बीवाइडीले पायो ‘वर्ल्ड ब्रान्डिङ अवार्ड’

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता बीवाइडीले अन्तर्राष्ट्रिय ब्रान्डिङ क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले सन् २०२६/२०२७ को ‘वल्र्ड ब्रान्डिङ अवार्ड’मा अटोमोबाइल विधातर्फ ‘ग्लोबल ब्रान्ड अफ द इयर’को उपाधि जितेको हो ।

लन्डनस्थित ह्याम्पटन कोर्ट प्यालेसमा नोभेम्बर ३ मा आयोजित २१ औँ संस्करणको अवार्ड समारोहमा बीवाइडीलाई उक्त सम्मान प्रदान गरिएको थियो । उक्त सम्मानले विश्व अटोमोबाइल बजारमा बीवाइडीको बढ्दो पहिचान, उपभोक्ताको विश्वास र अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाएको देखिन्छ ।

वल्र्ड ब्रान्डिङ फोरमले आयोजना गर्ने यस अवार्डमा ब्रान्डको मूल्यांकन, उपभोक्ता बजार अनुसन्धान र सार्वजनिक अनलाइन भोटिङका आधारमा विजेता छनोट गरिन्छ । यस वर्ष ६२ देशका २ हजारभन्दा बढी ब्रान्ड मनोनयनमा परेका थिए । जसमा १ लाख ५ हजारभन्दा बढी उपभोक्ताले मतदान गरेका थिए ।

ग्लोबल विधामा छनोट हुन कुनै ब्रान्ड कम्तीमा १० देश र तीन महादेशमा संचालन भएको हुनुपर्छ । बीवाइडीका अनुसार उसका न्यू इनर्जी भेहिकल अहिले विश्वका १२० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् ।

बीवाइडी ब्याट्री, इलेक्ट्रीक मोटर र विद्युतीय पावरट्रेन प्रविधिमा आफ्नै क्षमता विकास गर्दै आएको कम्पनी हो । उसँग ब्लेड ब्याट्री र डीएम–आई सुपर हाइब्रिड प्रविधि छन् ।

बीवाइडीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले यो सम्मानलाई ग्राहकको विश्वास र प्रविधिमार्फत दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने कम्पनीको प्रयासको मान्यताका रूपमा लिएको बताइन् ।


Back_to_top