काठमाडौं । जापानी मोटरसाइकल निर्माता यामाहाले आफ्नो एड्भेन्चर मोटरसाइकल सिरिज टेनेरे विस्तार गर्ने तयारी गरेको छ। कम्पनीले ईआईसीएमए २०२६ (ईक्मा) सुरु हुनु अघि टेनेरे ४ कन्सेप्ट सार्वजनिक गरेको हो ।
यामाहाको टेनेरे सिरिज अफरोड र एड्भेन्चर राइडिङका लागि निकै लोकप्रिय सिरिज हो ।
टेनेरे ४ अहिले कन्सेप्टको रुपमा प्रदर्शन गरिएको छ । यदी, प्रडक्सनमा जाने हो भने यो सबैभन्दा सानो टेनेरे र सबैभन्दा कम मूल्यको टेनेरे मोटरसाइकल हुनेछ ।
कम्पनीले यसको प्रोडक्सन संस्करण कहिले सार्वजनिक हुन्छ भन्ने जानकारी दिएको छैन ।
४०० सीसी क्षमताको नयाँ इन्जिन
टेनेरे ४ नाममा रहेको ‘४’ ले यसको इन्जिन क्षमता ४०० सीसी हाराहारी हुने संकेत गर्छ । कन्सेप्टमा देखाइएको इन्जिन लिक्विड कुल्ड सिंगल सिलिन्डर भएको अनुमान गर्न सकिन्छ ।
यसअघि कम्पनीले एक्सम्याक्स ४०० स्कुटरमा ३९५ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरेको थियो । उक्त इन्जिनले ३३ बीएचपी पावर र ३६ एनएम टर्क उत्पादन गर्थ्यो । तर कम्पनीले टेनेरे ४ का लागि छुट्टै इन्जिन तयार पारेको हो ।
यस्तो हुनेछ डिजाइन र फिचर
टेनेरे ४ कन्सेप्टमा एड्भेन्चर मोटरसाइकलको परम्परागत डिजाइन दिइएको छ । यसको बनावटले अफरोड र हाइवे टुरिङ दुवैका लागि उपयुक्त डुअल स्पोर्ट मोटरसाइकल हो भन्न सकिन्छ ।
यसमा अग्लो ग्राउन्ड क्लियरेन्स, अगाडिको बीक डिजाइन, अग्लो विन्डस्क्रिन र ह्यान्ड गार्ड दिइएको छ । अगाडिको बीकले विन्ड फेयरिङलाई सुरक्षा दिनुका साथै मोटरसाइकललाई र्याली बाइकको डिजाइन देखाएको छ ।
कम्पनीले यसमा नयाँ मेनफ्रेम प्रयोग गरेको जनाएको छ । उक्त फ्रेम एकदम कम तौलको हुने अनुमान गर्न सकिन्छ । यसको फ्युल ट्यांक तल र समथर डिजाइनमा राखिएको छ । र्याली स्टाइलको सिट र अग्लो ह्यान्डलबारले राइडरलाई अफरोडमा आरामदायी राइडिङ पोश्चरमा राइड गर्न मद्धत गर्छ ।
सस्पेन्सनतर्फ अगाडि र पछाडि दुवै भागमा केवाईबी सस्पेन्सन दिइएको छ । यी सस्पेन्सन पूर्ण रूपमा एड्जस्ट हुनेछ ।

