काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना (असोज)मा मात्रै ५ हजार बढी कार, जीप, भ्यान आयात भएको छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोजमा कुल ५ हजार ५७ युनिट कार, जीप, भ्यान आयात भएको हो ।
यो विद्युतीय, डिजेल, पेट्रोल र हाइब्रिड सबै कारको संख्या हो । विभागका अनुसार ३८०२ युनिट ईभी, १०८३ युनिट पेट्रोल, ८४ युनिट डिजेल, ९ युनिट पेट्रोल हाइब्रिड र १३७ युनिट अन्य सवारी आयात भएका हुन् ।
व्यवसायीहरूले गत नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ गरेकालाई डेलिभरी दिन ठूलो संख्यामा कार आयात गरेका हुन् । साथैं, दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी धेरै गाडी ल्याएका हुन् ।
असोजमा कुल ९ अर्ब ४७ करोड रुपैयाँ बराबरको चारपाँग्रे यात्रुवाहक कार, जीप, भ्यान आयात भएको हो । यसबाट सरकारले कुल ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
असोजमा सबैभन्दा धेरै विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । यो महिना ८ अर्ब ३५ करोड रुपैयाँ बराबरको ३८०२ युनिट विद्युतीय कार, जीप भ्यान आयात भएको छ । यसबाट सरकारले ४ अर्ब ८७ करोड राजस्व प्राप्त गरेको छ ।
त्यस्तै, असोजमा ७९ करोड रुपैयाँ बराबरको १०८३ युनिट पेट्रोल इन्जिन भएका कार आयात भएको छ । त्यसैगरी, यो महिना साढे १८ करोड रुपैयाँ बराबरको ८४ वटा डिजेल कार आयात भएको छ । यसबाट राज्यले ५४ करोड राजस्व पाएको छ ।
असोजमा ३ करोड ७८ लाख रुपैयाँ बराबरको ९ युनिट हाइब्रिड कार आयत भएको छ । ११ करोड ५९ लाख रुपैयाँ बराबरको १३७ युनिट अन्य कार, जीप र भ्यान आयात भएको विभागको तथ्यांक छ ।

