सीएफमोटोले ल्यायो ५५० एमटी एड्भेन्चर सिरिज, इटालीमा देखायो भी ४ सुपरबाइक

काठमाडौं । चिनियाँ मोटरसाइकल निर्माता सीएफमोटोले इटालीको मिलानमा जारी ईआईसीएमए २०२६ मा नयाँ मोटरसाइकल तथा अत्याधुनिक प्रविधिहरू सार्वजनिक गरेको छ । कम्पनीले ‘नेक्स्ट इज नाउ’ नारासहित आफ्नो नयाँ उत्पादन तथा प्रविधि प्रदर्शन गरेको हो ।

नोभेम्बर ३ देखि ८ सम्म सञ्चालन हुने ईआईसीएमएमा सीएफमोटोले भी४एसआर–आरआर सुपरबाइक, नयाँ ५५० एमटी र ५५० एमटी–एक्स एड्भेन्चर मोटरसाइकलसमेत सार्वजनिक गरेको हो ।

यीमध्ये सबैभन्दा धेरै आकर्षण ९९७ सीसी क्षमताको भी४एसआर–आरआर सुपरबाइकले पाएको छ । यसले २१० हर्सपावरभन्दा बढी पावर उत्पादन गर्छ । यससँगै कम्पनीले प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने भएको छ ।

९९७ सीसीको भी४ सुपरबाइक

सीएफमोटोको नयाँ भी४एसआर–आरआर कम्पनीको उच्च क्षमताको सुपरबाइक सेग्मेन्टमा प्रवेश गर्ने महत्वपूर्ण उत्पादन हो ।

यसमा ९९७ सीसीको भी४ इन्जिन दिइएको छ। उक्त इन्जिनले २१० हर्सपावरभन्दा बढी पावर उत्पादन गर्छ । मोटरसाइकलमा एक्टिभ एरोडाइनामिक्स, ओहलिन्स सस्पेन्सन, ब्रेम्बो ब्रेकिङ सिस्टम, अक्रापोभिक एक्जस्ट र पिरेली टायर प्रयोग गरिएको छ ।

५५० एमटी र ५५० एमटी–एक्स सार्वजनिक

सीएफमोटोले आफ्नो एड्भेन्चर मोटरसाइकल सिरिज विस्तार गर्दै नयाँ ५५० एमटी र ५५० एमटी–एक्स पनि सार्वजनिक गरेको छ ।

यी दुवै मोटरसाइकलमा नयाँ ५२६ सीसीको प्यारलल ट्विन इन्जिन दिइएको छ । उक्त इन्जिनले ५४ हर्सपावर पावर र ५२ एनएम टर्क उत्पादन गर्छ ।

५५० एमटीलाई टुरिङ र दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको छ । यसमा २३ लिटर क्षमताको फ्युल ट्यांक, एप्पल कारप्ले सपोर्ट गर्ने ८ इन्चको कनेक्टेड डिस्प्ले, कर्नरिङ एबीएस, बोस ट्र्याक्सन कन्ट्रोल र रियर डिटेक्सन प्रविधि उपलब्ध छ ।

त्यस्तै, ५५० एमटी–एक्सलाई अफरोड राइडिङलाई प्राथमिकता दिएर तयार गरिएको छ। यसमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको ह्वील प्रयोग गरिएको छ। यसमा पूर्ण रूपमा एड्जस्ट गर्न मिल्ने केवाईबी सस्पेन्सन र बाई डिरेक्सनल क्विकसिफ्टर दिइएको छ ।

नेपालमा ४५० एमटी पपुलर

सीएफमोटोको ४५० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल ४५०एमटी नेपाली बजारमा निकै पपुलर मोटरसाइकल हो । सीएफमोटो ४५०एमटी अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो । यो ४५०एमटी एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, यूएसबी पोर्ट, कायाबा एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट जस्ता फिचर पाउन सकिन्छ ।

एमटी ४५० मा २१र१८ इन्च स्पोक ह्वील दिइएको छ । कम्पनीले यसमा ट्यूवलेस स्पोक ह्वीलको प्रयोग गरेको छ ।


Back_to_top