काठमाडौं । क्लासिक क्याफेरेसर तथा हल्का क्रुजर मोटरसाइकलको लुकसँग आधुनिक प्रविधि र पर्फर्मेन्स खोज्ने राइडरका लागि नेपाली बजारमा टीभीएस रोनिन र यामाहा एक्सएसआर दुई आकर्षक विकल्प हुन् ।
दुवै मोटरसाइकलमा रेट्रो डिजाइन, गोलाकार हेडल्याम्प र आधुनिक फिचरको संयोजन दिइएको छ । तर, डिजाइनको शैलीदेखि इन्जिन क्षमता, पावर, टर्क र राइडिङ अनुभवसम्म दुई मोटरसाइकलमा फरक छन् ।
रोनिनमा आधुनिक रोडस्टर र क्रुजर शैलीको मिश्रण देखिन्छ भने एक्सएसआरमा क्लासिक नियो रेट्रो क्याफे रेसर तथा क्रुजर शैलीलाई प्राथमिकता दिइएको छ ।
रोनिन ठूलो इन्जिन क्षमता र बढी टर्कका कारण आकर्षक देखिन्छ भने एक्सएसआर हलुका तौल, १५५ सीसी भीभीए इन्जिन प्रविधि र स्पोर्टी पर्फर्मेन्सका कारण फरक छ ।
यी दुई मोटरसाइकलको विशेषता र प्राविधिक पक्ष बीच रहेको भिन्नता यहाँ प्रस्तुत गरिएको छ ।
डिजाइनमा फरक पहिचान
टीभीएस रोनिनमा रेट्रो रोडस्टर र क्रुजर डिजाइनको मिश्रण छ । यसको गोलाकार एलईडी हेडल्याम्पमा टी सिग्नेचर पोजिसन लाइट, मस्कुलर फ्युल ट्यांक, फराकिलो ह्याण्डलबार र सिंगल सिट डिजाइन दिइएको छ । यसको अपराइट राइडिङ पोजिसनले सहर तथा लामो दूरी दुवैका लागि सहज अनुभव दिने छ ।

एक्सएसआर १५५ मा भने क्लासिक यामाहा मोटरसाइकलबाट प्रेरित नियो रेट्रो डिजाइन छ । गोलाकार एलईडी हेडल्याम्प, टियरड्रप आकारको फ्युल ट्याङ्क, राउण्ड एलसीडी मिटर र टक एन्ड रोल स्टाइलको सिट यसको मुख्य आकर्षण हुन् । यसको डिजाइनमा क्याफे रेसर, क्रुजर र क्लासिक स्पोट्र्स मोटरसाइकलको झल्को पाइन्छ ।
इन्जिन क्षमता र पावरमा रोनिन अगाडि
रोनिनमा २२५.९ सीसीको सिंगल सिलिण्डर, फोर भल्भ, आयल कुल्ड, एफआई इन्जिन छ । यसले ७,७५० आरपीएममा २०.४ पीएस पावर र ३,७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
एक्सएसआरमा १५५ सीसीको, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर भल्भ, एफआई, ई-२० फ्युल कम्पिटेबल इन्जिन छ । यसले १०,००० आरपीएममा १८.४ पीएस पावर र ७,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स र यामाहाको भेरियबल भल्ब एक्च्युएसन (भीभीए) प्रविधि उपलब्ध छ ।

