काठमाडौं । चीनसँगको एक मात्र संचालनमा रहेको मुस्ताङको कोरला नाकामा हिउँ र चिसोको कारण समस्या उत्पन्न भएको छ । केही दिनअघि बाढी र पहिरोको कारण सडकनै बन्द भएकोमा अहिले फेरी हिमपात र अत्यधिक चिसोको कारण गाडी ल्याउने काममा बाधा पुगेको हो ।
भोटेकोशी बाढीले रसुवागढी नाका र चीनले नै तातोपानी नाका प्रयोग गर्न नचाहेको कारण एक मात्रै चीनसँगको ब्यापारिक नाका बन्न पुगेको कोरोला नाका अहिले हिउँको चपेटामा परेको छ ।
असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी-कोरला सडकको विभिन्न खण्डमा क्षति पु¥याएपछि आयात प्रभावित भएको थियो । सडक मर्मत गरेर असोज अन्तिमतिर संचालनमा ल्याइए पनि कात्तिक दोस्रो साताको हिमपातले फेरि आवागमन अवरुद्ध बनाएको हो । अहिले पनि करिब १ हजार २०० युनिट विद्युतीय कार नाकामा रोकिएका छन् ।
अहिले कोरला नाकादेखि १४ किलोमिटर वरको न्हेचुङसम्म बाक्लो हिउँ जमेको स्थानियबासीको भनाइ छ । हिउँ पन्छाउन गाउँपालिकाले चीनबाट प्राप्त बुल्डोजरसहित उपकरण परिचालन गरेको छ । तर, अत्यधिक चिसोले सडकमा पानी जम्ने क्रम रोकिएको छैन ।
‘हामी गाडी लिन जानु पर्ने थियो । हिउँ परेर यातायात नै अबरुद्ध भएको खबर पाएका छौं । हिउँ हटेपछि मात्रै जान सक्छौं’, नयाँ गाडी ओसार पसारमा काम गर्ने चालक अनुप खत्रीले मेरोअटोसँग भने ।
दशैंको लागि ल्याइएको ३ हजार ६०० हाराहारी गाडी सडक मर्मतपछि पोखरा प्रबेश गरेका थिए । अझै राम्रो संख्यामा गाडीहरु भन्सार जाँचपास हुन बाँकी नै छन् । यी गाडी हिउँ हटेपछि मात्रै आउने छन् ।

