनिक सडक बोर्ड नेपालमा खातामा जम्मा हुनेछ ।

 


Back_to_top