गम्भीर दुर्घटनापछि आगलागी हुँदा पनि ईभीको ब्याट्री सुरक्षित

काठमाडौं । पछिल्लो समय विश्वभर विद्युतीय सवारीको प्रयोग बढेसँगै गाडीमा आगलागीका घट्ना पनि बढ्न थालेका छन् । ईभीमा विभिन्न कारणले आगलागी हुने गरे पनि अधिकांश घटनामा ब्याट्रीलाई दोष दिइँदै आइएको देखिन्छ ।

अर्थात् ब्याट्रीकै कारण ईभीमा आगलागी हुन्छ भन्ने गलत भाष्य समेत बनेको छ । यद्यपि, केही घटनामा ब्याट्रीकै कारण आगलागी भएको पनि पाइएको छ ।

तर, केही दुर्घटनामा भने गाडी पूरै जल्दा पनि ब्याट्री सुरक्षित रहेको पाइएको छ । यसैको पछिल्लो उदाहरण हो, चीनमा भएको एउटा घटना । अक्टोबर २८ (बुधबार) चीनको ताइजोउ शहरमा भएको एक भीषण सवारी दुर्घटनामा ईभीको ब्याट्री सुरक्षित रहेको हो ।

डोङफेङ र ह्वावे कियानकुनको संयुक्त साझेदारीमा निर्माण भएको नयाँ फ्ल्यागसिप एसयूभी एपिकल्याण्ड एक्स ९ दुर्घटना भई आगलागी हुँदा ब्याट्री भने सुरक्षित रहेको हो ।

एपिकल्याण्ड ब्राण्डका प्रमुख कार्यकारी जेङ सिङलिनका अनुसार एक्स ९ गाडी सडकमा पूर्ण रूपमा रोकिएको अवस्थामा पछाडिबाट तीव्र गतिमा आइरहेको पूर्ण लोडयुक्त डम्प ट्रकले जोडले ठक्कर दिएको थियो।

ठक्करपछि ट्राफिक प्रहरीको पर्खाइमा रहँदा गाडीको पछाडिको भागबाट धुवाँ निस्किएर आगो सल्केको थियो । दमकल तथा आपतकालीन उद्धार टोलीले आगो नियन्त्रणमा लिएपछि गरिएको प्राविधिक निरीक्षणमा गाडीको मुख्य विद्युतीय ब्याट्री सुरक्षित रहेको र त्यसमा आगो नलागेको पाइएको कम्पनीले जनाएको छ ।

दुर्घटनाका बेला गाडीमा सवार तीनै जना सुरक्षित रहेका थिए । गाडीका ढोकाले सामान्य रूपमा काम गरेकाले यात्रुहरू समयमै बाहिर निस्केर सुरक्षित स्थानमा जान सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रारम्भिक जानकारी अनुसार आगलागी विद्युतीय ब्याट्रीबाट नभई गाडीको इन्धन प्रणालीसँग सम्बन्धित आन्तरिक दहन इन्जिनका भागबाट सुरु भएको थियो ।

भीषण ठक्कर र आगलागीका बाबजुद पनि ब्याट्रीमा आगो नलग्नु र विस्फोट नहुनुले गाडीको संरचनात्मक तथा तापीय सुरक्षा डिजाइन उच्च स्तरको रहेको प्रमाणित गरेको कम्पनीको भनाइ छ । यद्यपि, एउटा घटनाका आधारमा गाडीको समग्र सुरक्षा क्षमताको अन्तिम निष्कर्ष निकाल्न भने थप प्राविधिक परीक्षण आवश्यक हुन्छ ।

एपिकल्याण्ड एक्स ९ ईआरईभी गत सेप्टेम्बर २४ मा मात्रै लन्च भएको ६ सिटे प्रिमियम इन्टेलिजेन्ट एसयूभी हो । करिब ४१ हजार ८०० देखि ५३ हजार ७०० अमेरिकी डलर सम्मको प्रवद्र्धनात्मक मूल्यमा बजारमा ल्याइएको यस गाडीले पहिलो २४ घण्टामै ९,१५७ भन्दा बढी फर्म अर्डर पाएको थियो ।


Back_to_top