हुन्डाई क्रेटाभन्दा कति फरक छ बायोन ?

काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईले आफ्नो बुहुप्रतिक्षित नयाँ मिडसाइज एसयूभी बायोन भारतीय बजारमा सार्वजनिक गरेको छ ।

हुन्डाईले बायोनलाई आफ्नो लाइनअपमा भेन्यू र क्रेटाको बीचमा राखेर रणनीतिक रूपमा बजारमा ल्याएको हो । यसको मूल्य भेन्युभन्दा महँगो र क्रेटाभन्दा सस्तो छ । यसले कम्प्याक्ट र मिड साइज एसयूभी सेग्मेन्टमा अर्को नयाँ विकल्प थपेको छ ।

क्रसओभर एसयूभी प्रोफाइल, बोल्ड डिजाइन, आधुनिक इन्टेरियर, आधुनिक प्रविधिका हिसाबले बायोन विल्कुलै नयाँ र आकर्षक विकल्प हो ।

हुन्डाई बायोन चाँडै नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बायोन नेपाल ल्याउने आवश्यक तयारी थालिसकेको छ ।

हुन्डाईको लाइनअपमा क्रेटाभन्दा तल रहे पनि यसमा क्रेटामा रहेका धेरै फिचर र सुविधा पाइन्छ । नयाँ मोडल भएकाले यसमा क्रेटामाभन्दा केही बढी र नयाँ आधुनिक फिचर उपलब्ध छन् । यद्यपि, हुन्डाईकै उत्पादन र लाइनअपमा तल्लो श्रेणीमा रहेकाले यसको प्रतिस्पर्धा क्रेटासँग हुँदैन । यहाँ हामीले हुन्डाई क्रेटाभन्दा नयाँ एसयूभी बायोन कति फरक छ भन्ने चर्चा गरेका छौं ।

इन्जिन : बायोन एउटा मात्र इन्जिन विकल्पमा उपलब्ध छ । क्रेटामा डिजेल इन्जिन र पावरफुल टर्बो पेट्रोल इन्जिन सहित ३ विकल्प पाइन्छ । बायोनमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिण्डर पेट्रोल इन्जिन छ । जसले अधिकतम शक्ति ११५ पीएस तथा १४४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र आईभीटी गियरबक्स विकल्प उपलब्ध छ ।

क्रेटामा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड, १.५ लिटर टर्बो चार्ज्ड र १.५ सीआरडीआइ डिजेल इन्जिन अप्सनमा उपलब्ध छ । यसको टर्बो चार्ज्ड इन्जिन निकै शक्तिशाली छ । जसले १६० पीएस पावर प्रदान गर्छ । क्रेटामा ६ स्पीड म्यानुअल, आइभीटी, अटोमेटिक र ७ स्पीड डीसीटी गरी ४ गियरबक्स विकल्प उपलब्ध छ ।

साइज : माथिल्लो श्रेणीको भए पनि साइजमा क्रेटा थोरै मात्र ठूलो छ । क्रेटाको लम्बाइ ४३३० एमएम, चौडाइ १७९० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६१० एमएम छ । बायोनको लम्बाइ ४२४५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १६०५ एमएम र ह्वील बेस २६०० एमएम छ ।

समग्रमा बायोनभन्दा क्रेटा ८५ एमएम लामो, ३० एमएम अग्लो र ह्वीलबेस १० एमएम लामो छ । चौडाइ भने बायोनको क्रेटाभन्दा २० एमएम फराकिलो छ । बायोनको लम्बाइ कम भएकाले पार्किङ र साँघुरा ठाउँमा चलाउन केही सहज हुन सक्छ ।

ग्राउण्ड क्लियरेन्स : ग्राउण्ड क्लियरेन्समा बायोन अगाडि छ । क्रेटामा १९० एमएम र बायोनमा २०५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । बायोन १५ एमएम बढी ग्राउण्ड क्लियरेन्स पाइन्छ । जुन नेपालको जस्तो भौगोलिक अवस्था, कच्ची र अफरोड सडकका लागि निकै उपयुक्त हुन्छ ।

बुट स्पेस : तल्लो श्रेणीको भए पनि बायोनको बुटस्पेस क्रेटाकोभन्दा ७२ लिटर धेरै छ । क्रेटामा ४३३ लिटरको बुटस्पेस छ भने बायोनमा ५०५ लिटरको ठूलो ठाउँ पाइन्छ ।

ड्राइभिङ मोड : बायोनमा नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोड उपलब्ध छ । क्रेटामा बायोनमा भएकासहित थप ट्रयाक्सन मोड उपलब्ध छ ।

क्याबिन फिचर : बायोनमा एनभिडियाको सीसीएनसी इन्टरफेस चल्ने दुई वटा कर्भ्ड डिस्प्ले छ । यसमा १२.३ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल रहेको छ । यी स्क्रीन क्रेटामा रहेकोभन्दा ठूला हुन् । यसमा ५०० भन्दा बढी अफलाइन भ्वाइस कमाण्डहरूसहित जेनेरेटिभ एआइ भ्वाइस असिस्टेन्ट (साउण्डहाउस र प्रप्लेक्सिटीद्वारा सञ्चालित) उपलब्ध छ । साथै यसमा प्यानोरामिक सनरुफ, भेन्टिलेटेड अगाडिका सिटहरू, ८ स्पीकर भएको बोस अडियो सिस्टम, ड्युअल टोन फिनिस, टु स्पोक म्डीकर्ट स्टेयरिङ ह्वील, पछाडिका यात्रुका लागि २ स्टेप रिफाइनमेन्ट सिट, आधुनिक कनेक्टेड कार डिजाइन छ ।

क्रेटामा १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट र इन्स्ट्रुमेन्ट कन्सोल छ । यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, ८ तर्फ पावर भएको ड्राइभर सिट, भेन्टिलेटेड अगाडिका सिटहरू, अगाडिको यात्रुका लागि पावर सिट, चालकको सिटमा मेमोरी सुविधा, डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पछाडिका यात्रुका लागि वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर, चिस्याउने ग्लोभ बक्स र पछाडिको सनशेड लगायत सुविधा छन् ।

सेफ्टी फिचर : दुवैमा ६ वटा एयर ब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइण्ड स्पट भ्यू मनिटर, अगाडि र पछाडि पार्किङ सेन्सर, टायर प्रेसर मनिटरिङ, इलेक्टोनिक स्टेबिलिटी कन्टोल, चारपाँग्रामै डिस्क ब्रेक, हिल स्टार्ट असिस्ट लगायत फिचर छन् । तर, बायोनमा क्रेटाकोभन्दा उन्नत लेभल २ प्रो एडास छ भने क्रेटामा ड्यासक्याम उपलब्ध छ ।

के छ नयाँ ?

समग्रमा बायोनमा क्रेटाकोभन्दा ठूलो १२.३ इन्चको कर्भ्ड डिस्प्ले, जेनेरेटिभ एआइ भ्वाइस असिस्टेन्ट, २३ सुविधा भएको लेभल २ प्रो एडास, १९ कन्टोलरसम्म ओटीए अपडेट, २ स्टेप एडजस्टेबल रियर सिट, २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स जस्ता थप सुविधा पाइन्छ ।


Back_to_top