काठमाडैं । चिनियाँ अटो निर्माता चेरीको ज्वाइन्ट भेन्चर कम्पनी इलेक्ट्रीक मोबिलिटी टेक्नोलोजी (ईएमटी)ले जापानी बजारलाई लक्षित नयाँ ‘के कार’ ल्याउने भएको छ ।
कम्पनीले सन् २०२७ मा जापानमा नयाँ ‘इम्टा ईभी’ के कार सार्वजनिक गर्ने भएको हो ।ईएमटी सिंगापुरमा आधारित अटोमोबाइल ब्राण्ड हो ।यसमा चेरी अटोमोबाइल, जियाङ्सु युएदा अटोमोबाइल ग्रुप, अटोब्याक्स सेभेन, गोसन र एनेस्ट इवाटा गरी पाँच कम्पनीको संयुक्त लगानी छ ।
कम्पनीले इम्टा ईभीको पेटेन्ट समेत दर्ता गरिसकेको छ । हालै सार्वजनिक भएका पेटेन्ट तस्बिरहरूले यो माइक्रोकारको बाहिरी बनावट र यसको आउटडोर ‘सफ्टरोडर’ भेरियन्टबारे जानकारी दिएका छन् । यसले जापानी बजारमा निसान, सुजुकी र बीवाइडीको के कारसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
इम्टा ईभीको डिजाइन अग्लो र बाक्लो बनावटको छ । यसको पछाडिको ढोकाको तल्लो भागमा ‘३०१’ लेखिएको छ । यसअघि सार्वजनिक गरिएको कन्सेप्ट डिजाइनको तुलनामा पेटेन्ट तस्बिरमा देखिएको कारको बाहिरी बनावटमा केही महत्त्वपूर्ण परिवर्तन गरिएको छ ।
कारको अगाडिको भागमा ठूलो परिवर्तन देखिन्छ । कन्सेप्ट मोडलमा रहेको बाहिर निस्किएको बम्परको सट्टा अब माथिल्लो र तल्लो भागमा ग्रिल राखिएको छ । तल्लो भागमा फग लाइटसमेत देख्न सकिन्छ । अगाडिका बत्ती र ग्रिललाई हुडको रेखामुनि राखिएको छ । कालो रङको ग्रिलको बीचको भागलाई साँघुरो बनाइएको छ ।
यसअघि सार्वजनिक गरिएको कन्सेप्ट मोडलमा पाँग्राहरू गाडीको कुनासम्म फैलिएका थिए । तर, नयाँ डिजाइनमा पाँग्रालाई भित्रतिर राखिएको छ । गाडीको साइजलाई जापानको के कारसम्बन्धी कानुनी आकारको सीमाभित्र रहने गरी तयार गरिएको देखिन्छ ।
यसको छेउको भागमा पनि परिवर्तन गरिएको छ । यसमा परम्परागत शैलीका डोर ह्याण्डल राखिएका छन् । पछाडिका ढोकाका ह्याण्डल बी–पिलर नजिकै छन् । पछाडिका ढोकामा स्लाइडिङ प्रणाली प्रयोग गरिएको संकेत पनि देखिन्छ । जापानका के कारमा यस्तो ढोका लोकप्रिय विशेषताका रूपमा परिचित छ ।
पछाडिको भागमा अगाडिका बत्तीसँग मेल खाने गरी लामो लाइट बार राखिएको छ । पछाडिका बत्तीको बीचमा र नम्बर प्लेट राख्ने ठाउँभन्दा माथि एउटा छुट्टै प्यानल देखिन्छ । यो प्यानलमा आफूले चाहेको सन्देश देखाउन मिल्ने एलईडी डिस्प्ले हुन सक्ने वा सजावटका लागि मात्र राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
पेटेन्ट तस्बिरमा इम्टा ईभीको अर्को नयाँ संस्करण पनि देखिएको छ । यो संस्करणलाई अफरोड शैलीमा तयार गरिएको छ । यसको बाहिरी भागमा कालो प्लास्टिकका सुरक्षा आवरण थपिएका छन् । अगाडिको बम्परको डिजाइन पनि परिवर्तन गरिएको छ । जसले गाडीलाई बलियो र अफरोडका लागि तयार देखाउँछ ।
यद्यपि, यस्तो संस्करणमा गरिने परिवर्तन मुख्यतः बाहिरी बनावटमा सीमित हुन सक्ने अनुमान छ । यसमा अलि अग्ला टायर र जमिनबाट गाडीको उचाइ केही बढाउने व्यवस्था हुन सक्ने सम्भावना छ ।
कम्पनीले हालसम्म इम्टा ईभीको मोटर, ब्याट्री क्षमता, रेन्ज र अन्य प्राविधिक विवरण सार्वजनिक गरेको छैन । तर, अफरोड शैलीको संस्करणमा अल ह्वील ड्राइभ प्रणाली राख्न सक्ने सम्भावना छ ।
कम्पनीका अनुसार इम्टा ईभीको डिजाइन जापानी टोलीले तयार पारेको हो । उक्त टोलीका सदस्यहरूसँग होण्डा र माज्दा जस्ता कम्पनीमा काम गरेको अनुभव छ ।
ईएमटीले इम्टा ईभीपछि थप तीनवटा मोडल बजारमा ल्याउने योजना बनाएको छ । तीमध्ये ह्याचब्याक, एसयूभी र एमपीभी रहेका छन् । कम्पनीले व्यावसायिक सफलता हासिल गरेमा सन् २०३० पछि जापानमै गाडी उत्पादन गर्ने योजना पनि बनाएको छ ।

