काठमाडौं । जर्मन प्रिमियम कार निर्माता बीएमडब्लूले आफ्ना नयाँ मोडलका विद्युतीय सवारी सस्तो बनाउन नयाँ उपाय अपनाउने भएको छ ।
कम्पनीले तुलनात्मक रूपमा सस्तो मानिने लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गर्दै कम मूल्यका विद्युतीय गाडी उत्पादन गर्ने रणनीति अघि सारेको हो । कम्पनीले यस निर्णयले बीएमडब्लूका कारहरूलाई अझ सुलभ र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।
बीएमडब्लूका प्रमुख कार्यकारी अधिकृत मिलान नेडेल्कोभिचले कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजा सम्बन्धी छलफलका क्रममा नयाँ पुस्ताका ‘न्यु क्लासे’ विद्युतीय गाडीमा एलएफपी ब्याट्री प्रयोग गरिने पुष्टि गरेका हुन् ।
उनका अनुसार हाल न्यु क्लासे सिरिजका अधिकांश गाडीमा निकेल–म्याङ्गानिज–कोबाल्ट (एनएमसी) ब्याट्री प्रयोग भइरहेको छ । एनएमसी ब्याट्रीले बढी रेन्ज दिने भए पनि एलएफपी ब्याट्री लागतका हिसाबले सस्तो विकल्प हो । त्यसैले ग्राहकको आवश्यकता र बजेटअनुसार फरक ब्याट्री विकल्प उपलब्ध गराउने कम्पनीको योजना छ ।
‘हामी आफ्ना गाडीमा एलएफपी प्रविधि थप गर्नेछौँ । तर, कुन गाडीमा र कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्ने विषयमा विशेष ध्यान दिनेछौँ,’ नेडेल्कोभिचले भने ।
यद्यपि, कम्पनीले कुन मोडलमा एलएफपी ब्याट्री प्रयोग गर्ने र चीनबाहिरका बजारमा कहिलेदेखि उपलब्ध गराउने भन्ने खुलाएको छैन । बीएमडब्लूले चीनमा उपलब्ध गराएको आईएक्स ३ ३० एलमा एलएफपी ब्याट्री प्रयोग गरिसकेको छ । उक्त गाडीमा ७७ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले एकपटकको फुलचार्जमा ६३० किलोमिटर सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ ।
तर, आईएक्स३ ४०एल र ५०एलका महँगा भेरियन्टमा भने एनएमसी ब्याट्री प्रयोग गरिएको छ । यसले एउटै मोडलमा फरक ब्याट्री विकल्प दिएर ग्राहकलाई मूल्य र रेन्जमध्ये आफूलाई उपयुक्त विकल्प छनोट गर्ने सुविधा दिएको छ ।
एलएफपी ब्याट्रीको मुख्य विशेषता यसको कम उत्पादन लागत हो । यसमा प्रयोग हुने क्याथोडमा महँगो निकेल र कोबाल्टको सट्टा तुलनात्मक रूपमा सस्तो फलाम र फस्फेट प्रयोग गरिन्छ । यसबाहेक एलएफपी ब्याट्रीको आयु लामो हुने, तापक्रमका कारण उत्पन्न हुने जोखिम कम रहने र बारम्बार फुल चार्ज गर्दा पनि ब्याट्रीको क्षमता तुलनात्मक रूपमा कम घट्ने विशेषता हुन्छ।
तर, यसको ऊर्जा भण्डारण क्षमता एनएमसी ब्याट्रीको तुलनामा कम हुन्छ । त्यसैले समान आकार र तौलमा एनएमसी ब्याट्रीले बढी रेन्ज दिन सक्छ । लामो रेन्ज आवश्यक पर्ने गाडीमा एनएमसी र कम मूल्यका गाडीमा एलएफपी प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ ।
बीएमडब्लूले सन् २०२८ मा युरोपेली बजारलाई लक्षित गर्दै नयाँ पुस्ताको विद्युतीय गाडी ल्याउने घोषणा गरिसकेको छ । उक्त गाडीमा पनि एलएफपी ब्याट्री प्रयोग हुन सक्ने अनुमान गरिएको छ । कम रेन्ज आवश्यक पर्ने र गाडी खरिदमा खर्च कम गर्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले सानो क्षमताको एलएफपी ब्याट्री विकल्प दिन सक्नेछ ।
बीएमडब्लूले ब्याट्री आपूर्तिका लागि विभिन्न कम्पनीसँग सहकार्य विस्तार गरिरहेको छ । कम्पनीले सामसङ एसडीआईसँग युरोप र एलजी इनर्जी सोलुसनसँग अमेरिकाका लागि छैटौँ पुस्ताका ब्याट्री सेल आपूर्ति गर्ने सम्झौता गरेको छ । यी आपूर्ति दशकको अन्त्यतिर सुरू हुने अपेक्षा गरिएको छ ।
एलएफपी ब्याट्रीको प्रयोग विस्तारसँगै बीएमडब्लूले उत्पादन लागत नियन्त्रण गर्दै ग्राहकलाई थप विकल्प उपलब्ध गराउन सक्नेछ । तर, प्रिमियम ब्राण्डको पहिचान र मूल्यका कारण बीएमडब्लूका विद्युतीय गाडी अन्य सामान्य ब्राण्डका समान गाडीभन्दा महँगै रहने सम्भावना छ ।

