काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीका चेयरम्यान तथा प्रेसिडेन्ट यिन तोङयुएले मलेसियामा आफ्नो गाडीको गुणस्तरमाथि प्रश्न उठेपछि सार्वजनिक रूपमा माफी मागेका छन् ।
चेरीको ओमोडा ५ कारको पछाडिको एक्सल नै गाडीसँगबाट छुट्टिएपछि मलेसियामा सुरक्षा चिन्ता ब्यक्त भएको थियो । उक्त घटनापछि त्यहाँको सडक यातायात विभागले अनुसन्धान सुरु गर्दै ८ हजार ८७८ वटा ओमोडा ५ कारलाई समेटेर रिकलबारे सूचना जारी गरेको हो ।
अक्टोबर ६ मा जोहोर बारुमा भएको घटनामा ओमोडा ५ को पछाडिको सस्पेन्सन एसेम्बली र पाङ्ग्राहरू गाडीको बडीबाट अलग भएका थिए । त्यसपछि अक्टोबर ११ मा सरकारी निकायले ओमोडा ५ को नयाँ दर्ताका लागि आवश्यक भेहिकल टाइप अप्रुभल अस्थायी रूपमा रोक्दै अनुसन्धान अघि बढाएको थियो ।
अक्टोबर २१ मा बेइजिङमा आयोजित वल्र्ड इन्टेलिजेन्ट कनेक्टेड भेहिकल्स कन्फ्रेन्समा बोल्दै अध्यक्ष यिनले मलेसियाका लगानी, व्यापार तथा उद्योगमन्त्रीसँग माफी मागेको जानकारी दिएका थिए ।
उनले चिनियाँ अटोमोबाइल कम्पनीहरूलाई विदेशमा विस्तार हुँदा स्थानीय कानुन, नियम र व्यावसायिक अभ्यासको सम्मान गर्न आग्रह गरे । विदेशमा छोटो समयमै नाफा कमाउनेभन्दा दीर्घकालीन रूपमा बजारमा स्थापित हुनुपर्ने उनको भनाइ थियो ।

रिकलमा समेटिएका ८ हजार ८७८ वटा कार सबैमा समस्या पुष्टि भएको भने होइन । चेरी मलेसियाले प्रभावित गाडीको जाँच गरी आवश्यक परे सम्बन्धित पाट्र्स निःशुल्क परिवर्तन गर्ने जनाएको छ ।
यसअघि सन् २०२४ मा पनि ६०० वटा ओमोडा ५ मा पछाडिको एक्सलसम्बन्धी समस्या देखिएपछि निरीक्षण अभियान चलाइएको थियो । तर, पछिल्लो घटनाको वास्तविक कारण भने अनुसन्धानकै क्रममा छ ।

