काठमाडौं । ६ दशक पुरानो कोशी ब्यारेजको विकल्पमा झण्डै ३ किलोमिटर लामो नयाँ आधुनिक पुल निर्माण गरिने भएको छ ।
हाल सरकारले पूर्व पश्चिम राजमार्ग चार लेनमा स्तरोन्नति गरिरहेको छ । सोही योजना अन्तर्गत सुनसरी र सप्तरी जोड्ने कोशी नदीमा माथि २८६० मिटर लामो नयाँ पुल बनाउने प्रस्ताव गरिएकाे हो । नयाँ पुल कोशी ब्यारेजभन्दा करिब १० किमी उत्तरतर्फ बन्नेछ ।
वि.सं. २०१९ मा निर्माण सम्पन्न (२०२२ देखि संचालनमा) भएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो । ब्यारेजको आयु सकिएपछि २०७६ सालमा त्यसको विकल्पमा नयाँ पुल र सडक बनाउन विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो ।
पूर्वपश्चिम राजमार्गको दूरी छोट्याउने गरी सुनसरीको राजाबासदेखि सप्तरीको कंचनपुर ४६ किमी (४३.२ किमी सडक र २.८६ किमी पुल) नयाँ चार लेनको सडक निर्माण प्रस्ताव गरिएको थियो ।
उक्त सडकको रेखांकन कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गर्न वन मन्त्रालयले अनुमति नदिँदा काम राेकिएकाे थियाे । अहिले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चासो देखाएपछि फेरि प्रक्रिया अघि बढाउन लागिएकाे हाे ।
राजाबास-कंचनपुर सडक र नयाँ पुल निर्माणका लागि ईआइए प्रक्रिया अघि बढाउन वन मन्त्रालय र आरक्षसँग छलफल भइरहेको सडक विभाग अन्तर्गत आयोजना निर्देशनालय (एडीबी)का निर्देशक चुडाराज ढकालले जानकारी दिए । साथै, लगानी व्यवस्थापनका लागि पनि छलफल भइरहेको उनले बताए ।
‘हाल पूर्व–पश्चिम राजमार्ग धमाधम चार लेनमा स्तरोन्नति भइरहेको छ । सोही आयोजना अन्तर्गत कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बनाउने प्रस्ताव गरिएको छ । ६ वर्ष अघि नै डीपीआर गरिए पनि वन मन्त्रालयले अनुमति नदिँदा ईआइए रोकिएको थियो,’ उनले मेरोअटोसँग भने, ‘अहिले ईआइए अघि बढाउन मन्त्रालय र आरक्षसँग छलफल भइरहेको छ । चाँडै टुंगोमा पुगिन्छ होला ।’
यसअघि आयोजना (सकड र पुल)को लागत करिब ४३ अर्ब रुपैयाँ अुनमान गरिएको थियो । अहिले उक्त लागत बढेर ५०/५५ अर्ब पुग्ने निर्देशक ढकालले बताए ।
यसअघि उक्त सडक र पुल आयोजनमा लगानी गर्न एडीबीले चासो देखाएको थियो । अहिले वैदेशिक सहायत, सरकार र निजी क्षेत्रको लगानीमा निर्माण गर्ने गरी छलफल भइरहेको उनले बताए ।
हाल बैंकिङ प्रणालीमा अधिक पर्याप्त तरलता रहेकाले सरकार र निजी क्षेत्र मिलेर (हाइब्रिड एन्युटी मोडल)मा पनि पुल निर्माण गर्न सकिने उनले बताए । ‘प्रस्तावित पुल र सडक निर्माणका लागि ५०/५५ अर्ब लाग्ने देखिन्छ । यत्रो लगानी सरकारले मात्र गर्न सक्दैन । त्यसैले हामीले वैदेशिक साझेदारलाई पनि आग्रह गरेका छौं । साथै, सरकार र निजी क्षेत्र मिलेर हाइब्रिड एन्युटी मोडल पनि बनाउन सकिन्छ । यस बारे पनि छलफल भइरहेको छ,’ उनले भने ।
राजाबास–कञ्चनपुर सडक र कोशी नदी पुल बनेपछि पूर्वपश्चिम राजमार्गको दूरी हालकोभन्दा १४ किलोमिटर छोटिने छ । यसले यात्रा अवधि छोट्याउनुका ठूलो आर्थिक लाभ पुर्याउने अपेक्षा गरिएको छ ।

