काठमाडौं । नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रीक एसयूभीको बजारमा निकै ट्वीस्ट देखिन थालेको छ । एक वर्षसम्म आफ्नो सेग्मेन्टमा निरन्तर लिडिङ गरिरहेको बीवाइडी एटो-२ लगभग प्रतिस्पर्धी बिहिन देखिएको थियो ।
बजारमा भइरहेको प्रतिस्पर्धा र नयाँ मोडलहरुको आयात तिब्र गतिमा वृद्धि हुँदै गएको भएपनि पहिल्यै बजारमा उपलब्ध मोडलले एटो-२ लाई कडा चुनौती पेस गरेको छ । त्यो चुनौती दिने मोडल हो ‘नामी भिगो’ ।
उसोत नामी भिगो र बीवाइडी एटो-२ दुबै अघिल्लो वर्षको नाडा अटो शोबाट नेपाली बजारमा प्रबेश गरेका हुन् । बीवाइडी एटो २ सन् २०२५ को अन्तिम चार महिनामा १ हजार ७२ युनिट आयात भएको थियो । यसवर्ष जनवरीदेखि अक्टोबर अन्तिमसम्ममा २ हजार ६९६ युनिट आयात भइसकेको देखिन्छ ।
बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले विभिन्न ३ भेरियन्टमा एटो-२ उपलब्ध गराएको छ । जसमा सबैभन्दा कम मूल्यको इसेन्सीयल भेरियन्ट छ । यसको मूल्य ४५ लाख ९५ हजार तोकिएको छ । यसमा अन्य भेरियन्टको तुलनामा सानो ब्याट्री छ । इसेन्सीयल भेरियन्टमा ४५.१२ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
एटो-२ को प्रिमियम भेरियन्टमा ५१.१३ किलोवाट आवरको ब्याट्री छ । यहि भेरियन्ट सबैभन्दा पहिला नेपाल आएको हो । यसको मूल्य अहिले ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
एटो-२ को सुपेरियर भेरियन्ट पनि नेपालमा बिक्री सुरु भएको छ । प्रिमियम भेरियन्टमै उपलब्ध फिचरको निरन्तरतासँगै पानारोमिक सनरुफ थप भएर आएको कारण यसको मूल्य सबैभन्दा धेरै ५१ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।

अब यहाँ कुरा गरौं नामी भिगोको । डोङफेङ मोटर्सको नामी ब्राण्डमा आएको एसयूभी सुरु देखिनै चर्चामा रहेको मोडल हो । फिचर, साइज र टेक्नोलोजीका हिसाबले कम्प्याक्ट सेग्मेन्टको यो एसयूभी सन् २०२५ को चार महिनामा २१७ युनिट आयात भएको थियो । तर, सन् २०२६ सुरु भएदेखि नै भिगोले लय समातेको देखिन्छ । कम्पनीले जनवरीदेखि अक्टोबर अन्तिमसम्ममा १ हजार ९२६ युनिट भिगो एसयूभी ल्याइसकेको छ ।
नाडा अटो शो सुरु हुनुभन्दा ४ दिन अगाडि भिजन रुफ बिनाको भिगोको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेर लन्च भयो । त्यसमा थप २ लाख रुपैयाँ छुट स्कीम दिएर ३५ लाख ९९ हजारमै बुकिङ खुलाइएको थियो । कम्पनीको नयाँ मूल्य उपभोक्ताले खुब रुचाए । ४ दिनमै २ हजार हाराहारी युनिट बुकिङ प्राप्त भएको र स्कीम हटाउनु परेको कम्पनीले जनाएको थियो ।
नेपालको विद्युतीय कार इतिहासमै नामी भिगोले उच्च बुकिङको रेकर्ड बनाउन सफल भयो । त्यसैले उसको आयात अक्टोबर महिनामा बढेर निकै माथि पुगेको देखिन्छ । नयाँ मूल्य घोषणापछि ५१ किलोवाट आवरको ब्याट्रीमा पाइने सबैभन्दा सस्तो एसयूभी पनि नामी भिगो नै बनेको छ ।
कसरी भयो ट्वीस्ट ?
मूल्य नै नामी भिगोको लागि सबैभन्दा महत्वपूर्ण विन्दु बन्न पुग्यो । यसको मूल्य भिजन रुफ हटेर आउँदा ६ लाख रुपैयाँले घट्यो । अझ अफर आउँदा त्यो रकम ८ लाख कम भयो । आजकै मितिमा एटो-२ को सुरुवाति भेरियन्टसँग तुलना गर्दा पनि ८ लाख रुपैयाँ हाराहारीको अन्तर भएको कारण मूल्यलाई केन्द्रमा राख्ने उपभोक्ता नामी भिगोतर्फ मोडिए ।
नामी भिगोको मूल्यले एटो-२ लाई मात्रै होइन बजारमा भर्खरै प्रबेश गरेका सीयूभीहरु आर्कफक्स टी-१ र चेरी क्यूसँगै प्रोटोन इमास-५ कै ब्यापारमा पनि ‘हिट’ ग¥यो ।
अक्टोबर महिनामा नामी भिगो १ हजार १३७ युनिट आयात हुँदा बीवाइडी एटो-२ को आयात ७३९ युनिट भएको छ । यसले नै यी दुई मोडल बीच रोचक प्रतिस्र्धा सुरु भएको देखाउँछ । भिगो किन्ने उपभोक्ताको अहिले पनि लामो वेटिङ लिस्ट रहेको एमएडब्लू वृद्धिले जनाएको छ ।

