दीपलको अनौठो आविष्कार, अब कारभित्रै ‘फुट बाथ’ सुविधा

काठमाडौं । चिनियाँ अटो निर्माताहरूले कार भित्र विभिन्न अनौठो सुविधा उपलब्ध गराउँदै आएका छन् । यसैक्रममा, चांगानको विद्युतीय सवारी ब्राण्ड दीपलले कारभित्रै खुट्टा डुबाएर आराम गर्न मिल्ने टब (फुट बाथ) सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीले कार भित्रै फुट बाथ भएको कारको पेटेन्ट दर्ता गराएको हो । चीनमा खुट्टा डुबाएर आराम गर्ने सुविधा निकै लोकप्रिय मानिन्छ । यसअघि सेरेसले कारभित्रै शौचालय जडान गर्ने प्रविधिको पेटेन्ट दर्ता गराएको थियो ।

पेटेन्ट (आवेदन नम्बर सीएन १२२८७३८५८ ए) अनुसार यो प्रणालीमा खुट्टा डुबाउने टब र त्यसलाई गाडीको बडीसँग जोड्ने तन्काउन र खुम्च्याउन मिल्ने संयन्त्र समावेश छ । प्रयोग नगरेको अवस्थामा उक्त टब अगाडिको यात्रु सिटमुनि लुकाएर राख्न सकिन्छ । यसका लागि गाडीभित्र विशेष ठाउँ बनाइएको हुन्छ, जहाँ टबलाई राख्न सकिन्छ । आवश्यक परेको समयमा यसलाई बाहिर निकालेर प्रयोग गर्न सकिन्छ ।

टबभित्र पानी छल्किन नदिने संरचना, पानीको बहावलाई व्यवस्थित गर्ने प्वाल र टब हल्लिन नदिने विशेष संरचना समेत राखिएको छ ।

पेटेन्ट अनुसार उक्त टबमा गाडीको बडीभित्र रहेको पाइपलाइनसँग सजिलै जोड्न र छुट्याउन मिल्ने विशेष जडान प्रणाली पनि हुनेछ । यसका साथै टब राख्ने विशेष ठाउँभित्रै कीटाणुनाशक प्रणालीसमेत जडान गर्ने व्यवस्था गरिएको छ ।

दीपलका अधिकारीहरूका अनुसार यो आविष्कारको मुख्य उद्देश्य गाडीभित्र खुट्टाको हेरचाह सम्बन्धी उपकरण जडान गर्दा उत्पन्न हुने चुनौती समाधान गर्नु हो ।

यद्यपि, दीपलको गाडीमा यो सुविधा जडान हुन्छ वा हुँदैन भन्ने हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । तर, कार भित्र शौचालय जडान गर्दा जस्तो स्वीकार्यताको समस्या भने यसमा नआउन सक्छ ।

दीपलका अधिकांश गाडी आम उपभोक्तालाई लक्षित मध्यम बजारका मोडल हुन् । यस्तो सुविधा थप गर्दा गाडीको लागत बढ्न सक्ने भएकाले यसलाई कम्पनीको प्रिमियम मोडलमा राख्ने सम्भावना छ ।

दीपलको सबैभन्दा लग्जरी मोडल एस ०९ ईआरईभी हो । ६ सिट क्षमताको यो एसयूभीको लम्बाइ ५२०५ एमएम, चौडाइ १९९६ एमएम र उचाइ १८०० एमएम छ । यसमा ३१०५ एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

दीपल एस ०९ मा १.५ लिटरको इन्जिन दिइएको छ । यसको रियर ह्वील ड्राइभ भेरियन्टमा २३१ किलोवाट र अल ह्वील ड्राइभ भर्सनमा ३६२ किलोवाटको मोटर उपलब्ध छ । एस ०९ मा भेरियन्ट अनुसार ४०.२ किलोवाट आवर र ५३.५ किलोवाट आवर क्षमताको ब्याट्री विकल्प उपलब्ध छ । चिनियाँ बजारमा यो एसयूभीको मूल्य करिब ३६ हजारदेखि ४६ हजार ५२५ अमेरिकी डलरसम्म छ ।


Back_to_top