काठमाडौं । यामाहाको लोकप्रिय स्कुटर फसिनो १२५ को नेपाली बजारमा बिक्री सुरू भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले नयाँ फसिनो १२५ बिक्री थालेको हो ।
भारतमा लामो समयदेखि बिक्री हुँदै आइरहेको फसिनो १२५ को तीनै भेरियन्ट अब नेपालमा पनि उपलब्ध भएको हो । यामाहा फसिनो १२५ नेपालको लागि ‘रि-इन्ट्री’ भएको मोडल मान्न सकिन्छ ।
कम्पनीले नेपाली बजारमा नयाँ फसिनो १२५ विभिन्न ३ भेरियन्ट उपलब्ध गराएको छ । जसमा ड्रम भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, डिस्क भेरियन्टको ३ लाख २९ हजार ९०० रुपैयाँ र टप भेरियन्ट फसिनो एसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ ।
यामाहा फसिनो १२५ को ड्रम भेरियन्ट सबैभन्दा सस्तो विकल्प हो । यसमा अगाडि ड्रम ब्रेक दिइएको छ । त्यस्तै, डिस्क भेरियन्टमा अगाडि डिस्क ब्रेक उपलब्ध छ । एस भेरियन्ट भने फसिनो सिरिजको प्रिमियम मोडल हो ।
यामाहा फसिनो १२५ मा १२५ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिन्डर, फ्युल इन्जेक्सनयुक्त ब्लु कोर इन्जिन दिइएको छ । यसले अधिकतम ८.२ पीएस पावर र १०.३ एनएम टर्क उत्पादन गर्छ ।
स्कुटरमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रविधि उपलब्ध छ । यसले स्टार्ट गर्दा आवाज कम गर्ने र एक्सेलेरेसनका बेला अतिरिक्त सहयोग प्रदान गर्ने काम गर्छ । त्यस्तै, स्टार्ट/स्टप सिस्टमले ट्राफिकमा रोकिँदा इन्धन खपत व्यवस्थापनमा सहयोग पुर्याउँछ ।
यसमा अटोमेटिक सीभीटी ट्रान्समिसन दिइएको छ, जसले सहरको ट्राफिकमा स्कुटर चलाउन सहज बनाउँछ ।
फसिनो एस सिरिजको सबैभन्दा महँगो भेरियन्ट भएकाले यसमा प्रिमियम फिचरहरू समावेष गरिएको छ । यसमा कलर टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी तथा टर्न-बाइ-टर्न नेभिगेसनजस्ता सुविधा उपलब्ध छन् । यामाहाको वाई-कनेक्ट प्रविधिमार्फत स्मार्टफोनसँग स्कुटर कनेक्ट गर्न सकिन्छ । यसले कल तथा अन्य नोटिफिकेसनसम्बन्धी जानकारी इन्स्ट्रुमेन्ट क्लस्टरमा देखाउन सहयोग गर्छ ।
तीनै भेरियन्ट स्कुटरमा एलईडी लाइटिङ, साइड स्ट्यान्ड इन्जिन कटअफ, युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस) र २१ लिटर क्षमताको अन्डर सिट स्टोरेजजस्ता सुविधा पनि रहेका छन् ।
यामाहा फसिनो १२५को मुख्य आकर्षण यसको रेट्रो तथा कर्भी डिजाइन हो । गोलाकार शैलीको बडी डिजाइन, आकर्षक फ्रन्ट प्रोफाइल र आधुनिक लाइटिङले यसलाई फरक पहिचान दिएको छ ।
स्कुटरमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि युनिट स्विङ सस्पेन्सन दिइएको छ । अगाडि १२ इन्च र पछाडि १० इन्चको ह्विल प्रयोग गरिएको छ । यसमा ५.२ लिटर क्षमताको इन्धन ट्यांकी उपलब्ध छ ।
तीनवटा भेरियन्ट र फरक मूल्य विकल्पसहित उपलब्ध फसिनो १२५ ले नेपाली बजारमा १२५ सीसी स्कुटर सेग्मेन्टमा यामाहाको उपस्थिति थप विस्तार गर्ने अनुमान गर्न सकिन्छ ।

