काठमाडौं । नेपाली बजारमा पेट्रोलबाट चल्ने कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटाको वर्चश्व देखिएको छ ।
चालु वर्ष २०२६ को जनवरीदेखि अक्टोबर १५ सम्मको आयात तथ्यांक अनुसार कम्प्याक्ट एसयूभी सेग्मेन्टमा क्रेटाले सबैभन्दा धेरै बजार हिस्सा ओगटेको हो ।
उक्त अवधिमा नेपालमा पेट्रोलबाट चल्ने कम्प्याक्ट एसयूभी ९७५ युनिट आयात भएका छन् । उक्त आयातमध्ये हुन्डाई क्रेटा ५७७ युनिटसहित पहिलो स्थानमा छ । क्रेटाले कुल आयातको ५९ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ ।
दोस्रो स्थानमा रहेको किया सेल्टोस ३१६ युनिट आयात भएको छ । यसले बजारको करिब ३२.४ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । क्रेटा र सेल्टोसले मात्रै यो सेग्मेन्टको करिब ९१ प्रतिशत बजार हिस्सा कब्जा गरेका छन् ।
कुन महिना कति आयो क्रेटा र सेल्टोस
हुन्डाई क्रेटाको जनवरीमा ४१ युनिट आयात भएको थियो । फेब्रुअरीमा ५३ र मार्चमा ५५ युनिट आयात भएको क्रेटा अप्रिलमा ३९ तथा मेमा ३० युनिट आएको हो ।
त्यस्तै, जुनमा ८४, जुलाईमा ५८ र अगस्टमा सबैभन्दा धेरै ११८ युनिट क्रेटा आयात भएको देखिन्छ । सेप्टेम्बरमा ६७ र अक्टोबर १५ सम्ममा ३२ युनिट आयात भएको छ ।
किया सेल्टोसको आयात भने जनवरीमा ९ युनिटबाट सुरू भएको थियो । फेब्रुअरीमा २९, मार्चमा २६, अप्रिलमा १० र मेमा ९ युनिट आयात भएको देखिन्छ ।
जुनमा ४९ र जुलाईमा ३६ युनिट सेल्टोस आयात भएको थियो भने अगस्टमा २२ युनिट आयात भएको हो । सेल्टोसको आयात बढेर सेप्टेम्बरमा ७४ युनिट पुगेको थियो । अक्टोबर १५ सम्ममा थप ५२ युनिट आयात भएको छ ।
अन्य प्रतिस्पर्धीको बजार हिस्सा निकै कम
यो सेग्मेन्टमा फक्सवागेन टाइगुन ५० युनिट आयात भएको छ । कुल आयातको आधारमा यसको बजार हिस्सा करिब ५.१ प्रतिशत हुन्छ ।
त्यस्तै, स्कोडा कुशक २७ युनिट आयात हुँदा यसको बजार हिस्सा करिब २.८ प्रतिशत देखिन्छ । निसानको नयाँ एसयूभी टेकटन भने ६ युनिट मात्रै आयात भएको छ । यसको बजार हिस्सा करिब ०.६ प्रतिशत हुन्छ ।
माथिको तथ्यांकहरूले नेपाली बजारमा पेट्रोल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा र किया सेल्टोसको बलियो पकड बुझाउँछ । जहाँ अन्य तीन मोडलको संयुक्त बजार हिस्सा ९ प्रतिशतभन्दा कम छ ।

