नेपालमा चर्चा सेलाउँदै गएको बिग ब्राण्डः किन पछि हट्दै छन् नेपालका ब्यवसायी

काठमाडौं । भियतनामको न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी भिनफास्टले भारतीय बजारमा आफ्नो विद्युतीय गाडीको पोर्टफोलियो विस्तार गर्दैछ । तर, नेपालमा भने बिस्तारै यो बिग ब्राण्ड ओझेलमा पर्दै गएको भान हुन्छ ।

दुई वर्ष अगाडि नै नेपाल आउने पक्का गरिसकेको भिनफास्ट अझै आधिकारीक रुपमा नेपाल प्रबेश गर्न सकेको छैन । त्यसको पछाडिको मूख्य कारण गाडीको महंगो मूल्य बताइएको छ ।

त्यसोत भिनफास्टको मात्रै होइन, टाटादेखि हुन्डाईसम्मका विद्युतीय कारले मूल्यको कारण नेपालमा चिनियाँ ब्राण्डसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । भारतमा बिक्री हुने मूल्य बारबरकै रकम तिरेर नेपाल ल्याउनु पर्ने अवस्था भएको कारण भारतमा उत्पादन भएका साधन नेपाल ल्याउन ब्यवसायीहरु उत्साहित हुँदैनन् ।

भिनफास्टले भारतमा आफु आक्रमक बजार बिस्तार गर्न चाहेको कामबाटै पुस्टी गर्दै आएको छ । उसले कम्प्याक्ट इलेक्ट्रीक एसयूभी भीएफ-५ को फेसलिफ्ट मोडलको ‘पेटेन्ट’ दर्ता गराएर थप पुस्टी गरेको देखिन्छ ।

भारतमा उत्पादन र बिक्री भएका अधिकांश ब्राण्ड नेपाल आएको भएपनि भिनफास्ट अहिलेसम्म नेपाल प्रबेश गरिसकेको छैन । सुरुवाती दिनमै भिनफास्टको नेपालको डिलर छनोट सम्पन्न भन्ने समाचारहरु बाहिर आएपनि अहिलेसम्म आधिकारीक रुपमा प्रबेश भइसकेको छैन ।

भिनफास्टसँग सानोदेखि ठूलो र प्रिमियम ईभीसम्म भएको कारण नेपालको लागि यो ब्राण्ड उपयुक्त हुने अनुमान गर्न सकिन्छ । साथै, भारतमा ट्याक्सीको रुपमा पनि भिनफास्टको उत्पादन प्रबेश गरिसकेको कारण नेपालमा पनि यो ब्राण्डको सम्भावना धेरै देखिन्छ ।

अब यहाँ कुरा गरौं भर्खरै पेटेन्ट दर्ता भएको भीएफ-५ फेसलिफ्ट मोडलको । भारतमा करिब १२ लाख भारतीय रुपैयाँ मूल्य रहने अनुमान गरिएको यो कम्प्याक्ट एसयूभी उत्कृष्ट डिजाइनमा देख्न सकिन्छ ।

विशेषगरी नेपालमा ४० लाखभन्दा कम मूल्यमै आउने भएको कारण पनि यो एसयूभीमा चासो बढ्नु स्वभाविक हो ।

भिनफास्टका कुन मोडल नेपालका लागि उपयोगी ?

भिनफास्टसँग विभिन्न आकार र प्रयोजनका विद्युतीय गाडी उपलब्ध छन् । कम्पनीको सबैभन्दा सानो एसयूभी भीएफ-३ हो । तीन ढोका र चार सिट क्षमताको यो गाडी विशेषगरी सहरी यात्राका लागि लक्षित छ ।

सानो आकार भएकोले साँघुरा सडक र पार्किङको समस्या हुने स्थानमा यो कार निकै उपयोगी हुन्छ । त्यस्तै, पाँच सिट क्षमताको भीएफ-५ कम्प्याक्ट एसयूभी हो । यो पनि नेपालको लागि उपयोगी हुने मोडल नै हो । अन्तर्राष्ट्रिय बजारमा भीएफ-५ मा २९.६ र ३७.२३ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध छ ।

