काठमाडौं । अमेरिकी अटोमोबाइल निर्माता फोर्डले चिनियाँ प्रतिस्पर्धी बीवाइडीको तुलनामा आफ्नो नयाँ इलेक्ट्रीक ड्राइभट्रेन ३० प्रतिशत बढी इफिसियन्ट रहेको दाबी गरेको छ ।
फोर्डका सीईओ जिम फार्लीले मोटर, गियरबक्स र इन्भर्टरको समग्र दक्षता बीवाइडीको तुलनामा उच्च रहेको बताउँदै यसले कम क्षमताको ब्याट्रीबाटै बढी रेन्ज दिने र विद्युतीय गाडीको उत्पादन लागत घटाउन सहयोग गर्ने बताए ।
फोर्डले विकास गरिरहेको नयाँ युनिभर्सल इलेक्ट्रीक भेहिकल (यूईभी) प्लेटफर्मलाई चिनियाँ विद्युतीय गाडीसँग मूल्य र प्रविधिका आधारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । यही रणनीतिअन्तर्गत कम्पनीले मोटर, गियरबक्स र पावर इलेक्ट्रोनिक्सको दक्षता बढाउनुका साथै गाडी उत्पादन प्रक्रियालाई समेत पुनः डिजाइन गरेको हो ।
फार्लीले कम्पनीको तेस्रो त्रैमासिक आम्दानीसम्बन्धी छलफलका क्रममा बीवाइडीसँगको तुलनामा फोर्डले आफ्नो पावरट्रेनको दक्षतामा उल्लेखनीय सुधार गरेको बताए । उनका अनुसार मोटर, गियरबक्स र इन्भर्टरको दक्षता करिब ३० प्रतिशत बढी भएकाले गाडीमा तुलनात्मक रूपमा सानो ब्याट्री प्रयोग गर्न सकिन्छ ।
विद्युतीय गाडीको उत्पादन लागतमा ब्याट्री सबैभन्दा ठूलो खर्चमध्ये एक हो । त्यसैले समान रेन्ज हासिल गर्न कम क्षमताको ब्याट्री प्रयोग गर्न सक्नु फोर्डका लागि लागत घटाउने महत्वपूर्ण आधार बन्नसक्ने उनको भनाइ छ ।
कम्पनीले नयाँ प्लेटफर्ममा पार्टपुर्जाको संख्या घटाउने, ऊर्जा खपत कम गर्ने र उत्पादन प्रक्रियालाई सरल बनाउने रणनीति अपनाएको छ ।
नयाँ पिकअपबाट सुरुवात
फोर्डको नयाँ यूईभी प्लेटफर्ममा आधारित पहिलो गाडी २८ हजार ३५० अमेरिकी डलर मूल्यको फ्याथम इलेक्ट्रीक पिकअप हुनेछ ।
फोर्डले अहिलेसम्म फ्याथममा प्रयोग हुने ब्याट्रीको आधिकारिक क्षमता सार्वजनिक गरेको छैन । यद्यपि, यसअघि सार्वजनिक भएका रिपोर्टहरूमा उक्त पिकअपमा ५० देखि ६० किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग हुनेछ ।
बीवाइडीसँग प्रतिस्पर्धा गर्ने फोर्डको नयाँ रणनीति
चिनियाँ विद्युतीय गाडी उत्पादक बीवाइडीले ब्याट्री, मोटर र अन्य प्रमुख कम्पोनेन्टको उत्पादनमा आफ्नै आपूर्ति शृंखला विकास गरेको छ । यही भर्टिकल इन्टिग्रेसनले कम्पनीलाई लागत नियन्त्रण र प्रविधि विकासमा प्रतिस्पर्धात्मक क्षमता दिएको विश्वको बुझाइ छ ।
फोर्डले पनि अब यही प्रतिस्पर्धात्मक दबाबलाई ध्यानमा राख्दै आफ्नै प्रविधि र आपूर्ति शृंखलामा लगानी बढाइरहेको छ । नयाँ यूईभी प्लेटफर्मलाई सुरुदेखि नै कम लागतमा उत्पादन गर्न सकिने गरी विकास गरिएको सीईओ फार्लीको भनाइ छ ।
यद्यपि, फार्लीले बीवाइडीको कुन मोडल वा कुन पावरट्रेनसँग तुलना गरेर ३० प्रतिशत बढी दक्षताको दाबी गरेका हुन् भन्ने स्पष्ट पारेका छैनन् ।

