काठमाडौं । रोयल इन्फिल्डले आफ्नो १२५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको क्लासिक ६५० हाइपरसिफ्ट विशेष संस्करणका सबै युनिट बिक्री भएका छन् । भारतका लागि छुट्याइएको १२५ युनिट मोटरसाइकल बिक्री खुला भएको ६ मिनेटमै सोल्ड आउट भएको हो ।
कम्पनीले अक्टोबर १६ देखि अक्टोबर २८ सम्म यस मोटरसाइकलका लागि रजिस्ट्रेसन खुला गरेको थियो । यसको मूल्य ४ लाख २६ हजार भारतीय रुपैयाँ तोकिएको थियो।
भारतका लागि छुट्याइएका सबै मोटरसाइकलको डेलिभरी नोभेम्बरबाट सुरु हुनेछ।
यस्तो छ क्लासिक ६५० हाइपरसिफ्ट
क्लासिक ६५० हाइपरसिफ्टमा नियमित क्लासिक ६५० कै इन्जिन र मेकानिकल पार्ट्स प्रयोग गरिएको छ । यसको मुख्य आकर्षण विशेष कलर स्किम र १२५ औं वार्षिकोत्सव जनाउने डिजाइन हो ।
यसमा प्रयोग गरिएको विशेष पेन्टिङले प्रकाशको कोणअनुसार रातो, हरियो र सुनौलो रङको स्वरूप देखाउँछ । यसका साथै फ्युल ट्यांक र साइड बक्समा ‘१२५ इयर्स’ लेखिएको विशेष क्रेस्ट तथा हातले पेन्ट गरिएका पिनस्ट्राइप दिइएको छ ।
यसमा ६४८ सीसीको एयर/ओइल कुल्ड, प्यारलल ट्विन इन्जिन छ । उक्त इन्जिनले ४७ एचपी पावर र ५२।३ एनएम टर्क उत्पादन गर्छ । यही इन्जिन इन्टरसेप्टर ६५० मा पनि प्रयोग गरिएको छ ।
यसको च्यासिस सुपर मेटियर ६५० बाट लिइएको हो । तर, सुपर मेटियरमा अपसाइड डाउन ९यूएसडी० फ्रन्ट फोर्क प्रयोग गरिएको भए पनि क्लासिक ६५० मा भने परम्परागत राइट साइड अप फोर्क दिइएको छ ।
नियमित मोडलभन्दा महँगो
क्लासिक ६५० हाइपरसिफ्टको मूल्य ४ लाख २६ हजार भारतीय रुपैयाँ तोकिएको छ । यो क्लासिक ६५० को सुरुवाती भेरियन्ट भल्लम रेडको तुलनामा ५८ हजार रुपैयाँ महँगो हो । भल्लम रेडको मूल्य ३ लाख ६८ हजार रुपैयाँ छ ।
त्यस्तै, टप स्पेक ब्ल्याक क्रोम भेरियन्टको तुलनामा पनि हाइपरसिफ्ट ४३ हजार ५०० रुपैयाँ महँगो छ । ब्ल्याक क्रोमको मूल्य ३ लाख ८२ हजार ५०० भारतीय रुपैयाँ रहेको छ।

