काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा बजाज पल्सरले ‘गेम अफ पावर’ अभियान सञ्चालन गरिरहेको छ । एनपीएलको को–स्पोन्सर तथा आधिकारिक टु ह्वीलर पार्टनर रहेको बजाज पल्सरले प्रतियोगिताभर खेलाडी पुरस्कार, दर्शक सहभागिता र विभिन्न मनोरञ्जनात्मक गतिविधिलाई निरन्तरता दिने भएको हो ।
बजाज पल्सरले प्रतियोगिताका तीन उत्कृष्ट खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गर्नेछ । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीले एक-एक युनिट पल्सर एन १६० प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ‘पल्सर पावर प्ले च्याम्पियन’ को उपाधी जित्नेछन् । उक्त उपाधि जित्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दै आएका छन् ।
कम्पनीले खेलाडीलाई मात्र नभई क्रिकेट समर्थकलाई पनि आफ्नो अभियानमा सहभागी गराउने योजना अघि सारेको छ । यसका लागि ‘पल्सर पावर प्ले प्रेडिक्सन गेम’ सञ्चालन गर्दै आएको छ । यसमा सहभागीले प्रत्येक खेलको पावर प्ले च्याम्पियनको अनुमान गर्नुपर्नेछ । सही अनुमानका आधारमा अंक प्राप्त गर्दै लिडरबोर्डमा आफ्नो स्थान सुधार गर्न सक्नेछन् ।
यस खेलमा उत्कृष्ट तीन स्थान हासिल गर्ने सहभागीले एनपीएलको मैदानमै पुगेर ‘पल्सर पावर प्ले च्याम्पियन अवार्ड’ प्रदान गर्ने अवसर पाउनेछन् । साथै, प्रत्येक खेलमा प्रेडिक्सन गेममा सहभागी हुनेमध्ये विभिन्न विजेताले स्मार्टवाचसमेत जित्न सक्नेछन् ।
मैदानबाहिर पनि दर्शकलाई आकर्षित गर्न कम्पनीले ‘पल्सर इन्गेजमेन्ट जोन’ स्थापना गरेको छ । उक्त जोनमा बजाज पल्सरको ‘रिफाइन्ड एन्ड र’ पावर अवधारणामा आधारित विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधि सञ्चालन हुँदै आएको छ ।
एनपीएलको तेस्रो संस्करणमार्फत क्रिकेट खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै समर्थकलाई पनि प्रतियोगितासँग प्रत्यक्ष जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम ल्याइएको बजाज पल्सरले जनाएको छ ।