इन्जिन क्षमतामा रोनिन ७०.९ सीसी अगाडि छ । त्यसैले पावरमा २ पीएस र टर्कमा ५.७३ एनएम बढी क्षमता प्रदान गर्छ । एक्सएसआरमा उपलब्ध भीभीए प्रविधिले विभिन्न आरपीएममा इन्जिनको कार्यक्षमता सुधार गर्न मद्दत गर्छ । जसले गर्दा टप स्पीडमा रोनिन भन्दा केही अघि एक्सएसआर पुग्छ ।
दुवैमा आधुनिक फिचर
रोनिनमा ४१ एमएम यूएसडी फ्रन्ट फोर्क, ७ स्टेप एड्जस्टेबल रियर मोनोशक, असिस्ट एण्ड स्लिपर क्लच, डुअल च्यानल एबीएस र रेन तथा अर्बन एबीएस मोड, डिस्क ब्रेक, एलईडी लाइटिङ उपलब्ध छ । यसमा ग्लाइड थ्रु टेक्नोलोजी, फुल डिजिटल एलसीडी मिटर र एक्स स्मार्ट कनेक्टिभिटी सिस्टम दिइएको छ ।
यामाहा एक्सएसआरमा टेलिस्कोपिक अप साइड डाउन फ्रन्ट फोर्क, रियरमा लिकं टाइप मोनोक्रस सेटअप, असिस्ट एण्ड स्लिपर क्लच, डिस्क ब्रेक, डुअल च्यानल एबीएस र ट्रयाक्सन कन्ट्रोल सिस्टम उपलब्ध छ । यसमा वाइ कनेक्ट स्मार्टफोन कनेक्टिभिटी, डिजिटल एलसीडी मिटर, कल एसएमएस अलर्ट र एलईडी लाइटिङ दिइएको छ ।
सुरक्षा प्रविधिका हिसाबले एक्सएसआरमा ट्रयाक्सन कन्ट्रोल उपलब्ध छ भने रोनिनमा रेन र अर्बन एबीएस मोड तथा जीटीटी विशेष आकर्षण हुन् ।

डाइमेन्सनमा कति फरक
रोनिनको कर्ब वेट १६० किलोग्राम छ भने यसको सिट हाइट ७९५ एमएम, ग्राउण्ड क्लियरेन्स १८१ एमएम र ह्वीलबेस १३५७ एमएम छ । यसमा १४ लिटर क्षमताको फ्युल ट्यांक दिइएको छ ।
एक्सएसआरको फुल टयांक पेट्रोलसहितको कर्ब वेट १३७ किलोग्राम मात्रै छ । यसको सिट हाइट ८१० एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम, ह्वीलबेस १३२५ एमएम र फ्युल ट्यांक क्षमता १० लिटर छ ।
तौलका हिसाबले एक्सएसआर २३ केजी हलुका छ । यसले ट्राफिक र साँघुरा सडकमा मोटरसाइकल नियन्त्रण गर्न सहज बनाउन सक्छ । सिट हाइट, ग्राउण्ड क्लियरेन्स र फ्युल ट्यांक क्षमतामा रोनिन अगाडि देखिन्छ ।
मूल्यमा भिन्नता
नेपालमा दुवै मोटरसाइकलको मूल्य भेरियन्ट अनुसार फरक छ । यामाहा एक्सएसआर ४ भेरियन्ट र रोनिन तीन भेरियन्टमा उपलब्ध छ ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले कलर भेरियन्ट अनुसार मोटरसाइकलको मूल्य निर्धारण गरेको छ । जसअन्तर्गत ब्लू भेरियन्टको ५ लाख ३४ हजार ९०० रुपैयाँ, रेड भेरियन्टको ५ लाख ४४ हजार ९०० रुपैयाँ, ग्रे भेरियन्टको ५ लाख ४९ हजार ९०० रुपैयाँ र ब्ल्याक भेरियन्टको ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकेको छ ।
नेपालमा टीभीएसको वितरक जगदम्बा मोटर्सले रोनिन बेस भेरियन्टको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ, अगोन्डा एडिसनको ४ लाख ३९ हजार ९०० रुपैयाँ र टप भेरियन्टको ४ लाख ६९ हजार ९०० रुपैयाँ तोकेको छ ।
मूल्यका हिसाबले रोनिनभन्दा एक्सएसआर केही महँगो रहेको छ ।
निष्कर्ष
अलि कम मूल्यमै क्लासिक रोडस्टार तथा क्रुजर शैली, बढी टर्क र आरामदायी अपराइट राइडिङ प्राथमिकतामा राख्नेका लागि टीभीएस उपयुक्त हुन सक्छ । थोरै बढी रकम तिरेर स्पोर्टी रेट्रो डिजाइन, हलुका मोटरसाइकल र आधुनिक इन्जिन प्रविधि खोज्नेका लागि यामाहा एक्सएसआर १५५ आकर्षक विकल्प बन्न सक्छ ।

