सफलताको स्वाद चाख्दै आइकार भी-२३, कुन महिना कति आयो ?

काठमाडौं । बक्सी डिजाइन, लोभलाग्दा टायर, अगाडीको रेट्रो लुक, गोला हेडल्याम्प, पछाडि बडीमा झुण्डाइएको एउटा बक्स जसले आइकार भी-२३ लाई अलग पहिचान दियो ।

झट्ट हेर्दा पुरै अफरोड जस्तो देखिने आइकार भी-२३ लाई एसपीजी अटोमोबाइल्सले नाइमा मोविलिटी एक्स्पो २०२५ मा पहिलो पटक देखाएको थियो । बुकिङ सुरु नाइमाबाट भएपनि उपभोक्ताले डेलिभरी डिसेम्बर २०२५ बाट मात्रै पाएका थिए ।

सुरुवाती दिनमा ठिकठाक उपभोक्ताको प्रतिक्रिया पाएको आइकार भी-२३ सडकमा संख्यात्मक वृद्धिसँगै राम्रो संख्यामा बिक्री हुन थालेको मोडलमा पर्छ ।

आइकार मनपराउनेहरु जीप चढ्न चाहनेहरु हुन् । कम बजेटमा जीपको फिल दिन सक्ने विद्युतीय एसयूभी भएको कारण धेरैले यसलाई रोजे । अर्को महत्वपूर्ण कुरा यसको ग्राउन्ड क्लियरेन्स पनि हो । यसमा २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

कुन महिना कति आयात भयो ?

सुरुमा आयात भएको डेमो भेहिकलपछि एकै पटक डिसेम्बर २०२५ मा आइकार भी-२३ को पहिलो लट आयात भएको थियो । त्यतिबेला डिसेम्बर महिनामा ५० युनिट आयात भएको देखिन्छ ।

त्यसपछि सन् द्द०२६ को जनवरी महिनामा १०० युनिट, फेब्रुअरी महिनामा ५२ युनिट, मार्चमा ५० युनिट, अप्रिलमा ७३ युनिट, मेमा ७७ युनिट, जुनमा ५० युनिट, जुलाईमा ६० युनिट, अगस्तमा सून्य, सेप्टेम्बरमा २२६ युनिट र अक्टोबरमा २० युनिट आयात भएको देखिन्छ ।

सन् २०२६ को अगस्तमा भोटेकोसीमा आएको बढीको कारण रसुवागढी नाका बन्द हुँदा आइकार भी-२३ को आयात सून्य भएको थियो । नत्र कम्पनीले आयात थालेपछि हरेक महिना गाडी ल्याएको देखिन्छ ।

कम्पनीले सबैभन्दा धेरै एकै महिनामा २२६ युनिट भने सेप्टेम्बर २०२६ मा नेपाल ल्याएको हो । आयात सुरु भएको ११ महिनामा ७५८ युनिट आइकार भी-२३ नेपाल आएको देखिन्छ ।

बलियो बिक्रीमा प्याकेजको भूमिका

आइकार भी-२३ को बिक्री बलियो हुनुमा ठूलो गाडी कम मूल्यमा आउनुलाई पहिलो कारण मानिन्छ । यसमा रहेको १०० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर र झण्डै ६० किलोवाट आवरको ब्याट्रीले पावर र रेन्जमा सन्तुलन कायम गरेको छ ।

बाहिरी डिजाइनभन्दा पनि आकर्षक क्याविन लाग्ने आइकार भी-२३ मा आरामदायी सिट, अफरोड टाइपको बटनहरु, थप ड्राइभिङ मोड जस्ता कुराले पनि यसलाई बलियो बनाएको छ ।


Back_to_top