मर्सिडिजको नयाँ ब्याट्री प्रविधि, प्रत्येक सेलको चार्ज र डिस्चार्ज नियन्त्रण गर्न सकिने

काठमाडौं । जर्मनीको प्रिमियम कार निर्माता मर्सिडिज बेन्जले विद्युतीय गाडीको ब्याट्री प्रविधिमा नयाँ प्रयोग गरिरहेको छ । कम्पनीले विकास गरिरहेको नयाँ ‘पावर कन्भर्टर’ प्रविधिमार्फत ब्याट्रीभित्र रहेका प्रत्येक सेलको चार्ज र डिस्चार्ज छुट्टाछुट्टै नियन्त्रण गर्न सकिने भएको हो ।

अहिले प्रयोग भइरहेका अधिकांश ईभी ब्याट्रीमा हजारौं साना सेललाई समूह वा मोड्युलमा राखेर एउटै प्रणालीमार्फत संचालन गरिन्छ । गाडीको कन्ट्रोल सिस्टमले प्रत्येक सेल वा मोड्युलको भोल्टेज निगरानी गर्न सक्ने भए पनि चार्ज तथा डिस्चार्ज गर्दा सबै सेललाई समान रूपमा संचालन गर्छ ।

यसलाई उदाहरण सहित बुझौं । मानौं, विद्युतीय मोटरलाई १०० किलोवाट पावर आवश्यक पर्दा ब्याट्री प्याकले समग्रमा त्यति नै ऊर्जा उपलब्ध गराउँछ । त्यस्तै, १५० किलोवाट क्षमतामा चार्ज गर्दा सबै सेलमा समान रूपमा चार्ज प्रवाह हुन्छ ।

तर, मर्सिडिज बेन्जको नयाँ प्रविधिमा प्रत्येक सेलमा प्रोग्राम गर्न मिल्ने माइक्रो कन्भर्टर जडान गरिनेछ । यसले सेलको अवस्था निगरानी गर्नुका साथै आवश्यकताअनुसार चार्ज र डिस्चार्जसमेत नियन्त्रण गर्न सकिनेछ ।

ब्याट्रीको आयु बढाउन सकिने

यो प्रविधिको मुख्य फाइदा भनेकै ब्याट्रीको आयु बढाउनु हो । सामान्यतया ईभीको ब्याट्रीमा रहेका एक वा केही सेलले अन्य सेलको तुलनामा आवश्यक भोल्टेज कायम गर्न नसक्दा समस्या देखिन्छ । यस्तो अवस्थामा धेरैजसो गाडीमा पूरै ब्याट्री प्याक फेर्नुपर्ने अवस्था आउँछ । त्यसले वारेन्टी अवधि सकिएपछि ठूलो खर्च निम्त्याउँछ ।

मर्सिडिजको नयाँ प्रविधिमा कुनै सेलले आवश्यक भोल्टेज कायम गर्न नसके त्यसलाई माइक्रो कन्भर्टरमार्फत निष्क्रिय बनाउन सकिन्छ । यसो गर्दा ब्याट्रीको कुल क्षमता केही घटे पनि बाँकी सेल प्रयोग गरेर गाडी चलाउन सकिनेछ ।

साथै, फरक केमिस्ट्री वा फरक उमेरका सेल एउटै ब्याट्री प्याकमा प्रयोग भएमा पनि आवश्यकताअनुसार फरक पावरमा चार्ज गर्न मिल्नु यो प्रविधिको अर्को महत्वपूर्ण फाइदा हुनेछ । यसले भविष्यमा एउटै ब्याट्री प्याकभित्र विभिन्न प्रकारका सेल प्रयोग गर्न मिल्ने सम्भावना देखाउँछ ।

यस प्रविधिले ब्याट्री प्रयोगलाई थप मोड्युलर बनाउन सक्नेछ । कसैले आफ्नो दैनिक यात्रा अनुसार ब्याट्री कति प्रयोग गर्ने भन्ने एकिन गर्न पनि सकिने छ ।

बाइ डाइरेक्सनल चार्जिङ

मर्सिडिजको पावर कन्भर्टरमा बाइ डाइरेक्सनल चार्जिङ सुविधा पनि उपलब्ध हुनेछ । यसले एसी र डीसी पावर रूपान्तरण तथा दुवैतर्फ ऊर्जा प्रवाहलाई माइक्रो कन्भर्टरमार्फत नियन्त्रण गर्न सक्नेछ ।

फाइदा धेरै देखिएपनि उक्त प्रविधिमा केही चुनौती पनि छन् । ब्याट्री प्याकभित्र हजारौं माइक्रो कन्भर्टर जडान गर्दा कुनै एउटा वा धेरै कम्पोनेन्ट बिग्रने सम्भावना रहन्छ । त्यसैले यसको विश्वसनीयता र मर्मतसम्भार कति लाग्छ ? भन्ने विषय महत्वपूर्ण हुनेछ ।


Back_to_top