काठमाडौं । हुन्डाईले आगामी २०२७ जनवरीमा बजारमा ल्याउन लागेको इलेक्ट्रीक एसयूभीको नाम ‘आयोनिक–पी’ राख्ने दाबी गरिएकाे छ । अटोकार इन्डियाले हुन्डाईकाे नयाँ इलेक्ट्रीक एसयूभी सम्बन्धी एक रिपोर्ट लेख्दै नाम आयोनिक-पी हुनसक्ने दाबी गरेको हो ।
हुन्डाईको चर्चित आयोनिक ब्राण्डलाई थप सस्तो र आम उपभोक्ताको पहुँचमा विस्तार गर्ने रणनीति अनुसार आयोनिक-पी नामलाई लिइएको हुन सक्छ । दक्षिण कोरियाली कार निर्माता हुन्डाईले भारतमा उत्पादन गर्ने नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी यसअघि देखि नै परीक्षणको क्रममा देखिँदै आएको थियो ।
हुन्डाईले अक्टोबर २९ मा सम्पन्न सन् २०२६ को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भारतका लागि आफ्नो उत्पादन योजनाबारे जानकारी दिएको हो । कम्पनीले बायोनपछि आयोनिक-पी बजारमा ल्याउने जनाएको छ । यसको औपचारिक नाम भने हुन्डाई मोटर इन्डियाले पुष्टि गरिसकेको छैन ।
यो एसयूभी सन् २०२७ को जनवरीमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । ई-जीएमपी (के) प्लेटफर्ममा आधारित हुने यसमा ४२ र ४९ किलोवाट आवरका दुई ब्याट्री विकल्प रहन सक्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुन्डाई इन्स्टरमा पनि यही क्षमताका ब्याट्री प्रयोग गरिएको छ । यसले ३५५ किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज दिन्छ ।
आयोनिक पीमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम र लेभल-२ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध हुने अपेक्षा छ । भारतमै उत्पादन हुने यो एसयूभीले टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी र किया सिरोस ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालमा कस्तो होला सम्भावना ?
नेपालमा पनि यसको सम्भावना मूल्य र फिचरमा निर्भर हुनेछ । विशेषगरी टाटा नेक्सन ईभी, किया सिरोस ईभी, बीवाइडीका विभिन्न मोडल तथा चिनियाँ ब्राण्डका प्रतिस्पर्धी उत्पादनबीच आयोनिक पीले आफ्नो स्थान बनाउन मूल्य प्रतिस्पर्धी हुनुपर्नेछ ।
हुन्डाईको बलियो बिक्री तथा सर्भिस नेटवर्क यसको मुख्य प्रतिस्पर्धात्मक आधार बन्न सक्छ । तर, नेपाली बजारमा चिनियाँ ब्राण्डले आकर्षक मूल्य, लामो रेन्ज र आधुनिक प्रविधिसहित उपभोक्तालाई आकर्षित गरिरहेका छन् ।
त्यसैले लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक पीलाई प्रतिस्पर्धी मूल्य, उपयुक्त ब्याट्री विकल्प र आकर्षक टेक्नोलोजी भएको गाडी बजारमा प्रस्तुत गर्न सके मात्रै यसले ईभी सेग्मेन्टमा बलियो उपस्थिति बनाउन सक्नेछ ।