भीएफ-६ अर्को पाँच सिटे कम्प्याक्ट एसयूभी हो । भारतमा बिक्री हुँदै आएको यो मोडलमा ५९.६ किलोवाट आवर ब्याट्री छ ।

त्यसैगरी, भीएफ-७ ठूलो आकारको प्रिमियम इलेक्ट्रीक एसयूभी पनि कम्पनीको प्रोडक्ट लाइनअपमा छ । यसमा आधुनिक प्रविधि, शक्तिशाली मोटर र आकर्षक डिजाइन उपलब्ध छन् ।

नयाँ भीएफ-५ फेसलिफ्ट

भारतमा पेटेन्ट दर्ता भएको नयाँ भीएफ-५ को बाहिरी डिजाइन पहिलेभन्दा धेरै परिमार्जन भएर आउन लागेको छ । अगाडिको भागमा पहिलेको तुलनामा पातला हेडलाइट, परिमार्जित बोनट र नयाँ बम्पर रहने देखिन्छ ।

पछाडिको भागमा कनेक्टेड एलईडी टेललाइट प्रयोग गरिएको छ । यसअघि बम्परमा राखिएका रिभर्स लाइट र इन्डिकेटरलाई नयाँ टेललाइट एसेम्ब्लीमै समावेश गरिएको देखिन्छ । पेटेन्ट दर्ता गरिएको तस्बिरमा नयाँ डिजाइनको अलोय ह्विल पनि देख्न सकिन्छ ।

भीएफ-५ मा ठूलो फ्लोटिङ टचस्क्रिन, नयाँ दुई स्पोकको स्टेयरिङ ह्विल र परिमार्जित सेन्टर कन्सोल रहनेछ । परम्परागत डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर हटाएर गाडीसम्बन्धी सूचना सेन्ट्रल डिस्प्लेमै देखाउने व्यवस्था गरिएको हुन सक्ने अनुमान छ ।

फेसलिफ्ट संस्करणमा रहने ब्याट्री, मोटर र रेन्जसम्बन्धी जानकारी बाहिर आएको छैन ।

भीएफ-५ नेपालमा किन बन्न सक्छ गेमचेन्जर ?

नेपाली बजारमा अहिले ४० लाख रुपैयाँसम्मका विद्युतीय गाडीमा प्रतिस्पर्धा बढिरहेको छ । टाटा, बीवाइडी, एमजी, नामी, किया लगायत ब्रान्डले विभिन्न विकल्प प्रस्तुत गरेका छन् । यस्तोमा भिनफास्टले भीएफ-५ लाई प्रतिस्पर्धी मूल्यमा ल्याउन सके बजारमा नयाँ विकल्प थपिनेछ ।

अर्कोतर्फ, नेपालका लागि गाडीको ग्राउन्ड क्लियरेन्स, सस्पेन्सन, ब्याट्री सुरक्षा र चार्जिङ क्षमताले पनि उत्तिकै महत्व राख्छ । यसमा भीएफ-५ खरोउत्रने अनुमान लगाउन सकिन्छ ।

सफलता पाउन यी काम गर्नै पर्ने

भिनफास्टका लागि नेपाली बजारमा प्रवेश गर्नु एउटा अवसर भए पनि स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न बिक्रीपछिको सेवा मुख्य चुनौती हुनेछ । पर्याप्त सर्भिस सेन्टर, स्पेयर पाट्र्सको उपलब्धता, ब्याट्री वारेन्टी र दक्ष प्राविधिक जनशक्ति सुनिश्चित गर्न सके मात्रै ब्राण्ड चल्न सक्छ ।

केही वर्ष अगाडि गाडी ल्याउने बिक्री गर्ने र बिस्तारै सर्भिस सेन्टर निर्माण गर्दै जाने योजनामा कसैले भिनफास्ट ल्याउने हो भने सुरुमै समस्या हुन सक्छ ।


Back_to_top