काठमाडौं । टीभीएसले १२५ सीसी सेग्मेन्टमा नयाँ अपाचे आरटीआर १२५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आपाचे आरटीआर १२५ लाई लिक्वीड कुल्ड इन्जिनमा ल्याएको हो ।
टीभीएस मोटर कम्पनीले इटालीमा जारी ईआईसीएमए(इक्मा) अटो शो २०२६ मा नयाँ अपाचे आरटीआर १२५ एलसी सार्वजनिक गरेको हो ।
१२५ सीसी सेग्मेन्टको यो नयाँ मोटरसाइकलमा लिक्विड कुल्ड इन्जिनका साथै निकै आधुनिक फिचरहरु दिइएको छ ।
अपाचे आरटीआर १२५ एलसीमा १२५ सीसी, फोर भल्भ, लिक्वीड कुल्ड, एफआई, डीओएचसी इन्जिन छ । उक्त इन्जिनले अधिकतम १४.९ पीएस पावर र १२ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्ससँगै असिस्ट एन्ड स्लिपर क्लच र राइडिङ मोड उपलब्ध गराइएको छ ।
मोटरसाइकलमा आक्रामक स्ट्रिटफाइटर डिजाइन, एक्सपोज्ड ट्रेलिस फ्रेम, एलईडी प्रोजेक्टर हेडलाइट, डीआरएल र स्प्लिट सिट दिइएको छ । मेटालिक सिल्भर बडीमा फ्लोरोसेन्ट पहेँलो ग्राफिक्सले यसलाई आकर्षक बनाएको छ ।
सस्पेन्सनतर्फ अगाडि केवाईबी यूएसडी फर्क र पछाडि एड्जस्टेबल मोनोशक दिइएको छ । ब्रेकिङका लागि दुवै टायरमा डिस्कसहित ब्रेकमा बाइब्रे क्यालिपर प्रयोग गरिएको छ । यसमा डुअल च्यानल एबीएस पनि उपलब्ध छ ।
अपाचे आरटीआर १२५ एलसीमा १७ इन्चको अलोय ह्विलसँग रेडियल टायर दिइएको छ । साथै, मोटरसाइकलमा ५ इन्चको टीएफटी डिस्प्ले दिइएको छ । जसमा ब्लुटुथ कनेक्टिभिटी, फुल स्क्रिन म्याप मिररिङ र टर्न बाइ टर्न नेभिगेसन लगायतका सुविधा उपलब्ध छ । त्यस्तै, ह्याजार्ड लाइट र विभिन्न राइडिङ मोडसमेत उपलब्ध छ ।
टीभीएसले अपाचे आरटीआर १२५ एलसीलाई युरोपेली बजारमा आफ्नो पर्फर्मेन्स मोटरसाइकल पोर्टफोलियोको प्रवेश मोडलका रूपमा प्रस्तुत गरेको छ । कम्पनीले यसको अन्य अन्तराष्ट्रीय बजारमा उपलब्ध हुने विषयमा हाल केहि जानकारी दिएको छैन । यसको मूल्य र बिक्री सुरु हुने समय पनि सार्वजनिक भएको छैन ।

