काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी जिलीले आफ्नो लोकप्रिय विद्युतीय ह्याचब्याक एक्सिङयुआन (नेपालमा प्रोटोन इमास ५) को बिक्री १० लाख युनिट पुगेको अवसरमा दुई नयाँ स्पेशल एडिसन सार्वजनिक गरेको छ। कम्पनीको ग्यालेक्सी ब्रान्डअन्तर्गत ‘स्टार एस’ र ‘स्टार चिल’ नामका नयाँ संस्करण चीनमा सार्वजनिक गरेको हो ।
यी दुवै संस्करणको आधिकारिक मूल्य ९१ हजार ८०० युआन तोकिएको छ । नोभेम्बर ३० सम्मका लागि भने ८८ हजार ८०० युआनको विशेष मूल्य उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
स्टार एस स्पोर्टी डिजाइनमा तयार गरिएको छ भने स्टार चिललाई आरामदायी र सौम्य डिजाइनमा प्रस्तुत गरिएको छ । दुवै संस्करणमा ७० लिटर क्षमताको विद्युतीय फ्रंक (अगाडिको सामान राख्ने स्थान), आवाज तथा अन्य छ विधिबाट खोल्न र बन्द गर्न मिल्ने सुविधा र ५० भन्दा बढी अन्तरक्रियात्मक प्रतिक्रिया दिन सक्ने ‘इभा’ इनकार रोबोट राखिएको छ ।
त्यस्तै, फ्लाइम अटो २.० स्मार्ट ककपिट, ७ नानोमिटरको स्टारड्रागन १ चिप तथा जी असिस्टेड ड्राइभिङ प्रणाली दिइएको छ । यसले हाइवेमा नेभिगेसनमा आधारित सहायक ड्राइभिङ र मेमोरी पार्किङ सुविधा प्रदान गर्छ ।
एक्सिङयुआन ह्याचव्याकको लम्बाइ ४ हजार १३५ एमएम, चौडाइ १ हजार ८०५ एमएम र उचाइ १ हजार ५७० एमएम छ । यसमा २ हजार ६५० एमएम लामो ह्विलबेस दिइएको छ। दुई मोटर विकल्पलाई निरन्तरता दिइएको छ । यसमा ५८ किलोवाट र ८५ किलोवाटका दुई मोटर छन् ।
सन् २०२४ अक्टोबरमा चीनमा सार्वजनिक भएको यो मोडल अन्तर्राष्ट्रिय बजारमा जिली ईएक्स२ र प्रोटोन ईमास ५ नामबाट बिक्री हुँदै आएको छ। नेपालमा भने प्रोटोन ईमास ५ नामबाट बिक्री भइरहेको छ। गत असारदेखि बिक्री सुरु भएको यो ह्याचब्याकले नेपाली बजारमा पनि ४०० युनिट बिक्रीको आँकडा पार गरिसकेको छ।
जिलीका अनुसार अक्टोबर महिनामा मात्रै एक्सिङयुआनको विश्वव्यापी बिक्री ७० हजार युनिट नाघेको थियो। सार्वजनिक भएको करिब दुई वर्षमै १० लाख बिक्रीको आँकडा पार गर्नु यो मोडलको उल्लेखनीय उपलब्धि हो।

