बालेनको चुनावी एजेन्डामा परेको सडक कालोपत्र गरिँदै, १.२३ अर्बमा ठेक्का अघि बढ्यो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी एजेन्डा समेत बनेको दमक-चिसापानी सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढको छ ।

झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक-चिसापानी सडकअन्तर्गत माङ्सेबुङ-लारुम्बा-चिसापानी खण्डको कालोपत्र गर्न ठेक्का प्रक्रिया अघि बढेको हो ।

पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र रहेको यस सडक खण्डको नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको हो । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यसलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

सडक डिभिजन दमकले प्रकाशित गरेको सूचना अनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्यांकन सम्पन्न गरी ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी गरिएको छ । उक्त ठेक्काका लागि महालक्ष्मी-जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसा कबोल रकमको बोलपत्र प्रारम्भिक रूपमा छनोट भएको छ ।

यो सडक खण्डको करिब २५.५ किलोमिटर सडक ३ वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित २०७६ फागुनमा ठेक्का सम्झौता गरिएको थियो । तर, मन्त्रालयले पटक-पटक ताकेता, पत्राचार तथा सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सम्झौता अनुसार ठेक्का अन्त्य गरिएको थियो।

ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो।

ठेक्का अन्त्य गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेपछि कानुनी निरूपणका कारण नयाँ ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भएको थियो । कानुनी प्रक्रिया तथा विभिन्न विवादको समाधान, स्रोत सहमति, लागत अनुमान र डिजाइन अद्यावधिक गर्ने कार्य सम्पन्न गरी पुनः ठेक्का आह्वान गरिएको मन्त्री लम्सालले बताएका छन्।

नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएसँगै लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको यस सडक खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको छ। स्थानीयवासीका लागि वर्षौँदेखि सास्तीको विषय बनेको यो सडक राजनीतिक दलका चुनावी एजेन्डामा समेत पटक–पटक समेटिँदै आएको थियो।

सरकारले प्रतिबद्धताअनुसार सडक निर्माण प्रक्रियालाई अघि बढाएको उल्लेख गर्दै मन्त्री लम्सालले लामो समयदेखि अलपत्र आयोजनालाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया पूरा गरिएको बताएका छन् । अब ठेक्का स्वीकृति तथा निर्माण सम्बन्धी बाँकी प्रक्रिया पूरा भएपछि सडक स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ।


Back_to_top