काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले आफ्नो सानो विद्युतीय ह्याचब्याक लुमिनलाई नयाँ स्वरूप बजारमा उतार्ने भएको छ । कम्पनीले लुमिन प्लस नामबाट ल्याउन लागेको सानो कारमा पाँच ढोका पाउन सकिन्छ ।
यसअघि बजारमा उपलब्ध तीन ढोका भएको लुमिनको तुलनामा लामो बडी र पछाडिका यात्रुका लागि थप स्पेससहित तयार गरिएको लुमिन प्लस यहि नोभेम्बर २०२६ मा चीनमा सार्वजनिक हुँदैछ ।
नयाँ लुमिन प्लस चीनका विभिन्न डिलरहरूमा पुगिसकेको छ । कम्पनीले बढ्दो पाँच ढोका भएका साना विद्युतीय कारको मागलाई ध्यानमा राख्दै यो नयाँ भेरियन्ट तयार गरेको हो ।
लुमिन प्लसको सबैभन्दा ठूलो परिवर्तन यसको लम्बाइमा गरिएको छ । पुरानो तीन ढोका भएको मोडलको तुलनामा यसको लम्बाइ २४५ एमएमले बढेको छ । नयाँ मोडलको लम्बाइ ३५१५ एमएम, चौडाइ १७१५ एमएम र उचाइ १५४५ एमएम रहेको छ । यसको ह्वीलबेस २२०० एमएम लामो छ ।
डिजाइनका हिसाबले लुमिन प्लस पुरानो मोडलसँग मिल्दोजुल्दो छ । यसमा गोलाकार हेडलाइट, ठूलो एयर इन्टेक, आकर्षक टेललाइट र ब्ल्याक आउट पिलर दिइएको छ । तर, नयाँ मोडलमा चारवटा ढोका र वास्तविक डोर ह्यान्डल उपलब्ध छन् ।
इन्टेरियरमा सेन्टर टचस्क्रिन, एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, डी-सेप्ड थ्री स्पोक स्टेयरिङ ह्वील र स्टेयरिङको पछाडि गियर सेलेक्टर राखिएको छ । पछाडिको सिटलाई ५०ः५० अनुपातमा फोल्ड गर्न सकिने सुविधा पनि छ ।
लुमिन प्लसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसको ब्याट्री क्षमताबारे कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन ।
नेपालमा पनि आउन सक्ने सम्भावना
चांगानका उत्पादन नेपाली बजारमा एमएडब्लू वृद्धिले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले नेपालमा विभिन्न विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको अवस्थामा नयाँ लुमिन प्लस पनि छिट्टै बिक्री थाल्ने अनुमान गर्न सकिन्छ ।
विशेषगरी सहरी क्षेत्रलाई लक्षित साना विद्युतीय कारको बजार विस्तार भइरहेको अवस्थामा पाँच ढोका, बढी केबिन स्पेस र कम्प्याक्ट डिजाइन भएको लुमिन प्लस नेपाली उपभोक्ताका लागि एउटा विकल्प बन्न सक्छ ।
सन् २०२२ जुनमा पहिलोपटक चीनमा सार्वजनिक भएको तीन ढोके चांगान लुमिनको अघिल्लो संस्करण नेपालमा लन्च भएपनि निरन्तर बिक्री भने भएको थिएन ।

