४४० सीसीमा नयाँ क्रुजर मोटरसाइकल ल्याउँदै हार्ले डेभिडसन

काठमाडौं । अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले भारतीय बजारमा आफ्नो ४४० सीसी मोटरसाइकल सिरिज विस्तार गर्ने भएको छ ।

यसै क्रममा हार्लेले भारतमा आफ्नो नयाँ मोडल स्प्रिन्ट ४४० मोटरसाइकल लन्च गर्ने तयारी थालेको हो । हार्लेको नयाँ स्प्रिन्ट ४४० मोटरसाइकल भारतको डिलरमा क्यामोफ्लाज बिनै देखिएको छ ।

पछिल्लो समय सार्वजनिक भएका तस्बिरमा यो मोटरसाइकल डिलरशिपमा पुग्न थालेको देखिएको हो । रिपोर्टअनुसार यसलाई आगामी डिसेम्बर महिना वा सन् २०२७ को सुरूवातमा बजारमा सार्वजनिक गर्न सकिने सम्भावना छ ।

नयाँ स्प्रिन्ट ४४० को डिजाइन हाल बजारमा उपलब्ध हार्ले एक्स ४४० भन्दा फरक देखिन्छ । यो मोटरसाइकल रोडस्टरभन्दा बढी क्रुजर शैलीमा तयार गरिएको छ । यसको नयाँ फ्युल ट्याङ्की, आरामदायी देखिने सिट र पछाडितर्फ मोडिएका ह्याण्डलबारले यसलाई आकर्षक लुक दिएको छ । मोटरसाइकलको धेरैजसो भागमा ब्ल्याक फिनिस प्रयोग गरिएको छ ।

मोटरसाइकलको अगाडिको भागमा गोलो हेडलाइट र त्यसको वरिपरि चम्किलो ट्रिम दिइएको छ । यसमा छुट्टाछुट्टै टर्न इण्डिकेटर र कम्प्याक्ट फ्रन्ट मडगार्ड रहेको छ । ठूलो विन्डस्क्रीन नदिइएकाले यसको अगाडिको डिजाइन सरल देखिन्छ ।

यसको ह्वीलबेस एक्स ४४० भन्दा लामो देखिएको छ भने रेक एंगलमा पनि परिवर्तन गरिएको अनुमान छ । फुटपेगहरू केही अगाडि राखिएका छन्, जसले क्रुजर शैलीको राइडिङ पोजिसन प्रदान गर्न सक्छ ।

स्प्रिन्टमा राइडरको दिशातर्फ झुकाइएको गोलो इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । सस्पेन्सनतर्फ अगाडि यूएसडी फोर्क र पछाडि ट्विन शक अब्जर्बार दिइएको देखिन्छ । यसमा अलोय ह्वीलका साथै अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेक राखिएको छ । अगाडिको पाङ्ग्रामा एबीएस सेन्सर रिङ पनि देखिएको छ ।

यद्यपि, एबीएसको विस्तृत सेटअप, सुरक्षा फिचर र अन्य उपकरण सम्बन्धी जानकारी सार्वजनिक हुन बाँकी छ । स्प्रिन्टमा ४४० सीसीको, सिंगल सिलिण्डर, एयर-आयल कुल्ड इन्जिन दिइने अनुमान गरिएको छ । जुन एक्स ४४० मा प्रयोग भइरहेको छ । यो इन्जिनले अधिकतम २७ बीएचपी र ३८ एनएम टर्क उत्पादन गर्छ । तर, नयाँ स्प्रिन्टका लागि इन्जिनको पावर, टर्क, गियरिङ वा ट्युनिङमा परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।

यसको आधिकारिक मूल्य, भेरियन्ट, बुकिङ र बिक्री सुरू हुने मितिबारे कम्पनीबाट अन्तिम घोषणा हुन बाँकी छ ।


Back_to_top