होण्डाले ल्यायो इनलाइन फोर सिलिण्डर इन्जिन भएकाे नयाँ स्पोर्टस् बाइक

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता होण्डाले ५०० सीसीको नयाँ मिडलवेट स्पोर्टस् मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले विश्व बजारमा नयाँ ५०० सीसी क्षमताको सीबीआर ५०० आर मोटरसाइकल सार्वजनिक गरेको हो ।

होण्डाको सीबीआर ५०० आर मोटरसाइकलको मुख्य विशेषता यसको ५०२ सीसी क्षमताको इनलाइन फोर सिलिण्डर इन्जिन हो । डबल ओभरहेड क्यामसाफ्ट डीओएचसी प्रविधियुक्त यो इन्जिनले अधिकतम ७२.०६ पीएस पावर तथा ४७.४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिन १२ हजार ५०० आरपीएमसम्म घुम्न सक्छ । यो होण्डाको नयाँ इन्जिन प्लेटफर्म हो ।

५०० सीसी सेग्मेन्टका अधिकांश मोटरसाइकलमा सिंगल वा ट्विन सिलिण्डर इन्जिन प्रयोग हुने भएकाले होण्डाको नयाँ मोडलले फरक पहिचान बनाउने कम्पनीले जनाएको छ ।

नयाँ मोटरसाइकलमा आधुनिक प्रविधि, स्पोर्टी डिजाइन र आकर्षक फिचर समावेश गरिएको छ । यसमा होण्डाको ई–क्लच प्रविधि स्ट्याण्डर्ड रूपमा उपलब्ध गरिएको छ । यसले क्लच लिभर प्रयोग नगरी मोटरसाइकल स्टार्ट गर्न, रोक्न र गियर परिवर्तन गर्न सुविधा दिन्छ । आवश्यक पर्दा चालकले परम्परागत तरिकाले क्लच प्रयोग गरेर पनि मोटरसाइकल चलाउन सक्छन् ।

कम्पनीका अनुसार इन्जिनमा फराकिलो पावर ब्याण्ड उपलब्ध भएकाले सामान्य सवारीदेखि स्पोर्टी राइडिङसम्म सहज अनुभव प्राप्त गर्न सकिनेछ ।नयाँ स्टिल डायमण्ड शैलीको फ्रेम प्रयोग गरिएको मोटरसाइकलमा अगाडि केवाईबीको अपसाइड डाउन यूएसडी फोर्क र पछाडि प्रिलोड एड्जस्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन, ब्रेकिङका लागि अगाडि डुअल डिस्क र पछाडि सिंगल डिस्क ब्रेक र अलोय ह्वील दिइएको छ ।

सीबीआर ५००आरको डिजाइनमा होण्डाका ठूला क्षमताका स्पोर्टस् मोटरसाइकलबाट प्रेरणा लिइएको छ । यसको अगाडिको भाग तीखो र आक्रामक देखिन्छ, जसले मोटरसाइकललाई ठूलो क्षमताको स्पोर्टस् बाइकजस्तो लुक दिएको छ ।

टेक फिचरतर्फ मोटरसाइकलमा ५ इन्चको टीएफटी डिस्प्ले दिइएको छ । यसमा होण्डा रोडसिंक कनेक्टिभिटी उपलब्ध छ, जसले ब्लुटुथ, कल तथा एसएमएस अलर्ट र नेभिगेसनजस्ता सुविधा दिन्छ ।

त्यस्तै, राइड–बाइ–वायर थ्रोटलसँगै तीनवटा प्रिसेट राइड मोड र दुईवटा आफूअनुकूल सेट गर्न मिल्ने मोड उपलब्ध छ । राइड मोडअनुसार इन्जिनको पावर डेलिभरी परिवर्तन गर्न सकिन्छ । यसमा यूएसबी टाइप–सी चार्जिङ पोर्ट, डुअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल पनि स्ट्याण्डर्ड रूपमा दिइएको छ ।


Back_to_top